सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० देखि १४ गते गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ सम्पन्न

काठमाडौं । सिजन मिडियाको आफ्नो १६औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को अवसरमा  कुपन्डोलस्थित होटल हिमालयनमा नेपाल लगायत एशियाका विभिन्न देशका सफल व्यवसायीहरुलाई विभिन्न अवार्डबाट सम्मानीत गर्दै एशियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४ सम्पन्न गरेको छ । असोज २ गते बूधबार साँझ सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड तथा सम्मान कार्यक्रममा ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका मानार्थ वाणिज्य दूत समेत उद्यमी, व्यवसायी राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल के.सी., लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक डा.अनिल पोखरेल, आइकोनिक बिजनेस आन्टरप्रिनरशीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुुकेटर एण्ड रिसर्चर अवार्डबाट डा। स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्र राज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरशीप अवार्डबाट डा. पियारत्न महर्जन, आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋशी धिताल, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरशीप अवार्डाबाट पूर्व मिस नेपाल एवं उद्यर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पंगेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लोकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारीलाई वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना, इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत ले अवार्ड ग्रहण गर्नु भएको थियो।   आ आफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धी संगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यवसायिक व्यक्तित्व बाहेक एशियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ले विभिन्न मुलुकका व्यवसायिक सफलता हात पारेका व्यक्तिहरुलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो ।  जस अन्तर्गत दक्षिण कोरीयावाट इनोभेटिभ लिडरशीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङशु, पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्र्ेड लिडरशीप अवार्ड, भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाईल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड, बंगलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा।जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो ।  संचारकर्मी सहित विभिन्न क्षेत्र आमन्त्रीत लब्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थितिका वीच सम्पन्न सो अवार्ड कार्यक्रममा विभिन्न अवार्डबाट सम्मानीत भएकाहरुलाई कार्यक्रममा प्रमुख अतिथि सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अवार्ड हस्तान्तरण गरेका थिए । पूर्व भौतिक मन्त्री प्रकास ज्वाला र सांसद राजेन्द्र वजगाइले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नु भएको थिायो उक्त कार्यक्रम फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको संचालनमा सम्पन्न सो कार्यक्रम सिजन मिडियाका प्रमुख प्रदिप राज वन्तको स्वागत मन्तव्य संगै अगाडि बढेको थियो ।  सो, अवार्ड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि पूर्व मन्त्री समेत रहिसकेका माननीय एकनाथ ढकाल, वरिष्ठ संचारकर्मीद्धय किशोर श्रेष्ठ तथा खिल बहादुर भण्डारी, शिक्षाविद् हरि सिंह के.सी., व्यवसायी अमित शर्मा तथा वरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधान सम्मीलित सल्लाहार बोर्डको महत्वपूर्ण भूमिका रहेको थियो ।

साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली

दाङ । बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी आन्दोलन तथा प्रगतिशील साहित्य क्षेत्रका अगुवा शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा आफन्त र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उहाँको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरुले दागवत्ती दिनुभएको थियो ।  स्वर्गीय शर्माका दाउरेनी खण्डकाब्य, आचार–विचार बाल लघु काब्य, बुढा जोर सिमलका रुखहरु, केही कृति समीक्षा र विविध, बुढा भएछन् कलमहरु, मेरो गाउँ र मेरा भोगाइहरु, सम्झनामा मेरो अतित र छोरीहरु (कविता संग्रह) लगायतका एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँले नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्थ्यो ।   उहाँले मावि चौघेरामा प्रधानाध्यापकका रुपमा लामो समयसम्म सेवा गर्नुभएको थियो । दाङका विभिन्न विद्यालयहरु र अर्घाखाँचीको चुत्रावेशीसम्म शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान गर्नुभयो । शर्माले राप्ती साहित्य परिषद्को स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुका साथै अध्यक्षको रुपमा संस्थाको नेतृत्व गर्नुभएको थियो । शर्मा प्रगतिशील लेखक संघ दाङ शाखाको संस्थापक साथै अध्यक्ष हुनुभएको थियो । विसं १९९७ साल जेठ १५ गते जन्मनुभएका उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ । शर्माले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो भने लुम्बिनी प्रदेश सरकारले प्रदान गरेको रत्नपदक द्धितीय, मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले प्रदान गरेको नेत्रलाल अभागी स्मृति सम्मान २०८० बाट पनि सम्मानित हुनुभएको थियो । उहाँ राप्ती साहित्य परिषद, प्रगतिशील लेखक संघलगायत दर्जनौं संस्थाबाट पनि सम्मानित भइसक्नुभएको छ । उहाँका फूटकर सयौं लेख रचना र  प्रकाशित छन् । राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शर्माको निधनले यस क्षेत्रको साहित्यिक, शैक्षिक र समाज रुपान्तरणको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । पुस्तकालयका सल्लाहकारसमेत रहनुभएका शर्माको निधनप्रति सर्वोदय पुस्तकालय तथा वाचनालयले दुःख व्यक्त गरेको छ । पुस्तकालयका अध्यक्ष सुशील गौतमले शोक विज्ञप्ति प्रकाशित गरी पुस्तकालयका लागि अतुलनीय योगदान दिनुभएको भन्दै उहाँको निधनमा दुःख व्यक्त गर्नुभएको छ  ।  

लोकप्रिय