सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान

सयपत्रीको माग बढ्दो, ४० लाख माला खपत हुने अनुमान

काठमाडौं । काठमाडौँ, कात्तिक १३ गते । यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो । उहाँका अनुसार तिहारमा सयपत्री फूल नपुग भएमा त्यसलाई मखमली र गोदावरी लगायतको फूलबाट पूर्ति गरिनेछ । 

उहाँले भन्नुभयो, “यो वर्ष असोजमा आएको बाढीका कारण उत्पादनमा केही कमी  छ । तर मखमली नपुग भएमा सयपत्री, र सयपत्री नपुग भएमा मखली र गोदावरी फूलबाट त्यसलाई पूर्ति गरिने अवस्था छ । त्यही कारण यसपाली फूलको मूल्य केही महँगो पर्ने देखिन्छ ।”

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण यो वर्ष सयपत्री बालीमा धेरै क्षति पुर्‍याएको हुँदा आन्तरिक आपूर्तिमा कमी आएको छ । यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उहाँका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन ।

हाल सात प्रदेशका विभिन्न जिल्लाहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ ।

सयपत्री मालाको ८० रुपियाँ
एसोसिएसनका अनुसार यो वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८० रुपियाँ पुगेको छ । गत वर्ष सयपत्री मालाको मूल्य ६५ रुपियाँ थियो ।  यो वर्ष सयपत्री माला आन्तरिक उत्पादन २५ लाख भएको छ भने १५ लाख माला आयात गरिएको छ । गत वर्ष आन्तरिक उत्पादन १५ लाख ५० हजार र १९ लाख ५० हजार आयात भएको थियो ।  अघिल्लो २२ करोड ७५ लाख बराबर कारोबार भएकोमा यो तिहारसम्म ३२ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ ।

मखमली मालाको ४५ रुपियाँ
यो वर्ष मखमली मालाको औसत प्रति थोक मूल्य ४५ रुपियाँ पुगेको छ । गत वर्ष मखमली मालाको मूल्य ४३ रुपियाँ रहेको थियो । मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार भएको छ भने एक लाख ५० हजार  निर्यात हुने अवस्थामा छ ।
गत वर्ष मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार रहेकोमा एक लाख माला निर्यात भएको थियो । यसैगरी, गत वर्ष एक करोड ८१ लाख कारोबार भएकोमा यो वर्ष दुई करोड १३ लाख बराबरमा कारोबार हुने देखिएको छ । 

गोदावरी मालाको एक हजार 
गत वर्ष जस्तै यो वर्ष गोदावरी मालाको प्रति थोक मूल्य एक हजार रुपियाँ छ । गत वर्ष र यो वर्ष गोदावरी मालाको माग उस्तै छ अर्थात् २० हजार रहेको छ । करिब दुई करोड बराबरको कारोबार हुने पूर्वानुमान गरिएको छ ।

मिक्स माला तीन सय ५० रुपियाँ
यो वर्ष मिक्स मालाको मूल्य तीन सय ५० रुपियाँ छ । गत वर्ष यो मालाको मूल्य तीनसय रुपियाँ रहेको थियो । गत वर्षजस्तै यो वर्ष पनि मिक्स मालाको माग ३० हजार छ । गत वर्ष ९० लाख बराबरको कारोबार भएकोमा यो वर्ष एक करोड पाँच लाख बराबरको कारोबार हुने बताइएको छ ।

के थियो प्रचण्ड सरकारले २ अर्ब विनियोजन गरेको त्रिभुज परियोजना, जसमाथि प्रतिशोध साँध्यो ओली सरकारले ?

