मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

काठमाडौं। माक्र्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध ज्ञान केन्द्रका आजीवन सदस्यहरू काठमाडौंमा र काठमाडौं बाहिर रहेका सदस्यहरू भर्चुअल माध्यमबाट एकसाथ भेला भई साधारण सभा सम्पन्न भएको हो। सभाले पुनः तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।

ज्ञान केन्द्रको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने ‘सुदीप’, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा. शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन हुनुभएको छ । 

सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्ष समेत चयन गरेको छ। कोशीमा सीता कडरिया, मधेशमा भूपनारायण यादव, बागमतीमा सागर अधिकारी, गण्डकीमा भीम सुवेदी, लुम्बिनीमा गेहेन्द्र ढकाल, कर्णालीमा जयशंकर धिताल र सुदूरपश्चिममा राजुराम सार्की भुल प्रदेश अध्यक्षमा चयन हुनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ कार्यसमितिले माक्र्सवादी विचार निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास उहाँले दिलाउनुभयो । तिमिल्सिनाले माक्र्सवादी ज्ञान केन्द्रप्रतिको अपेक्षा र भरोसालाई मर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

भेलामा पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेतृ रेखा शर्माले कम्युनिस्ट राजनीतिक दलहरूले नयाँ पुस्तालाई गहिरो ढंगले राजनीतिकरण गर्न नसकेको र माक्र्सवादी दर्शन र वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा माक्र्सवादी ज्ञान केन्द्रको प्रयास निकै सह्रानीय रहेको बताएकी छन्। माक्र्सवादी विचार, राजनीति, संस्कार, संस्कृतिप्रति आस्थावान् व्यक्तिहरूलाई जोडेर अगाडि बढिरहेकोमा उनले खुसी व्यक्त गर्नुभयो ।

‘माक्र्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ। मानिसहरूलाई सचेत बनाउनुपर्नेछ। कम्युनिस्ट आदर्श र दर्शन अनुकूल आचरण र व्यवहार सञ्चालनको विषयमा सचेत गराउनुपर्नेछ,’उहाँले भन्नुभयो, ‘विज्ञानप्रविधिको विकाश र बदलिँदो परिस्थिति अनुसारको माक्र्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नु पर्नेछ। यसतर्फ तपाईँहरूको प्रयासहरू केन्द्रित हुने र सफलता हासिल गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु।’

भेलामा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले माक्र्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकोले माक्र्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्ने बताउनुभयो । सिकाइको कुरामा नयाँ पुस्तासँग आफूहरूमा निराशा रहेको उल्लेख गर्दै उहाँले मुलुकमा सर्वहारा वर्गको हकहितलाई स्थापित गर्न र नेपाली विशेषताको समाजवाद निर्माण गर्न माक्र्सवादको अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । नेपाल अनुकूलको समाजवादी कार्यक्रमको ढाँचा निर्माणनिम्ति रणनीति तयार गर्ने दिशामा छलफल र बहसलाई केन्द्रित गर्नुपर्ने आवश्यकता उनले औँल्याउनुभयो ।

‘माक्र्सवादी विचार भाववादी मात्र होइन। माक्र्सवादीहरू व्यवहारवादी हुन्छन् । उनीहरू प्रयोगबाट निष्कर्षमा पुग्छन्,’ उहाँले भन्नुभयो, ‘माक्र्सवादी दर्शन र आदर्श अनुरूपको समाज रूपान्तरणको कुरा कुनै भाववादी होइन। बस्तुवादी कुरा हो। समाजवाद रूपान्तरण कुनै काल्पनिक कुरा होइन। यो वास्तविक कुरा हो । त्यस कारण हामीले समाजवादी कार्यदिशा र कार्यक्रमलाई समृद्ध बनाउनुपर्छ। नेपाली विशेषताको समाजवाद निर्माण गर्न अझ बढी काम गर्नुपर्छ।’ माक्र्सवाद सिक्ने र प्रयोग गर्ने विषयमा नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा नेता हमालले जोड थियो। 

नेपालमा वामपन्थी दलहरुबीच एकता आवश्यक भएपनि तत्काल सम्भव नरहेको बताउनुभयो । उहाँले विचार र कार्यक्रममा एकरूपता कायम गर्दै एकताको पक्षमा परिस्थिति विकसित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । माक्र्सवादी दर्शन र विचार निर्माणमा माक्र्सवादी ज्ञान केन्द्रको प्रयास अर्थपूर्ण रहेको भन्दै उहाँले त्यसलाई अझ गहिरो गरी अगाडि बढाउन शुभकामना समेत दिनुभयो ।
 

सुनको मूल्य तोलामै २ हजारले बढ्यो, चाँदीको कति ?

काठमाडौं । सुनको मूल्य तोलामै २ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको भाउ एकै पटक तोलामा २ हजारले बढेर १ लाख ६४ हजार ४ सयको उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ६ सयले बढेर १ लाख ६२ हजार ४ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा ३० रुपैंयाँले बढेर १९ सय ८० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २७ सय २५ डलर आसपासमा कारोबार भइरहेको छ 

कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ । टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेको हो । यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था पत्ता लगाउन, पर्यटकलाई परेको समस्या र तत्कालै उद्धार तथा समन्वय गर्नका लागि समस्या भैरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनमा आएपछि सीमा नाकामा सुरक्षाको जानकारी लिन, त्यहाँ पुग्ने पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, नाकाको भ्रमण गर्ने पर्यटकहरुको तथ्याङ्क सङ्कलन गर्नुका साथै आवश्यक समन्वय तथा सहजीकरणमा समेत सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिए। सीमा नाकामा टेलिकमको टावर निर्माणसँगै कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकहरु, मालसामान खरिद–बिक्री गर्न जाने स्थानीय व्यापारी र सर्वसाधारणहरु लाभान्वित बनेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित कोरला नाकामा यही असोजको दोस्रो सातादेखि टेलिकमको टावर स्थापना गरी सञ्चालनमा ल्याइएको हो । नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङको प्राविधिक तथा लोमान्थाङ गाउँपालिकाको भौतिक सहयोगमा टेलिकमको बिटिएस टावर स्थापना गरिएको छ । समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते मोबाइलमा वाइफाई चलाएर सजिलै कुराकानी गर्न सकिन्छ । नाका क्षेत्रमा नै सञ्चार सुविधाको विस्तार भएकाले खासगरी सूचना तथा जानकारीहरु आदानप्रदानमा सहज भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । कोरला नाका क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु रोक्नका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरला नाकाको नेपालतर्फ गएको असार महिनामा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत एकीकृत भवन निर्माण भैसकेको छ । यसअघि नाकाको सुरक्षा र अनुगमन तथा निरीक्षणको लागि भन्दै नेपाल सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो ।

देशभर तापक्रम क्रमशः घट्दो क्रममा

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।  विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम  सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा  बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

लेबनान र प्यालेस्टाइनमा बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध जनाएको हो। संगठनले लेबनान र प्यालेस्टाइनका जनताप्रति समवेदना र सहानुभूतिसमेत प्रकट गरेको छ। प्रर्दशनका क्रममा इजरायल र लेबनानमा रहेका नेपाली समुदायलाई सुरक्षितरुपमा नेपाल फर्काउन पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । साथै, हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायली दूतावास, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न संगठनले आग्रह गरेको छ ।

लोकप्रिय