शिक्षक सरुवासम्बन्धी निर्देशिका स्वीकृत, निवेदन दिएको ३० दिनभित्रमा सरुवा (निर्देशिकासहित)

शिक्षक सरुवासम्बन्धी निर्देशिका स्वीकृत, निवेदन दिएको ३० दिनभित्रमा सरुवा (निर्देशिकासहित)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ।सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउनको लागि मन्त्रालयले निर्देशिका लागू गरेको जनाएको हो।

निर्देशिका अनुसार दरबन्दी मिलानको सिलसिलामा खुद पुल कायम भएको दरबन्दी भएमा, सम्बन्धित तहमा स्थायी नियुक्ति भएको एक वर्ष अवधि नपुगेको वा अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको शिक्षक भएमा सरुवा गर्न नसकिने उल्लेख छ।

रिक्त पद खुला वा बढुवाद्वारा पदपूर्तिका लागि सम्बन्धित निकायमा लेखी पठाइएको भएमा लगायतको अवस्थामा सरुवा सहमति दिन वा सरुवा गर्न नसकिने उल्लेख गरिएको छ।

मन्त्रालयले तयार गरेको निर्देशिकामा विद्यालय व्यवस्थापन समितिको भूमिका शिक्षा नियमावली २०५९ को अनुसूची १७ अनुसार नै हुने भएको छ।

निर्देशिकामा पाँच वर्ष अवधि नपुगी सरुवा हुन चाहनेका लागि प्रचलित व्यवस्थामा परिमार्जन गरी विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने बनाएर सरुवा सरल बनाउन खोजिएको थियो। यसमा विद्यालय व्यवस्थापन महासंघले आपत्ति जनाएपछि अनुसूची १७ अनुसार कायम गरिएको छ।

यसैगरी निर्देशिका अनुसार शिक्षक सरुवासम्बन्धी कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न केन्द्रमा सहजीकरण समिति हुनेछ।

उक्त समितिको संयोजक शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक, सदस्य शिक्षा मन्त्रालयका विद्यालय शिक्षा शाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

समितिले शिक्षक सरुवासम्बन्धी विषयमा आवश्यक समन्वय र सहजीकरण गर्नेछ। त्यस्तै समितिले सरुवासम्बन्धी उजुरी र गुनासो व्यवस्थापन कार्य गर्ने निर्देशिकामा जनाइएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद बढाउन प्रमुख दल सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो । प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषय ओझेलमा परेको थियो । गठबन्धन फेरिए पनि प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद गरिरहेका थिए ।आजको बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति समेत गरेको छ ।

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।  अब नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठसहित सात उपाध्यक्ष, सचिव सातदेखि ९ जनासम्म हुने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ। 

प्रमुख तीन दलका नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ ।  शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो।  'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

काठमाडौँ। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताए। उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे। उनले भने, ‘‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको हो । प्रश्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।’’ राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेट बस्नेगरी स्थगित भएको छ ।

लोकप्रिय