नेपालको परनिर्भर आर्थिक विकासको मोडेललाई आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ लैजान यो परियोजना अघि सारिएको थियो । आर्थिक विकासको नयाँ चरणमा देशलाई नलगी उत्पादन र रोजगारीमा वृद्धि नहुने निश्कर्षसहित प्रचण्ड सरकारले अन्य कैयन आयोजनाका साथै यो परियोजनालाई पनि विशेष प्राथमिकताका साथ अघि बढाएको थियो । यो नेपालको समावेशी र क्षेत्रीय सन्तुलित विकासको खोजीमा एक महत्वपूर्ण प्रयासका रूपमा गण्डकी आर्थिक त्रिभुज परियोजना थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’**ले २०८१ जेठ १५  मा संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त परियोजनाका लागि रु २ अर्ब बजेट विनियोजन भएको घोषणा गरेका थिए । भरतपुर, पोखरा र बुटवललाई तीन कोणमा राखी औद्योगिक इकोसिस्टम निर्माण गर्ने यो परियोजना नेपालको आर्थिक इतिहासमा दीर्घकालीन सोचमा आधारित नमुना योजना मानिएको थियो। परियोजनाको स्वरूप र उद्देश्य गण्डकी आर्थिक त्रिभुज परियोजनाको मूल उद्देश्य भनेको सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा औद्योगिक पुनरुत्थान, गुणस्तरीय रोजगारी सृजना, र क्षेत्रीय आर्थिक केन्द्रहरूको स्थापना गर्नु थियो। योजना अनुसार: नारायणगढ–बुटवल खण्ड: निर्माण सामग्री र हेभी उद्योगको केन्द्र मुग्लिन–पोखरा खण्ड: कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र पोखरा–बुटवल खण्ड: उपभोग्य वस्तु, लत्ताकपडा, जुत्ता, विद्युतीय उपकरण लगायतका उद्योगको केन्द्र साथै, परियोजनाले भरतपुरमा विशेषीकृत स्वास्थ्य सेवा, जलयात्रा र पर्यापर्यटन, पोखरामा साहसिक पर्यटन र अनुसन्धानमूलक उच्च शिक्षा, र बुटवल–भैरहवामा धार्मिक पर्यटन, सूचना प्रविधि तथा डाटा सेन्टर विकास गर्ने परिकल्पना गरेको थियो। प्रारम्भिक उत्साह र समर्थन यो योजना घोषणा भएपछि निजी क्षेत्र, प्रदेश सरकार र विकास चासो राख्ने वर्गहरूबाट सकारात्मक प्रतिक्रिया आएको थियो। पूर्वसचिव रामेश्वर खनालका अनुसार, "यदि गम्भीरतापूर्वक कार्यान्वयन गरियो भने यसले निजी लगानीको आकर्षण बढाउने थियो।" योजना केवल एक पूर्वाधार कार्यक्रम नभई समावेशी औद्योगिक रणनीतिका रूपमा हेरिएको थियो, जसले केन्द्रिकृत राजधानी-निर्भर अर्थतन्त्रलाई बहुकेन्द्रित विकासमा रुपान्तरण गर्ने सम्भावना राख्थ्यो। राजनीतिक परिवर्तन र परियोजनाको निष्क्रियता तर, राजनीतिक स्थायीत्वको अभावले योजनालाई ठोस मार्गमा अगाडि बढ्न दिएन। प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएसँगै ओली नेतृत्वको सरकार सत्तामा आएपछि यो महत्वाकांक्षी परियोजनालाई प्राथमिकता दिइएन। आर्थिक वर्ष २०८२/८३ को बजेटमा गण्डकी आर्थिक त्रिभुज परियोजना समावेश गरिएन। फागुन २८, २०८१ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि बजेट समीक्षामार्फत परियोजना पूर्ण रूपमा बजेटबाट हटाए। सरकारले औपचारिक रूपमा यसका पछाडि योजना अपरिपक्व, अवधारणापत्रको अभाव, कार्यविधिको अस्पष्टता र तत्काल कार्यान्वयन असम्भव भएको तर्क दियो। तर यसको महत्वका आधारमा थप अध्ययन गर्ने या अवधारणा अघि सार्ने प्रतिपक्ष दल तथा तत्कालिन अर्थमन्त्री र योजना आयोगसँग परामर्श गर्न सरकारले चाहेन । सरकार पूर्वाग्रही भएर यसका लागि विनियोजित रु १ अर्ब ९५ करोड रकम समेत अन्य शीर्षकमा सारियो। यद्यपि संघीय तहमा परियोजना रोकिए पनि, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूले संयुक्त रूपमा गण्डकी आर्थिक त्रिभुजलाई पुनः प्राथमिकतामा ल्याउने प्रतिबद्धता जनाएका छन्। प्रदेश तहबाट यस्तो चासोले देखाउँछ कि योजना केवल संघीय सपना नभई क्षेत्रीय विकास आकांक्षासँग पनि गाँसिएको छ। तर ओली सरकारले प्रतिशोधको साँध्न पुग्दा यो परियोजना तुहिन पुग्यो । गण्डकी आर्थिक त्रिभुज परियोजना नेपालमा दिगो, समावेशी र औद्योगिक विकासको आधारशिला राख्न सक्ने क्षमता बोकेको योजना थियो। तर, राजनीतिक अस्थिरता, नीति निरन्तरताको अभाव र कार्यान्वयन क्षमताको कमजोरीका कारण यो योजना अहिले निष्क्रिय अवस्थामा पुगेको छ। यथासमय निर्णय नभएर आर्थिक अवसर गुमाउने प्रवृत्तिले नेपालको विकास नीतिलाई गम्भीर चुनौती दिएको छ। यस्ता दीर्घकालीन रणनीतिहरूलाई सत्ताको परिवर्तनभन्दा माथि राख्ने, राष्ट्रिय सहमतिको परियोजनाको रूपमा अघि बढाउने आवश्यकता अब झनै देखिएको छ। यो केवल विकासको कुरा होइन—यो राष्ट्रको दीर्घकालीन सोच, नीति अनुशासन र प्रतिबद्धताको परीक्षण पनि हो।  

