मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित
काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
दुर्गा प्रसाइलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।
जनयुद्ध शब्दमा प्रतिबन्ध लोकतन्त्रको उपहास : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले प्रतिबन्ध लोकतन्त्रको उपहास भएको बताउनुभएको छ । सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न दिएको अन्तरिम आदेशप्रति लक्षित गर्दै शर्माले जनयुद्ध शब्दमा प्रतिबन्ध लगाउनु लोकतन्त्रको उपहास भएको बताउनुभएको हो । उपमहासचिव शर्माले सामाजिक संजालमा लेख्नुभएको छ -'तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु। तर युगको माग , युवाको दिमाग र प्रविधिको विकाससंगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार ए आई मा सवार हुनेछौं। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौं।' प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासले सो आदेश गरेको हो ।
आज दिउँसो काठमाडौंका यी स्थानमा विजुली काटिदैछ
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ । प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।