वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा
हेटौँडा । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।
गत कात्तिक २३ गते जारी गरिएको यो ऐनमा भएको व्यवस्था अनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख भए बमोजिम प्रदेश सरकार अघि बढेको हो ।
प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले बताए ।
संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरूमा लागु गर्ने उनले जानकारी दिए । पहिलो चरणमा अब सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली भाषा सहित तामाङ र नेपाल भाषा उल्लेख गरिने मन्त्री श्रेष्ठको भनाई छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बुधवार राति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस पनि गरेको छ ।
अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान
मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । उहाँले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटे र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गर्नुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उहाँहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताउनुभयो । आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उहाले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताउनुभयो ।
सिमकोटमा छ करोडको आलु बिक्री
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले यस वर्ष गाउँपालिकाका आठ वटै वडामा गरी छ करोड २५ लाख रुपियाँ बराबरको आलु उत्पादन गरी बिक्री गरिएको बताउनुभयो । गाउँपालिकाभर ६४० हेक्टर आलु खेती गर्दा १२ हजार पाँच सय क्विन्टल आलु उत्पादन भएको छ । सदरमुकाम सिमकोटमा आलु प्रतिकेजी ५० रुपियाँ पर्छ । उहाँले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन पाँच सय क्विन्टल कम भए पनि आलु किसानका लागि आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो । आलु खेतीबाट आम्दानी हुने भएपछि किसानले व्यावसायिक रूपमा खेती गर्दा आलु उत्पादन गर्न सकेका हुन् । गाउँपालिकाका अधिकांश घरधुरीमा आलु खेती गर्ने गरिन्छ । उहाँले त्यसैले प्रत्येक घरधुरीको आम्दानीको स्रोत आलु नै भएको बताउनुभयो । यो आलु सिमकोट बजार, ठेहे, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकासम्म जाने गर्छ । आलु खेती आम्दानीको स्रोत भएका कारण गाउँपालिकाले आलु खेतीलाई विस्तार गर्ने कार्यक्रमसमेत ल्याउने जानकारी उहाँले दिनुभयो । गोठे तथा प्राङ्गारिक मलबाट आलु खेती गरिने भएका कारण हुम्लाको आलु विषादीरहित हुने गरेको छ ।
भीम रावल धनगढी पुग्दा समर्थकले गरे ओलीविरुद्ध नाराबाजी
धनगढी । नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता भीम रावल धनगढी पुगेका छन् । आज धनगढी पुगेका नेता रावललाई उनका समर्थकहरूले धनगढी विमान स्थलमा स्वागत गरेका छन् । उनको पक्षमा जिन्दावादका नारा लगाएका उनका समर्थकले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए । भ्रमणको क्रममा नेता भीम रावलले आफ्ना समर्थकहरूलाई भेटघाट गर्ने र अत्तरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ । सो कार्यक्रम सकेपछि उनी अछाम जानेछन् ।
घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक छः प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताउनुभएको छ । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले घले समुदायलाई सूचिकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, सँस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढी रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाले आदिवासीमा सूचिकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने उहाँको धारणा व्यक्त गर्नुभयो । यो विषयमा एकजुट हुन नसके प्राप्त उपलब्धिहरु गुम्ने र थप अधिकार प्राप्त गर्न असम्भव रहको धारणा राख्नुभयो । घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्धालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गर्नुभयो । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरु सूचिकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ । ‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरु नै एकजुट भए ।’ घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरु गुरुङ नभएको अध्यक्ष घलेले बताउनुभयो । घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रुपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरुको माग छ ।