माओवादी र एमाले बैठकबारे प्रचण्डको टिप्पणीः लोकतान्त्रिक अभ्यास र तानाशाही प्रवृत्तिको राम्रो उजागर भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै समयमा चलेका पार्टी र एमाले बैठकबारे तुलना गर्नुभएको छ । प्रस्तुत छ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठक समापनमा माओवादी केन्द्र र एमालेका एकै दिन सुरु भएर एकै दिन सकिएका दुई बैठकप्रति गर्नुभएको तुलनात्मक टिप्पणीः बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु गर्यौं र त्यही दिनदेखि अर्को एउटा पार्टी एमालेले बैठकको सुरुवात गर्यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरुले पक्कै पनि तुलना गरेर हेरेकै होलान् । यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् ।  म के मात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्तावेज तयार पारेका छौं । यसमा हाम्रो समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा यसको औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेका छौं भने अर्को पार्टीको सम्पूर्ण ध्यान गालीगौजमा, झुठा र भ्रामक प्रचारमा, मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखियो । मलाई लाग्छ यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको स्थिति छ । माओवादीले सरकारमा रहँदा या सरकारबाहिर रहँदा पनि विगतका अनुभवका समीक्षा र आत्मसमीक्षासहित देशको भावना, यसको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको छ भने अर्को पार्टीे भ्रष्टाचार, बेथिति र विकृतिलाई प्रोत्साहन गर्ने ढंगले आएको छ भन्ने कुरा प्रष्ट देखिएको छ ।  एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रुपमा वुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरि नै राखेको छ । एउटा पार्टीको बैठकको पृष्ठभूमि हेर्नुभयो भने नेपाली जनताले पनि यो चाहि अलि नमिल्दो भयो, एउटा त्यस्तो व्यवसायी, जसको बारेमा अदालतमा मुद्दा दर्ता छ, त्यो पनि जग्गा कसको हो भन्ने नटुंगिदै पार्टीको ओज र गरिमालाई ख्याल नगरी दान लिन हुँदैन्थ्यो भन्ने दुई जना महिला नेताहरुले आलोचना गरेकै भरमा अनुशासनको डण्डा चलाएर कारवाही गर्ने र झण्डै ४५ वर्ष पार्टीमा योगदान गरेका नेतालाई निष्काशन गर्ने विधिद्वारा नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा आफ्नो प्रभुत्वद्वारा व्यवस्थापन गर्ने कोशिस गरियो भने हाम्रो पार्टीमा मतहरुलाई सम्मान गर्ने, आएका मतहरुलाई देशैभरि परामर्शमा लैजाने, खुलस्त राख्ने वातावरण बनाउने, सहमति र समझदारी बनाउने कोशिस गरियो ।  यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डल गर्ने दुई विश्व दृष्टिकोण देखिए । मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमान्दार, प्रगतिशील र बामपंथी नेता कार्यकर्ताहरुले हिसाबल गर्नुभएकै होला । तपाइँ हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौं र गर्छौं भने अरु वुर्जुवा पार्टीहरुले र खासगरी संशोधनवादीहरुले कसरी हयाण्डल गरे र गर्दारहेछ भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ ।  यी दुई बैठकले राम्रो स्कुलिङ, खासगरी एमालेभित्रका इमान्दार नेता कार्यकर्तालाई पनि राम्रो शिक्षा दिन्छ । यसले बाम ध्रुवीकरण र बामपंथी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ यसले राम्रोसँग देखाएको छ । यो विषय एउटा कोठाभित्रको बैठकको अभ्यास मात्र नभएर कुन धारको प्रवृत्ति के भन्ने प्रष्ट गर्दछ । एउटाले यो देशका मजदूर, किसान, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारु, महिला सबैतिर फर्केर उनीहरुको हक अधिकारका लागि संघर्ष गर्ने प्रतिज्ञा गरेको छ भने अर्कोले तिनका अधिकार खोस्नका लागि तथाकथित् संविधान संविधान संशोधनमार्फत त्यसलाई कमजोर पार्ने कोशिस गरेको छ ।  एउटाले हिजो हामीले प्रस्तुत गरेका संघीयता कार्यान्वयनका लागि आवश्यक शिक्षा, निजामति लगायतका विधेयक पारित गर्न जोड लगाउने निर्णय गरेको छ भने अर्कोतले संघीयता कमजोर पार्ने प्रयास गरेको छ । समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी वुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको छ भने अर्कोतिर हाम्रो पार्टी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको छ । यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्टरुपमा देखा पर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्तावेज प्रभावकारीरुपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबीचको भेद स्पष्ट रुपमा देखा पर्दै जाने छ ।   

