व्याण्डविथ प्लेटफर्म अध्ययन समितिद्धारा प्रतिवेदन पेश, यस्ता छन् सुझाव

व्याण्डविथ प्लेटफर्म अध्ययन समितिद्धारा प्रतिवेदन पेश, यस्ता छन् सुझाव

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले २०८० फागुन २३ गते दोस्रोपटक पद वहाली गर्दा नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय सहसचिव गौरव गिरीको संयोजकत्वमा एक समिति गठन गरेकी छिन् । समितिले सबै क्षेत्रको अध्ययन गरी आज मन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको छ । 

प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्याण्डविथको व्यवस्थापन महत्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले आफूले दोस्रो पटक पदवहाली गर्दा प्राथमिकता दिएर अध्ययन समिति गठन गरिएको बताइन्। उनले प्रतिवेदनले दिएको सुुझावका आधारमा तत्काल गर्न सकिने कामका लागि प्रक्रिया अघि बढाउन र आवश्यक कानुन बनाउने सवालमा कानुन निर्माण गर्दा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिइने जानकारी पनि दिइन्।

प्रतिवेदनले औल्याएका महत्वपूर्ण सुझाव यसप्रकार छन्ः 
१.नेपाल भित्रिने व्याण्डविथलाई व्यवस्थापन गर्ने सम्बन्धमा  
क.दूरसंचार ऐन, २०५३ र दूरसंचार नियमावली, २०५४ बमोजिम एउटै व्यक्ति/संस्थाले नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक दुबैको अनुमतिपत्र लिने गरेको कारण नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक फरक फरक बनाई बजारलाई समान धरातलमा प्रतिष्पर्धा गर्ने वातावरण बनाउन कठिनाई रहेको| साथै अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथ खरिद मूल्य बढी देखाई सरकारलाई राजस्व/कर कम तिर्नसक्ने सम्भावना रहेकोले नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरु बीच चेक एण्ड ब्यालेन्स नहुँदा बजारमा सेवाग्राहिले तिर्ने इन्टरनेट महशुल तथा गुणस्तरमा एकरुपता हुन नसकेको देखिन्छ । तसर्थ  इन्टरनेट सेवा प्रदायक बीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण, Level Playing Field तयार गर्न एउटै संस्थालाई नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको दोहरो भुमिकामा नरहने गरी तत्काल व्यवस्था गर्न आवश्यक देखिएको ।
ख.नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था करीब २३ वटा रहेकोमा कसैले कम कसैले बढी इन्टरनेशल इन्टरनेट व्याण्डविथ खरिद गरेको देखिन्छ र सोको प्रति इकाई मूल्य पनि व्याण्डविथको परिमाण अनुसार फरक रहेको देखिएको छ | साथै बढी परीमाणको इन्टरनेट व्याण्डविथ आयात गर्ने सेवा प्रदायक र कम परीमाणको इन्टरनेट व्याण्डविथ आयात गर्ने सेवा प्रदायकले प्रदान गर्ने सेवाको न्यूनतम गुणस्तरको सुनिश्चित्ता नरहेको सेवाग्राहीबाट समेत सुनिने गरेको छ। तसर्थ Economics of Scale को सिद्धान्त अनुरुप इन्टरनेशल इन्टरनेट व्याण्डविथको मूल्य घटाउन, सो बापत नेपालबाट बाहिरिने विदेशी मुद्रा कम गर्न र गुणस्तरीय इन्टरनेट सेवाको सुनिश्चितताको लागि हालको अवस्थामा कम्तिमा ५०० जि.बि.पि.एस. परिमाणको इन्टरनेट व्याण्डविथ आयात गर्न पाउने लगायतका अन्य व्यवस्था  गर्ने सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसंग परामर्श गरि उपयुक्त निर्णय हुन आवश्यक देखिएको ।
ग.दुरसञ्चार ऐन, २०५३ तथा ऐ. नियमवाली, २०५४ बमोजिम नेपाल सरकार एवं दुरसञ्चार प्राधिकरणबाट दिइने निर्देशनहरुलाई कार्यान्वयन गर्न सक्ने गरी नेटवर्क सेवा प्रदायकहरुले आवश्यक प्रबन्ध गरिएको सुनिश्चतता गर्न ।आवश्यक देखिएको।  
घ.इन्टरनेट सेवालाई देश भित्र अवरोध हुन नदिन वैकल्पिक व्यवस्था समेतको लागि नेटवर्क सेवा प्रदायकहरुले कम्तिमा दुई वटा इन्टरनेशल इन्टरनेट व्याण्डविथ विक्रेताबाट व्याण्डबिथ खरिद गर्नु पर्ने, यसरी व्याण्डविथ खरिद गर्दा एउटा विक्रेताबाट अधिक्तम ६० प्रतिशत भन्दा बढी खरिद गर्न नपाउने साथै सो व्याणडविथ नेपाल भित्र्याउँदा फरक-फरक नाकाबाट व्याण्डविथ आयात गर्ने व्यवस्था समेत गर्न उपयुक्त हुने देखिएको ।
ङ.नेटवर्क सेवा प्रदायकले इन्टरनेशल इन्टरनेट व्याण्डविथ विक्रेतासँग व्याण्डविथ  खरिद सम्झौता गर्नु पूर्व नेपाल दूरसञ्चार प्राधिकरणबाट  अनिबार्य पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ ।
च.नेपालमा हालको व्याण्डविथको खपत र भविष्यको आवश्यक्तालाई मध्यनजर गरी सो को लागत, मर्मत सम्भार र प्रतिफलको विस्तृत विश्लेषण गरी समुद्रसम्म आफ्नै फाइवर लिंक स्थापना गर्ने वा छिमेकी देशहरुबाट व्याण्डविथ खरिद गर्ने भन्ने सम्बन्धमा थप अध्ययन गर्न आवश्यक देखिएको ।

