छठले भित्र्याउँछ डोम समुदायमा खुशी

छठले भित्र्याउँछ डोम समुदायमा खुशी

धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । 

हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन । 

क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्,“समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरू काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गुज्रिनु परिरहेको छ ।” उनी चाडपर्वका बेला भने आफूहरूको सीपले महत्त्व पाउने गरेको सुनाउँछन् । 

छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याई रहेको मल्लिकको भनाइ छ । “सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उनले हँसिलो मुद्रामा भने । 

दीपावली लगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा !

तराईवासी हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धनुषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् । 

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका—१ स्थित धर्मवान् टोलका श्याम मल्लिक डोमले सुनाए । 

सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बिच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् । “अरू बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौँतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो”, उनले खुसी हुँदै भनिन् । 

महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उनको भनाइ छ । 

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउँछिन् । 

मिथिला नगरपालिका-७ का ५५ वर्षीय राजवीर डोमले चाडपर्व आफूहरूका लागि पिर बिसाउने अवसरसमेत भएको बताए । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरमा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाइन् । 

छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाए । 

हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभई देशको राजधानी काठमाडौँसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने यसमा संलग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।  


 

किसानको साग किनेर गुन्द्रुक बनाउँदै माओवादीले नेतृत्व गरेको भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक । गत स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका पालिका अध्यक्ष प्रेम बहादुर भुजेल नेतृत्वको काभ्रे जिल्लको भुम्लु गाउँपालिले स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर बजारीकरण गर्ने भएको छ ।  यसअघि मोहीको ब्राण्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको यसपालिकाले अब स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको छ । सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपीलसमेत गरेको हो । प्रतिकिलो रु २५ का दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताउनुभयो । भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महङ्गो भाडा पर्ने भएपछि गाउँपपालिकाले खरिद गर्न लागेको हो । हाल रहेको साग तथा प्रतिबर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरेको छ ।काभ्रेको बजारमा पर्ने खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयसँग साग खरिद गर्ने छ । गाउँपालिकाकै ब्यवस्थापनमा गुन्द्रुक बनाएर विक्री गरिने छ । बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्राण्डिङ गरी मोही–प्रवर्द्धन गर्न लागिएको हो। जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औं अविधेशनको दोस्रो नगरसभा बैठकले पारित गरी मोहीको ब्यवसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने भएकोल छ। नगरमा उत्पादन भएको दुध स्थानीय बजारमा विक्री भई दैनिक ३५ देखि ४० हजार लिटर दूध बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ।

सल्यान महोत्सव स्थलमा आगलागी, ८० स्टल नष्ट

सल्यान । सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । महोत्सवमा विभिन्न किसिमका १३८ स्टल राखिएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ १८ गतेदेखि व्यापारिक केन्द्र श्रीनगरमा महोत्सव सञ्चालन गरिएको थियो । गएराती ११ बजे सुरु भएको आगलागी स्थानीय, नेपाली सेना र प्रहरीले राति १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ । आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ । अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भरतपुरका किशोरीहरुलाई एचपिभी खोप अभियान सुरु, मेयर दाहालद्धारा उद्घाटन

चितवन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी हो । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले श्री मावि गौरीगञ्जबाट अभियानको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यो अभियानमा कक्षा ६ देखि १० मा पढ्ने सम्पूर्ण छात्राहरुलाई अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो । भरतपुर महानगरले मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्य गरिसेको र अब भने विभिन्न उमेर समूहको लागि यस्तै अभियान ल्याउने बताउनुभयो । अभियान फागुन २ गतेसम्म अर्थात् १० दिनसम्म चल्नेछ । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरका स्वास्थ्य अधिकृत केशव भट्टका अनुसार विद्यालयका अध्ययरत १६ हजार १ सय ६९ र विद्यालय बाहिरा रहेका ४ सय २३ गरी १६ हजार ५ सय ९२ जनालाई खोप लगाइने छ । खोप सेवाका लागि १ सय ९३ खोप केन्द्रहरु, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिने छन् । आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिने तालिका रहेको अधिकृत भट्टले जानकारी दिनुभयो ।

तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उहाँले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताउनुभयो । आफू केही वर्षअघि केही मन्त्रीहरुसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उहाँले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताउनुभयो । अहिले दोस्रोपटक आउँदा प्राविधिक संरचनामा केही सुधार आएको र तातोपानीका मुहानहरु अरु पनि भेटिएको जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । बेनी–ढोरपाटन सडक निर्माण पनि आफूहरुको प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको काम अघि बढिसकेको बताउनुभयो । ‘म्याग्दी जिल्लाको समग्र विकासमा हाम्रो ध्यान गएको छ, खोलाको सतह अझ गहिरिन नपाओस् भनेर स्थानीयवासीले राखेको चेकड्याम निर्माणको प्रस्तावप्रति हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छौं’– उहाँले भन्नुभयो । सो क्रममा उहाँले स्थानीयबासीसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो ।