नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएकी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए। उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताए। 


प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ। नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताए। 

राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुईपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए ।
 

खबरदारी सभाको तयारी तीब्र, यस्तो हुनेछ जुलसको रुट

काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्तिक १० गते गर्ने खबरदारीसभाको तयारी तीब्र बनाएको छ । पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा सभा हुँदैछ । विरोध प्रदर्शनमा ३० बढीको उपस्थिति रहने अनुमान गरिएको छ । जसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने छ ।  यस्तो छ रुटः खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् ।  सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले ले सम्बोधन गर्नुहुनेछ । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाका अनुसार विरोध सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट मात्र कार्यकर्ताहरुको सहभागिता रहने छ । उहाँले यसपटक राजधानी बाहिरबाट कार्यकर्ता नल्याउने र प्रदर्शन उपत्यका केन्द्रित गर्ने बताउनुभयो । सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।  यो पनि पढ्नुहोस् माओवादी केन्द्रले भन्यो– देशमा व्याप्त  बेथिति र कुशासन रोक्न खबरदारी सभा यो पनि पढ्नुहोस् माओवादी केन्द्रले कात्तिक १० गते गर्ने खबरदारी सभाका लागि १० एजेण्डा तय

ओडिसा आइपुग्यो ‘दाना’ आँधी, नेपालमा पनि प्रभाव

काठमाडौं । बंगालको खाडीमा बनेको सामुद्रिक आँधी (चक्रवात) ‘दाना’ भारतीय राज्य ओडिसामा गएराति बज्रिएको (ल्यान्डफल गरेको) छ।  भारतीय मौसम विज्ञान विभागका अनुसार दाना आँधीको प्रभाव अझै जारी छ। उक्त आँधी ओडिसाको धामरा र भितरकनिका नजिक १२० किलोमिटर प्रतिघण्टाको गतिमा गएको छ।  आँधीका कारण ओडिसा र बंगालका धेरै क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ। हावाहुरीका कारण धेरै ठाउँमा रूख ढलेका छन्।   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश  र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा  आंशिकदेखि साधरणतया  बदली रहि देशका बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी  र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत  कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महसुल नतिर्ने उद्योगमाथि प्राधिकरणको एक्सन सुरु, ४३ उद्योगको लाइन काटियो

