कांग्रेस महासमिति बैठकको तयारी पूरा

चार वटा हलमा प्रतिवेदनहरू माथि छुट्टाछुट्टै छलफल हुने

कांग्रेस महासमिति बैठकको तयारी पूरा

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसले महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताएको छ । कांग्रेस प्रचार—प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार गोदावरी सनराइज सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए । प्रजातन्त्र दिवसको अवसर पारेर भोलि (सोमबार) देखि कांग्रेसको महासमिति बैठक सुरु हुँदै छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नु रहेको विश्वकर्माले बताए । 

उनका अनुसार आइतबार दिउँसो १ बजे महासमितिको बैठकको उद्घाटन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । विश्वकर्माले महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुने जानकारी दिए ।

ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुनेछ ,’ विश्वकर्माले भने ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास दिलाउने उनको भनाइ छ ।

महासमितिमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७ सय ८० महासमिति सदस्यहरू जना सहभागी हुने छन् । यस्तै नेपाली जनसम्पर्क समितिबाट  ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमितिमा सहभागी गराइएको विश्वकर्माले बताए ।

संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

सातवटै प्रदेशमा वर्षाको सम्भावना,  चिसो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।

राज्य व्यवस्थासहित पाँच समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा छलफल हुनेछ । यसैगरी, सिंहदरबारमा मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समिति बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहनसक्ने छ । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा बादल लाग्ने तथा पानी पर्नसक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लोकप्रिय