नेपाल प्रहरीकाे कमाण्डो तालिम दिक्षान्त समारोह सम्पन्न

नेपाल प्रहरीकाे कमाण्डो तालिम दिक्षान्त समारोह सम्पन्न

नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे।

प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिए। नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पुर्‍याएको उल्लेखनीय योगदानको सराहना उनले गरे। 

प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गरे। तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उनले उल्लेख गरे । 

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरे। 

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिए।
उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय