रास्वपाले परिवादबादलाई निषेध गर्ने
पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रास्वपाको बैठकले परिवारवादलाई निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने निर्णय गरेको हो ।
बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने छ ।’
उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि गरेको जानकारी दिए । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ ।
पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको ढकालले जानकारी दिए ।
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनालले पाएका छन् । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गरेको छ ।
आजको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको प्रबक्ता ढकालले बताए ।
उनका अनुसार बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीबारे समीक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति तथा कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्युनतम कार्यक्रमबारे समेत छलफल भएको छ ।
वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।