विपक्षी दलहरूको बैठक बस्दै

विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको काँग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ । 

बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ । 

एकीकृत समाजवादीको केन्द्रीय सदस्य संख्या १० प्रतिशत बढाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाउने भएको छ । यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको सो पार्टीले नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको हो । १० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।नयाँ मानिस ल्याउनुपर्ने, ३३ प्रतिशत महिला अनिवार्य र ४५ वर्षमुनिका ६० जना युवा केन्द्रीय कमिटी सदस्यमा ल्याउनै पर्ने व्यवस्थाका कारण केही संख्या बढाउन लागिएको समाजवादीले जनाएको छ ।

कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

विराटनगर । कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्त नलिने भएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री थिए । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री थिइन् । केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्न खोजेको थियो ।मुख्यमन्त्री हिक्मत कार्कीले केही समय सरकारमै रहन आग्रह गरेका कारण केही ढिलो गरी राजीनामा बुझाएका हुन् ।‌ कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

माओवादी पदाधिकारी बैठक भोलि पनि बस्ने, आजको बैठकमा के भयो ?

काठमाडौं । आज देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा, कोटेश्वरमा शुरु भएको छ। बैठकमा राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा भैरहेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  ब्रिफिङ गरे पश्चात पदाधिकारीले धारणा राखे। आजको बैठकमा अध्यक्षको ब्रिफिङ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन अनन्त, सचिवहरू चक्रपाणी खनाल बलदेव, सुरेन्द्र कार्की पार्थ र हितराज पाण्डे उत्तमले आफ्ना भनाई राखेका छन्।  बैठकमा सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेका थिए भने पदाधिकारीले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा धारणा राखेका छन् । बैठकमा पदाधिकारीहरु बोल्नेक्रम जारी छ । बैठक फेरि शनिबार बिहान ११ बजे बस्ने छ ।

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।  सरकारबाट हटेपछि पहिलो पटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए । साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

लोकप्रिय