काठमाडौं । चरम लोडसेडिङका वेला ०७२ माघदेखि ०७५ वैशाखसम्म २४सै घण्टा विद्युत् उपभोग गरेर पनि वर्षौँसम्म अर्बौँ बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले लाइन काटिदिएको छ । ८ साउनमा निर्णय गरेर तीन महिना समय दिएको प्राधिकरणले बिहीबार अन्तिम दिनसम्म पनि बक्यौता बुझाउन तयार नभएका ४३ उद्योगमा राति नै लाइन काटेको हो ।  प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार नै थपिएको तीन महिनाको अवधिसम्म पनि बक्यौता बुझाउने प्रक्रियामा नआएपछि आज राति नै ४३ उद्योगमा लाइन काटिएको छ । बिहीबार मात्रै पाँच उद्योगले पहिलो किस्ता बुझाएका छन् । यीसहित तीन महिनाको अवधिमा बक्यौता चुक्ता वा तिर्न सुरु गर्ने १७ उद्योग पुगेका छन् । तीन महिनाको अवधिमा पनि प्राधिकरणले उद्योगहरूलाई बक्यौता बुझाउन पटक–पटक ताकेता गरेको थियो । तर, प्राधिकरण नेतृत्वमाथि अनावश्यक दबाब दिइरहेको सरकारको साथ पाएका उद्योगीहरूले उक्त ताकेतालाई इन्कार गर्दै आएका थिए । अन्तिम दिन बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत समिति अध्यक्ष ऊर्जामन्त्री दीपक खड्काले कार्यकारी निर्देशक कुलमान घिसिङलाई उद्योगहरूमा लाइन नकाट्न निर्देशन दिँदै नटेरे ‘टसल’ बढ्ने चेतावनी दिएका थिए । तर, घिसिङले समिति बैठकबाटै वा मन्त्रिपरिषद्बाट कुनै औपचारिक निर्णय नभए बक्यौता नबुझाउने उद्योगमा पुरानै निर्णयअनुसार लाइन काटिने अडान दोहोर्‍याएका थिए । गत साउनमा मन्त्री खड्काकै नेतृत्वमा बसेको समिति बैठकले तीन महिनाभित्र बक्यौता नतिरे नियमअनुसार असुलीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बिहीबारको बैठकमा मन्त्री खड्काले यसबारे कुनै निर्णय गराउन सकेनन् भने साँझ बसेको मन्त्रिपरिषद् बैठकले पनि कुनै निर्णय गरेन ।  प्राधिकरणले ८ साउनमा अल्टिमेटम दिँदासम्म बक्यौता नबुझाउने ६१ उद्योग थिए । अल्टिमेटमको अन्तिम दिन बिहीबार पाँच उद्योगले पहिलो किस्ता बुझाएसँगै तीनमहिने अवधिमा बक्यौता चुक्ता गर्ने वा तिर्न सुरु गर्ने १७ पुगेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच उद्योगबाट पहिलो किस्ता प्राप्त भएको पुष्टि गरे । तर, बक्यौता नतिर्ने अन्य उद्योगले दबाब दिएका कारण उनीहरूको नाम गोप्य राखिएको उनले बताए । विराटनगरको रिलायन्स स्पिनिङ मिल्सको हकमा भने अदालतबाट अन्तरिम आदेश भएकाले प्राधिकरणले कुनै कारबाही गरेको छैन । विराटनगर अदालतले १२ कात्तिकसम्म उद्योगमा कुनै कारबाही अघि नबढाउन आदेश दिएको थियो । त्यसपछि भने यो उद्योगमा पनि प्राधिकरणले लाइन काट्न सक्छ ।  ‘प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार नै थपिएको तीन महिनाको अवधिसम्म पनि बक्यौता बुझाउने प्रक्रियामा नआएपछि आज राति नै ४३ उद्योगमा लाइन काटिएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘बिहीबार मात्रै पाँच उद्योगले पहिलो किस्ता बुझाएका छन् । यीसहित तीन महिनाको अवधिमा बक्यौता चुक्ता वा तिर्न सुरु गर्ने १७ उद्योग पुगेका छन् ।’  प्राधिकरणले बक्यौता नतिर्ने ६१ मध्ये ६ उद्योगमा २५, २६ र २७ असारमा लाइन काटेर कारबाही प्रक्रिया थालेलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारले उद्योगीको पक्ष लिएर प्राधिकरणलाई लाइन जोड्न बाध्य पारेको थियो । प्रधानमन्त्री ओलीको ठाडो आदेशमा विद्युत् नियमन आयोगमार्फत निर्देशन आएपछि प्राधिकरणले ६ साउनमा ६ उद्योगमा पुनः लाइन जोडिदिएको थियो । तर, तीन महिनाभित्र अर्थात् ८ कात्तिकसम्म सबै उद्योगले बक्यौता तिर्नुपर्ने सर्तमा प्राधिकरणले लाइन जोड्ने निर्णय लिएको थियो ।  बक्यौता नतिर्ने ग्राहकको लाइन नै काट्ने कि अन्य व्यवस्था गर्ने भन्ने बहसकै विषय हो । तर, अहिले कानुनी रूपमा बक्यौता उठाउन प्राधिकरणलाई पहिलो अधिकार नै लाइन काट्ने हो । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ र विद्युत् महसुल संकलन नियमावली, २०७८ ले प्राधिकरणलाई महसुल नतिर्ने ग्राहकको लाइन काट्न स्पष्ट रूपमा अधिकार दिएको छ । ‘कुनै ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल जरिवाना, क्षतिपूर्ति, अतिरिक्त शुल्क, अन्य शुल्क तथा तिर्न÷बुझाउनुपर्ने अन्य रकम तोकिएको समयभित्र नबुझाएमा वा विद्युत्को अनाधिकार प्रयोग गरेमा प्राधिकरणले त्यस्तो ग्राहकलाई दिइराखेको विद्युत् लाइन काट्न सक्नेछ,’ नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ मा उल्लेख छ । यस्तै, विद्युत् महसुल संकलन नियमावली, २०७८ को बुँदा १० मा पनि ग्राहकको लाइन काट्न सकिने व्यवस्था गरिएको छ । ‘मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिनेछ,’ नियमावलीमा उल्लेख छ । 

