सहकारी अपचलन प्रकरण : कार्यदलको बैठक बस्दै
काठमाडौं ।सहकारी अपचलन प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)बारे छलफल गर्न कार्यदलको बैठक आज बस्दै छ।
बैठक दिउँसो तीन बजे सिंहदरबारस्थित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको कार्यदल सदस्य जीवन परियारले जानकारी दिए।सहकारी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे टुंगो लागेको छैन ।
विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेकाले नामै तोकेर समिति बनाउनु पर्ने अडान लिएको छ भने सत्ता पक्ष मुद्दा केन्द्रीत समिति बनाउने अडानमा रहँदा समाधान निस्कन सकेको छैन ।
सत्ता पक्ष र विपक्षी दल आआफ्नै अडानमा रहँदा कांग्रेसको नाराबाजी र अवरोधकाबीच संसदको काम कारबाहि अगाडि बढेको छ । सहकारी ठगी प्रकरणमा समस्या समाधानका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ ।
जसमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल सदस्य छन् । यस्तै, बैठकमा नेपाली कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।
रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ। शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल गर्ने एजेन्डा छ। आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ। बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले तयार गरेको तालिकाअनुसार उक्त बैठकले प्रस्तावानाको व्याख्या एवं विकासको भावी रोडम्यापबारे छलफल गर्नेछ। रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ।
मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भीम रावलको घोषणा
काठमाडौं । एमालेबाट बर्खास्तीमा परेका भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने । उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ । उनले एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको बताए । ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपर्थ्यो । तर केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ । एमाले रंग खुइलिएको बामाले भएको छ । यो भन्नुपर्दा मलाई दुख लागेको छ । अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उनले भने । देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको बताए ।
नेकपा विभाजन हुनुको मुख्य कारक केपी ओली नै हुन्ः रावल
काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुख्य कारक केपी शर्मा ओली भएको बताउनुभएको छ । पार्टीबाट निष्काशित भएपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘कुनै पनि जीवन्त पार्टीमा अन्तरविरोध हुन्छन् तर नेकपाभित्रको अन्तरविरोधलाई विभाजनसम्म पुर्याउने मुख्य पात्र केपी शर्मा ओली हुन्’– उहाँले भन्नुभयो– ‘पहिले मैले केही सोचेको छैन भन्ने पछि आफूलाई किन अध्यक्षमा उम्मेदवारी दिएको भनेर कारवाही गरियो, यो ओलीको निरंकुश र स्वेच्छाचारिकको नग्न रुप हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा सिम्खडा
काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा जगतबहादुर सिम्खडा चयन भएका छन् । काठमाडौंमा भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिम्खडालाई एक वर्षको लागि जेटियुसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । केन्द्रको महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन्। जेटियुसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आवद्ध छन् । हरेक एक/एक वर्षमा हुने जेटियुसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् । जेटियुसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिमखडाले जेटियुसिसीको अध्यक्ष बन्नु चुनौतीको रुपमा लिएको बताए । उनले नेपालको ट्रेड युनियन आन्दोलन अफ्ठ्यारो अवस्थामा रहेको भन्दै संविधानमा श्रमिकका विषयलाई सम्बोधन भएपनि श्रमिकको हितमा कानूनहरु बन्न नसकेको बताए। अध्यक्ष सिम्खडाले उल्टो बाटोमा हिँड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्ने बताए ।