मिडियाले सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : मन्त्री शर्मा

तानसेन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिएकी छिन्। नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा शनिबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा उनले समाजमा भएका सकारात्मक पक्षलाई उजागर गर्दै जनतामा आशाको सञ्चार गर्न आग्रह गरिन्।
जनताको पक्षमा काम हुन्छ, गर्न सकिन्छ भन्ने आशाको सञ्चार गर्ने गरी सरकारले सुशासन, न्याय र समृद्धिको कामलाई अगाडि बढाएको मन्त्री शर्माले बताइन्। वर्तमान सरकारले केही देखिने गरी काम गरिरहेको दाबी गर्दै उनले सत्तामा बसेका दिनसम्म राम्रो गर्नुपर्छ भावनासहित आफू सक्रिय रहेको बताइन्।
संविधान, व्यवस्था र शासकीय स्वरूपका कारण सत्तासमीकरण परिवर्तन भए पनि त्यसले राम्रो काम गर्नका लागि कुनै असर नगर्ने उनको भनाई थियो । उनले भनिन्, ‘‘जतिदिन सत्ता र पदमा बसिन्छ, त्यतिदिन जनताको पक्षमा काम गर्नुपर्छ भन्ने भावनाले क्रियाशील हुने हो ।’’ शासकीय स्वरूप र संविधानले मार्ग निर्देशन गरेअनुसार अहिलेको व्यवस्था अनुसार जनता चाहना अनुसार काम गर्नुपर्नेमा सरकार दृढ रहेको मन्त्री शर्माको भनाइ छ ।
सरकार कति दिन टिक्छ भनेर आफूले अहिले नै भन्न नसक्ने अवस्था रहेको उनले उल्लेख गरिन। लामो समयसम्म सहकार्य गर्ने गरी पाँच दलका बिचमा सहमति भएको र सोही अनुसार सरकारका साझा कार्यक्रम बनाएर सरकार अघि बढेको मन्त्री शर्माले जानकारी दिइन् ।
सार्वजनिक पदमा बसेका मानिसको सम्पत्ति छानबिन गर्न सबैको सहमति भयो भने सरकारले त्यस मुद्दालाई अघि बढाउन कुनै अप्ठ्यारो नमान्ने शर्माले बताइन्। कहिले केही दलका नेता र सांसदमा पनि यो विषयको मुद्दा उठाएको बताउँदै उनले सम्पत्ति छानबिन गर्न आफू व्यक्तिगत रूपमा सकारात्मक रहेको मन्त्री शर्माले धारणा व्यक्त गरिन्।
साइबर सुरक्षा पोसिली बनेर कानुन बनाई कार्यान्वयनको चरणमा रहेको उनले बताइन्। उनले पछिल्लो समय विकास भएको सूचना र प्रविधिलाई समेटेर नयाँ कानुन बनाउने कामको थालनी भएको बताइन्।
अहिले मन्त्रालय र मातहतका निकायबाट हुन सक्ने पत्रकार परिचयपत्र निजीकरण, रेडियोको नवीकरणलगायतका क्षेत्रमा काम भएको जानकारी दिइन्। सञ्चार क्षेत्रलाई बलियो बनाउन नीतिगत रूपमै पुराना ऐन, कानुनको संशोधन गरेर अघि बढ्ने काम भइरहेको उनको भनाइ छ । मन्त्रालयबाट सबै प्रदेशमा सञ्चार ग्राम बनाउने योजनाअनुसार काम अघि बढेको, महिला पत्रकारको क्षमता अभिवृद्धिको काम भइरहेको मन्त्री शर्माको भनाइ छ ।
अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही
काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्। यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।
यस्तो छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने
काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता जेठ २४ गते काठमाडौंको नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा हुने भएको छ। प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शनिबार आयोजित पत्रकार सम्मेलनमा यसअघि तीन संस्करण साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेपछि पहिलोपटक शारीरिक सुगठन प्रतियोगिता गर्न लागिएको जानकारी दिइन्। राष्ट्रिय तथा प्रदेश खेलकुद परिषद्को सहयोगमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ वटा तौल समूह (६०, ६५, ७०, ७५, ७५ केजीभन्दा माथि) र महिलातर्फ खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। देशभरका जिल्लाबाट करिब १०० जना खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्न पाउने छन्। पुरुष ओभरअल विजेताले “प्रथम मिस्टर प्रज्ञा स्मृति” उपाधिसहित रू। २।५ लाख प्राप्त गर्नेछ भने महिलातर्फ प्रथम हुनेले रू.१ लाख पाउनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार र अनुमानित खर्च ३५ लाख ३५ हजार रहेको आयोजकले जनाएको छ। स्व. प्रकाश र स्व. ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, खेलकुद र युवानेतृत्व विकासजस्ता क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।