२ इन्टरनेश्नल इन्टरनेट व्यवस्थापन प्रणाली र सोको संरचनागत व्यवस्था 
क.अन्तर्राष्ट्रिय स्तरमा एकाधिकार मोडेल (Monopoly Model), आंशिक प्रतिष्पर्धात्मक मोडेल(Partial Competition Model) र पूर्ण प्रतिष्पर्धात्मक मोडेल(Full Competition Model) गरी तीन वटा इन्टरनेशनल इन्टरनेट व्याण्डविथ आयात गर्ने मोडेल प्रचलनमा रहेको देखिन्छ | नेपालको सन्दर्भमा उपयुक्त मोडेलको छनौट, नीतिगत तथा संरचनागत व्यवस्था लगायतका विषयमा थप अध्ययन गराउॅदा उपयुक्त हुने देखिन्छ ।

ख.नेपाल बाहिरबाट आएको नेटवर्क ट्राफिकलाई उचित रुपमा व्यवस्थापन गर्न, डाटा प्याकेटहरूलाई कुशल र सुरक्षित रूपमा अन्य देशहरुमा प्रवाह गर्न, डाटा गोपनीयता, कन्टेन्ट फिल्टरिङ (Content Filtering ) को सान्दर्भिकता, साइबर सुरक्षा लगायतका विषयमा नियमन गर्न तथा अनुगमन गर्न आवश्यक पर्ने नीतिगत, कानुनी एवं संरचानागत व्यवस्थाका सम्बन्धमा थप अध्ययन गर्न उपयुक्त हुने देखिन्छ | साथै, नागरिकको गोपनियतासँग जोडिएको विषय रहेको हुनाले इन्टरनेश्नल इन्टरनेट व्यवस्थापन प्रणाली नेपाल सरकारको मातहत रहने व्यवस्था गर्नु समेत उपयुक्त हुने देखिएको।

ग.नेपालको सन्दर्भमा इन्टरनेश्नल इन्टरनेट व्यवस्थापन प्रणालीको विस्तृत फ्रेमवर्क, स्थापना तथा संचालनको मोडालिटी, नीतिगत कानूनी एवं संरचनागत व्यवस्था लगायतका विषयहरुमा थप विस्तृत अध्ययन गरी समयानुकुल उपयुक्त प्रबन्ध गर्न आवश्यक देखिएको।

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । भेटका क्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको कामको प्रसंशा गरे । उनीहरुले प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्यको वातावरण सशक्त र प्रभावकारी रहेको स्मरण गरे । 

चलचित्र ‘महाभोज’ समाज परिवर्तनको सशक्त सन्देश दिन सफल: अध्यक्ष प्रचण्ड

काठमाडौँ —  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चलचित्र ‘महाभोज’ सामन्तवादविरुद्धको संघर्ष र समाज परिवर्तनको सन्देश दिन सफल भन्दै सबैलाई हेर्न आग्रह गर्नुभएको छ ।  आइतबार राजधानीको सिटी सेन्टरमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले ‘महाभोज’ लाई चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र गहिरो सन्देश बोकेको चलचित्रका रूपमा मूल्यांकन गर्नुभयो। उहाँले नयाँ पुस्ताले यो चलचित्र हेरेर यसको मर्म बुझ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।  राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू चलचित्रको विशेष प्रदर्शनी हेर्न सिटी सेन्टर पुग्नु भएको थियो । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेशले चलचित्र ‘महाभोज’ को विशेष शो आयोजना गरेको हो। समसामयिक कथावस्तु र प्रगतिशील समाज रूपान्तरणको सन्देशमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूलभाव प्रस्तुत गर्छ। चलचित्र ‘महाभोज’ का निर्माता हिमाल कडरिया, निर्देशक दिनेश राउत तथा कार्यकारी निर्माता किरण नेपाली हुन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ र बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ। पढनुस् सन्देश "लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो। आज मैले “महाभोज” चलचित्र हलमै गएर हेरेँ। चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो। त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ। यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु। आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।"

