दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हरायो

एजेन्सी । आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले हराएको छ। दक्षिण अफ्रिकाको यो निरन्तर छैटौँ जित हो ।
गएराति टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ विकेट गुमाएर १५६ रन बनाउँदा ७ रनको पराजय भोगेको हो।
प्रतियोगितामा शनिबार दुई खेल हुँदैछ। पहिलो खेलमा अहिले अमेरिका र वेस्ट इण्डिज प्रतिस्पर्धा गरिरहेका छन्। बेलुकी सवा ८ बजे भारत र बंगलादेश भिड्नेछन्।
क्यानसँगको सम्झौता तोड्ने सन्दीप लामिछानेको घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौताबाट आफू अलग हुने घोषणा गरेका छन्। आइसिसी विश्वकप लिग–२ का लागि युके जानुअघि सामाजिक सञ्जालमार्फत सन्दीपले यो जानकारी दिएका हुन्। उनले क्यानप्रति कृतज्ञता व्यक्त गर्दै यो निर्णय देश वा क्रिकेटप्रति विमुख हुने होइन पनि भनेका छन्। ‘ए’ ग्रेडमा रहेका सन्दीप पछिल्लो समय क्यानसँग असन्तुष्ट देखिएका थिए। माघमा अनुशासन उल्लङ्घन गरेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक दिएपछि उनी घरेलु क्रिकेट प्रतियोगितामा उनी देखिएनन् । जय ट्रफीको खेलमा अम्पायर निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरेका सन्दीपले त्यसपछि क्यानको कारबाहीको सामना गर्नुपरेको थियो।
गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आज विहान रंगशालाको अनुगमन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिनुभयो । ‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’ ‘मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको थिएँ, त्यसको डिपिआर बनेर अहिले इआईए पनि भसकेको राष्ट्रिय खेलकुद परिषद्बाट जानकारी पाएको छु’– उहाँले भन्नुभयो– ‘यसलाई अघि बढाउन सरकारले बजेट व्यवस्था लगायतका काममा सहजीकरण गर्न आवश्यक छ ।’ आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग –एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाली क्रिकेटलाई नजिकबाट माया गरिदिनु भएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विषेश धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयस्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उहाँको भनाई थियो । नेपाली क्रिकेटको भाग्य भविष्य यस्तै घरेलु ग्रासहुड प्रतियोगिताले निर्धारण गर्ने भएकाले भरतपुर मेयर्स कप क्रिकेट लिगले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव खड्काले बताउनुभयो । महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरु महानगरले आयोजना गर्दै आइरहेको स्मरण गर्नुभयो । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तर रुपमा अघि बढाउने उहाँको भनाई थियो । प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीब्र रुपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले यही नमुना खेल मैदानमा खेल खेली, छनोट भई जनवरी १८ देखि हुने यू¬ १९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हाजर दिने घोषणा समेत गर्नुभयो । भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ । पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमीफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएल विजेताहरुलाई अध्यक्ष प्रचण्डको बधाई
काठमाडौं । नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको छ । यो खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो । ‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपीएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।