प्रतिक्रान्तिकारीहरुलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताउनुभएको छ ।
पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नहुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताउनुभयो ।
अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उहाँले अहिले त्यही संघर्षको विन्दु सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
उहाँले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरुलाई अग्रगमनका लागि थप सचेत र संगठति गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गरी संविधानलाई अझै परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिंदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अग्रमोर्चामा युवाहरुलाई नै राखिएको र वाइसिएलले पनि देशव्यापी लाखौं युवाहरुलाई तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभयो ।
पछिल्लो पटक सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको र पार्टीले जनस्तरबाटै समाजवाद निर्माणको पहल थालेको उल्लेख गर्दै उहाँले यसले युवाहरुलाई पनि आकर्षित गर्दै लगेको र झापाबाट रौतहटसम्म अभियान पुग्दा हजारौं नयाँ युवाहरु पार्टीमा गोलबन्द भएको बताउनुभयो । उहाँले वाइसिएललाईसंघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउन निर्देशन पनि दिनुभयो ।
ओलीले लेखकलाई पनि रविजस्तै फसाउँदैछन् : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रले गृहमन्त्री रमेश लेखक फसेको आरोप लगाएका छन्। नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै साहले ओलीले रवि लामिछानेलाई जस्तै लेखकलाई पनि फसाउने खेल रचेको दाबी गरे। उनले ओली नेतृत्वको सरकारले काँखमा राखेर छुरा हान्ने शैलीमा काम गरिरहेको आरोप लगाउँदै, नेपाली कांग्रेस–एमाले गठबन्धनलाई अपवित्र र मुलुकलाई अस्थिर बनाउने गठजोड भने। साहले वर्तमान सरकारले तराई–मधेसमाथि बजेटमार्फत विभेद गर्दै नेपालगञ्जसहित पश्चिम तराईको विकासप्रति बेवास्ता गरेको आरोपसमेत लगाए। उनले ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरे।
दलित समुदायप्रति गठबन्धन सरकार असंवेदनशील : अध्यक्ष प्रचण्ड
काठमाडौं ।नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९औं वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक सन्देश जारी गर्दै दलित समुदायप्रति हालको सरकार असंवेदनशील रहेको पुष्टि भएको बताएका छन् । उनले संविधानमा समावेश दलित अधिकारहरू कार्यान्वयनमा ढिलाइ भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै वर्तमान सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटमा दलित मुद्दा उपेक्षित भएको स्पष्ट संकेत दिएको बताए। "संविधानले कल्पना गरेअनुसार दलित समुदायको समग्र अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको थियो," सन्देशमा उल्लेख छ, "तर, यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी हो।" प्रचण्डले वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थलाई स्मरण गराउँदै, यो विभेद अन्त्य गर्न सशस्त्र जनयुद्ध र जनआन्दोलन आवश्यक परेको उल्लेख गरे। उनले संविधानमा दलित समुदायका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको बताए। "जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहन्छ," प्रचण्डले भने। सन्देशको अन्त्यमा उनले राज्यसत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका दलित समुदायलाई विशेषाधिकारसहित क्षतिपूर्ति दिनुपर्ने माग पुनः दोहोर्याउँदै, आफ्नो पार्टीको प्रतिबद्धता र संघर्ष निरन्तर रहने प्रतिवद्धता जनाएका छन्। सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी समुदायप्रति उनले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन्।
माओवादीको काठमाडौं उपत्यका केन्द्रीत अभियान आजदेखि
काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौं उपत्यका केन्द्रीत अभियानको आज उद्घाटन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यान्न १ बजे चन्द्रगिरी थानकोटमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताएको थियो । काठमाडौं केन्द्रीत अभियानमा नेवा र तामाङ समूदायमा केन्द्रीत हुने वागमती प्रदेश समितिले जनाएको छ ।
स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी भनिन् -'चीन भ्रमण राम्रो भयो'
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् ।