यो वर्ष बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०८, ५३ जना बेपत्ता
काठमाडौं । मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा अहिलेसम्म २०८ जनाको मृत्यु भएको छ।
बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय आठजनाको मृत्यु भएको हो।
साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेस १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चििम प्रदेशमा एक सय एकजना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस एक, बागमतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ५३ जना बेपत्ता भएका छन्।
बाढीको कारण जम्मा चार सय आठ घर डुबानमा परेका छन्। तीन सय ६४ वटा घर, एक सय २६ गोठ, ५२ पुल, छवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। नौ सय ७२ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्घटनाबाट छ हजार ४९ घरपरिवार विस्थापित भएका छन्।
पूर्वमन्त्री शर्मालाई पितृशोक
काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उहाँको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उहाँको अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिनुभयो । शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ। शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।
रुकुमपश्चिममा एक मृत फेला
रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एक पुरुष मृत फेला परेका छन् । वडाको बलचौरका अन्दाजी ६५ वर्षीय भूपाल ओलीको शव वडाकै काउलेखोला छिनडाँडीमा फेला परेको वडाध्यक्ष शशीराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै खुट्टा पुरिएको र निर्वस्त्र अवस्थामा खोला किनारमा शव फेला परेको हो । उनका आफन्त कोही नभएको र हिजो परेको वर्षातपछि आएको भेलले बगाएको अनुमान गरिएको छ। बुढाको शव मङ्गलवार बिहान स्थानीयले फेला पारेका हुन । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ओली सोमबार बेलुकी घरबाट निस्किएको बताइएको छ । सोमबार ठुलो पानी परेको र खोलामा आएको बाढीले ओलीलाई बगाएको आशङ्का गरिएको छ । तर घटनाको बारेमा थप विवरण भने आइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
बालेन समर्थकलाई धमाधम पक्राउ गर्दै प्रहरी
काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।