झ्याप्लेको अवरुद्ध सडक सुचारु

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए।

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।

प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।  समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनस्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले मानविय विपतलाई मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

झ्याप्लेखोला पहिरोमा पुरिएका तीन बस र एक माइक्रोबस भेटिए, सातवटा शव निकालियो

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ। पहिरोको लेदो माटोले पुरिएको बस निकाल्ने क्रममा माइक्रोबस पनि पुरिएको अवस्थामा फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए।  रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ। घटनास्थलमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मीलगायतको टोलीले शव निकालिरहेको वडासदस्य रानाले बताए। ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस र चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रोमा सबार यात्रुको हुनसक्ने आशंका गरिएको छ।  तर हालसम्म दुवै सवारीसाधनको नम्बर भने पत्ता लागिसकेको छैन। बस र माइक्रोका थोरै भाग मात्र देखिएको प्रहरीले जानकारी दिएको छ।

देशका विभिन्न स्थानमा वर्षा जारी, अझै कायम रहने

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा (५० मिमिभन्दा बढी) र केही स्थानमा धेरै भारी वर्षा (१०० मिमिभन्दा बढी) भएको छ।  यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षा (२०० मिमिभन्दा बढी) पनि भएको महाशाखाले जनाएको छ।  हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र आज पनि वर्षाको क्रम जारी रहने भएकाले सतर्क रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

लोकप्रिय