दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् ।

बुधबारदेखि सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् । 

जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्, “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरूपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।”

पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्त्वपूर्ण छ, उहाँहरूले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ ।”

उनले जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्ने बताइन्  । रासस

एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्।  गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो।  बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।  यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

बागमतीसहित यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने जनाएको छ। देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

लोकप्रिय