यी हुन् एनपीएलमा दुई छोरालाई विजेता र उपविजेता बनाउने आमाबुवा

वीरगञ्ज । वीरगञ्ज (पर्सा),  पुस ७ गते । वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक–फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिनुभएको थियो ।  त्यस्तै खालको फरक दृश्य सङ्घीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उहाँहरुको बुबा–आमा पनि फरक–फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै हुुनुहुन्थ्यो । बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक हुनुहुन्थ्यो भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक हुनुहुन्थ्यो ।  बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाउनुभयो । “एउटै घरका दुई छोरा फरक–फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उहाँले भन्नुभयो, “एनपिएलमा दुवै छोरा फरकफरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।” शनिबार बेलुकापख आरिफ र आसिफको घरपुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिनुहुन्थ्यो । “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भन्नुभयो, “दुवै छोराहरु फरक–फरक टिमबाट खेल्ने भएपछि श्रीमान्ले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।” सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शङ्का नै थिएन । उहाँ सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाउनुभयो । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कमब्याक गर्दै उपाधि जित्यो”, उहाँले भन्नुभयो, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।”  सुदूरपश्चिमले  निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो ।  शेख परिवारमा आमा र बुबा फरक–फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताउनुभयो । “आमा–बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरु बराबर भएकाले दुवैको फ्यान थिएँ”, उहाँले दाजुहरुको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताउनुभयो ।  बुबा मोहम्मद छोराहरु आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै सङ्घर्ष गरेको स्मरण गर्नुहुन्छ । “छोराहरुको जहाँजहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थें”, मोहम्मदले भन्नुभयो, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थें ।” आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रुपमा परिचित हुनुहुन्छ । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आउनुभएको छ । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रुपमा परिचित हुनुहुन्छ उहाँ । नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रुपमा चिनिने गर्नुहुन्छ । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्नुहुन्छ । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सक्नुभएन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट हुनुभयो । सृदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो ।   आरिफका सहोदर भाइ हुनुहुन्छ आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रुपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती व्याट्सम्यानका रुपमा क्रिकेट मैदानमा छिर्नुभएको थियो । आसिफले फाइनल खेलमा  १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट शुरुआत गर्नुभएको थियो । विश्वकप जितेको हेर्ने बुबाको धोको मोहम्मदले आफ्ना छोराहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गर्नुुभएको थियो । “मेरो प्रशस्त धनसम्पत्ति भएर छोराहरुलाई खेलाडी बनाएको होइन”, उहाँले भन्नुभयो, “असल संस्कार र शिक्षादिक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उहाँलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ ।  आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउनहुन्छ । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उहाँले भन्यो, “त्यसो भएको खण्डमा नयाँ–नयाँ खेलाडीहरु खेलप्रति आकर्षित हुन सक्थे ।”

डिग्रे मेलामा एक लाखले गरे दर्शन

रुकुमपश्चिम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सकिएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशी देखि सुरु भएको मेला शुक्रबार सकिएको हो ।  मुसिकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे मन्दिर परिसरमा यो वर्ष एकादशी देखि शुक्रबारसम्म  १ लाख  हाराहारीमा दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।   मन्दिरमा पूजापाठ गर्ने देखि आज अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्तिहरू डिग्रे पुगेको अनुमान समितिको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिम सहित छिमेकी जिल्लाहरू रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङ लगायतका छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको समितिले जनाएको छ ।  डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्न मिल्छ । त्यस्तै बोकाको बलि समेत चढाउन मिल्छ । तर वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशी देखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । तर यय पटक भने तिथि घटबढका कारण ४ दिन विशेष मेला लागेको हो  । मेलामा पूजापाठ, दर्शन तथा बलि चढाउने गरिन्छ ।  मन्दिर व्यवस्थापन समितिका अनुसार एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शन सहित बलि चढाउन मिल्छ । एकादशी देखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गर्दछ । लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिएको छ । हरेक वर्ष मेलाको अन्तिम दिन सगाल नाच देखाउँने गरिन्छ । मेला सकिएपनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर भने अहिलेसम्म समितिले जानकारी गराएको छैन । विवरण तयारीको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ । 

लोकप्रिय