अध्यक्ष प्रचण्डद्वारा विपद् व्यवस्थापनमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं,  देशभर जारी भीषण वर्षाका कारण डुबान र पहिरोको जोखिम बढ्दै गएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विपद् पूर्व–व्यवस्थापन तथा प्रतिकार्यका लागि सरकारलाई तुरुन्त कदम चाल्न समेत अपिल गर्नुभएको छ। सार्वजनिक सन्देशमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “नदी तटीय क्षेत्र, डुबान भइरहने होचो भू–भाग तथा भू–स्खलनको उच्च जोखिम भएका स्थानहरूमा रहेका सम्पूर्ण जनतालाई अत्यन्त सतर्क रहन अनुरोध गर्दछु।” उहाँले विपद् व्यवस्थापनमा सहयोग गर्न, जनतालाई समयमै सूचना उपलब्ध गराउन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन पार्टीका सम्पूर्ण पंक्तिलाई निर्देशन दिनुभएको छ। साथै, नागरिकहरूलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्न, सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। प्रचण्डले सम्भावित प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिन सरकारले उच्च तयारीका साथ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।

साउदी अरबका राजकुमार : २० वर्षको कोमापछि अन्तिम विदाई

दुबई: साउदी अरबका राजकुमार अल वलीद बिन खालिद बिन तलाल अल सउद, जसले दुई दशकभन्दा बढी "सुतिरहेको राजकुमार" (The Sleeping Prince) को रूपमा इतिहास र जनताको हृदयमा ठाउँ बनाए, आज विशेष स्वास्थ्य केन्द्रमा निधन भयो । उनको मृत्युले मात्र शाही परिवार होइन, सम्पूर्ण साउदीलाई शोकमा डुबाएको छ। सन् २००५ मा भएको भीषण सडक दुर्घटनाले १५ वर्षीय युवराजलाई 'गम्भीर मस्तिष्क चोट' पुर्याएपछि उनी कोमामा पसेका थिए। त्यतिबेलादेखि उनका पिता खालिद बिन तलाल ले आफ्नो छोरालाई जीवनयन्त्रमा राखेर अस्पतालको कोठालाई नै आफ्नो घर बनाएका थिए। जीवनको संक्षिप्त झलक जन्म: १९९० अप्रिल, साउदी अरब परिवार: शाही परिवारका प्रमुख सदस्य, अर्बपति राजकुमार अल वलीद बिन तलाल का भतिज शिक्षा: लण्डनमा सैन्य क्याडेटको रूपमा अध्ययन (दुर्घटनाको समयमा) दुर्घटनाको क्षण: एक परिवारको जीवन बदलिएको १५ वर्षको उमेरमा लण्डनको एउटा सडकमा भएको दुर्घटनाले राजकुमारको मस्तिष्कमा गम्भीर आघात पुर्यायो। चिकित्सकहरूले उनलाई बचाउन सकेनन्, तर उनका पिताले कहिल्यै आशा छाडेनन्। "मेरो छोरा फर्किनेछ, अल्लाहले  मलाई यसको संकेत दिनुभएको छ," उनी भन्थे। २० वर्षको संघर्ष: आस्था र विज्ञानबीचको लडाइँ चिकित्सकीय अवस्था: कोमा (PVS - Persistent Vegetative State), कहिलेकाहीं अंगहरूको अनैच्छिक हलचल मात्र पिताको समर्पण: विश्वका उत्कृष्ट अस्पतालहरूमा उपचार, तर कहिल्यै होस नफर्किएपछि पनि जीवनयन्त्र हटाउन अस्वीकार जनताको सहानुभूति: सामाजिक सञ्जालमा #SleepingPrince ट्रेन्ड गर्दै, धेरैले उनलाई "आस्था र धैर्यको प्रतीक" भने आध्यात्मिक आशा उनको अस्पतालको कोठा एउटा "तीर्थस्थल" जस्तै बनेको थियो। प्रार्थनाका लागि आउने मानिसहरू, कुरान पाठ गर्ने इमामहरू, र परिवारका सदस्यहरूले उनलाई घेरेर राख्थे। शाही परिवारको बयान र अन्त्यिम संस्कार शाही दरबारले राजकुमारको निधनलाई "ईश्वरको इच्छा" भनी स्वीकार गरेको छ। अन्त्यिम संस्कार मक्का नजिकैको पारिवारिक कब्रिस्तानमा हुनेछ। शोक: साउदी अरबमा ३ दिने राष्ट्रिय शोक घोषणा गरिएको छ। एउटा विरासत: प्रेमले हराउँदैन राजकुमार अल वलीदको कथा एउटा बुबाको अटूट माया, आस्था र मानवीय सहनशक्तिको प्रतीक बनेको छ। उनको जीवनले साउदी समाजलाई नै प्रभावित गर्यो—धेरैले उनका पिताको समर्पणलाई "असल बुबाको उदाहरण" भनेर सम्झन्छन्। "उनी सुतिरहेका छैनन्, ईश्वरले उनलाई आफ्नो मायालु गोदमा सुताएका छन्।" — सामाजिक सञ्जालमा एक श्रद्धाञ्जली (गल्फन्युजबाट साभार) 

लोकप्रिय