समाजवादको खुला बहसमा जुट्न विप्लवको आह्वान

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सीले समाजवादको खुल्ला बहस गर्न सबैलाई आव्हान गरेका छन् । नेकपा दाङले लुम्बिनी प्रदेश देउखुरीस्थित राप्ती गाउँपालिकामा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख वक्ता समेत रहेका महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्ने खतरा बढेको बताए । अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताउदै विप्लवले नेपाली राजनीति अस्थिरता तर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएकोमा जोड दिए । ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास ,नयाँ नीति र नेतृत्व ’बिषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लवले जनतालाई परिवर्तनको आभास दिन नसकेर दलहरूविच आपसी मतभेद र विवाद बढाउदै लगिएको बताए । राज्य संयन्त्र कमजोर बन्दै जादा जनताका आधारभूत समस्या समेत हल गर्न नसकेको बताउदै विप्लवले राज्यले कानुन र विधिका नाममा जनतालाई अनावश्यक हैरानी थोपर्ने काम गरेको समेत बताए । जनतामा निराशा र नकारात्मकता बाड्दै ल‌ैजाने काम चर्किएको बताउदै उनलेे विकल्प सहितको समाधान समाजवाद भएको टिप्पणी गरेका छन् । नयाँ पुस्तामा राष्ट्र र परिवारप्रति गम्भीर र जिम्मेवार बन्दै सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्न समेत अनुरोध गरे । विप्लवले जनपक्षीय र प्रगतिशील व्यवस्थाको विकल्प राजतन्त्र नहुने दाबी गर्दै कतिपयले राजनीतिक चेत गुमाएर अनावश्यक लहडमा लागेको भन्दै विप्लवले आफ्नो योगदान र त्यागले प्राप्त उपलब्धिलाई बदनाम हुन नदिनुका साथै समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए । विप्लवले राज्य मुठ्ठीभरका दलाल पुजीपति वर्गको भएको भन्दै हालको राज्य व्यवस्थाले किसान मजदुरको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवा गरे । हालको सत्ताले किसान , सुकुम्बासी ,जनजाति ,महिला , बिधार्थीहरुको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताए । विप्लवले दलाल सत्ता नै भ्रष्टाचारको केन्द्र भएको दाबी समेत गरेका छन् । विप्लवले वर्तमान संङकटको समाधान समाजवाद भएको भन्दै लोकतान्त्रिक र बामपंथी सबै शक्तिहरु समाजवादका पक्षमा लाग्नुपर्ने र खुला बहस चलाउनुपर्ने बताए । न्युनतम समाजवादी आधार तयार गर्नुपर्ने भन्दै विप्लवले सर्वपक्षीय छलफल मार्फत त्यो आधार तयार गर्नुपर्ने समेत बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु , नेकपाका स्कुलिङ विभाग प्रमुख भेषराज सी, पार्टीका पिबिएम शितल सी लगाएत विभिन्न राजनीतिक दल, नागरिक समाज , मानवअधिकारकर्मी , बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्धिजीवीहरु,नागरिक समाजका अगुवाहरु,राजनीति दलको प्रतिनिधिहरुले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।

लोकप्रिय