यस्तो बन्नेछ नेपाल विश्वविद्यालय

काठमाडौं । हालसम्मको कान्छो विश्वविद्यालय बन्ने तयारीमा रहेको नेपाल विश्वविद्यालय नेपालको १४औं विश्वविद्यालयको रूपमा स्थापना हुने भएको छ। प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेपछि नेपालमा १४औं विश्वविद्यालय बन्न लागेको हो। यसअघि राष्ट्रियसभाबाट सो विश्वविद्यालयको प्रस्ताव स्वीकृत भएको थियो।
विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार नेपालमा त्रिभुवन, नेपाल संस्कृत, काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी, कृषि तथा वन, मध्यपश्चिम, सुदूरपश्चिम, नेपाल खुला विश्वविद्यालय रहेका छन् । त्यस्तै, जनकपुरको राजर्षीजनक, योगमाया आयुर्वेदिक र मदनभण्डारी विद्यालय तथा प्रविधि विश्वविद्यालय रहेका छन् । १४ विश्वविद्यालयमध्ये कृषि तथा वन, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय एकैसाथ खुलेका हुन । ती विश्वविद्यालयले त्रिविको सम्पत्ति, क्याम्पस र शिक्षकसमेत व्यवस्थापन भएर सञ्चालन भइरहेका छन् ।
तत्कालीन सरकारको तर्फबाट शिक्षामन्त्री देबेन्द्र पौडेलले २०७९ मंसिर २० गते दर्ता गरेको उक्त विधेयक यही असार १८ गते राष्ट्रियसभाबाट पारित भएको थियो । गैरसरकारी क्षेत्रको विश्वविद्यालयका रूपमा स्थापना गर्न लागिएको उक्त विश्वविद्यालयमा प्रधानमन्त्री तथा शिक्षा मन्त्री पदाधिकारी नहुने गरी प्राज्ञिक व्यक्ति कुलपति रहने छन् । नेपालका खुलाबाहेक सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति हुने व्यवस्था छ । खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ ।
विधेयकमा विविद्यालयमा संरक्षक, प्राज्ञिक र कार्यकारी परिषद् तथा अनुसन्धान केन्द्र, स्कुल र कलेजलगायत संरचनात्मक सङ्गठन तथा कुलपति, उपकुलपति, राजिस्ट्रार, डीन, निर्देशक र प्रिन्सिपल पदाधिकारी हुनेछन् ।
संरक्षक परिषद्मा कुलपति अध्यक्ष, उपकुलपति, विश्वविद्यालय रहेको प्रदेशको प्रदेश सरकारले मनोनीत गरेको शिक्षाविद् एक जना, विश्वविद्यालय रहेको स्थानीय तहको प्रमुख, शिक्षाविद्मध्येबाट एकजना र नेपालमा विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान पुर्याएका प्राज्ञिक व्यक्तिमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजना सदस्य रहने व्यवस्था विधेयकमा छ।
यस्तै उद्योगपति, रोजगारदाता तथा किसानमध्येबाट दुईजना, विश्वविद्यालयलाई तोकिएको भन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने दाताहरू र सार्वजनिक प्रशासन, व्यवस्थापन, प्राज्ञिक अनुसन्धानका क्षेत्रमा योगदान गरेका वा नेपाल सरकारको सेवामा उच्चतहमा रही अनुभव प्राप्त व्यक्तिमध्येबाट एकजना सदस्य रहनेछन् । राजिस्ट्रार सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
संरक्षक परिषद्मा रहेका शिक्षाविद्, नेपालमा विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान पु¥याएका प्राज्ञिक व्यक्ति तथा सार्वजनिक प्रशासन, व्यवस्थापन, प्राज्ञिक अनुसन्धानका क्षेत्रमा योगदान गरेका वा नेपाल सरकारको सेवामा उच्च तहमा रही अनुभव प्राप्त व्यक्तिमध्येबाट कुलपति छनोट गर्ने व्यवस्था गरिएको छ ।
कुलपति विश्वविद्यालयका प्रमुख हुने र उहाँले विश्वविद्यालयको दीक्षान्त समारोहको अध्यक्षता गर्ने व्यवस्था विधेयकमा गरिएको छ । कुलपतिको पदावधि चार वर्षको हुनेछ । उपकुलपति हुन कम्तीमा विद्यावारिधि गरेको हुनुपर्नेछ । प्राज्ञिक क्षेत्रमा १५ वर्ष काम गरेको, ३५ वर्ष पूरा भएको जोकोहीलाई उपकुलपति बनाउन सक्ने प्रस्ताव छ ।
काठमाडौं उपत्यकाबाहिर सरकारले तोकेको स्थानमा विश्वविद्यालय र त्यसको केन्द्रीय कार्यालय रहने, विश्वविद्यालय पूर्वाधार विकास समितिले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा नवलपुरमा खोल्न जग्गा प्राप्तिको प्रक्रियाअघि बढाएको थियो ।
अन्तर विधात्मक अवधारणामा आधारित बहुविषयगत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत् दक्ष, सिर्जनशील र प्रतिष्पर्धी मानव स्रोतको उत्पादन गर्न,नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तन गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याउन विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।
विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्ने जनाएको छ । स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुनेछ । यस संकायअन्तर्गत अर्थशास्त्र तथा वित्तीय नीति, दिगो नीति, भौतिक पूर्वाधार तथा योजना नीति, पूर्वाधार नीति, सार्वजनिक नीतिलगायत विषयको कक्षा सञ्चालनको तयारी भएको पूर्वाधार विकास समितिले बताएको छ ।
विश्वविद्यालय पूर्वाधार विकास समिति सदस्य सूर्यराज आचार्यले विश्वमा नाम चलेका विश्वविद्यालयका प्राध्यापक ल्याइने दाबी गरेका छन् । उनका अनुसार जापान, दक्षिण कोरिया, भारत, चीनलगायत देशका नाम चलेका विश्वविद्यालयमा अध्यापन गराएका शिक्षकलाई ल्याइनेछ ।
विद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयको मापदण्ड कायम गर्न सुरुमा विदेशी शिक्षक ल्याउन लागेको बताए । स्नातक तहको कक्षा सञ्चालन गर्दा नेपाली शिक्षक पनि राखिनेछ । शिक्षक र विद्यार्थीका लागि आवासीय सुविधा रहनेछ । स्नातकोत्तर तहमा ‘फुल टाइम’ कक्षा सञ्चालन हुनेछ ।
स्नातकोत्तर तहको कक्षा सञ्चालन भइसकेपछि स्नातक तहमा मानविकी, विज्ञान, इन्जिनियरिङलगायत संकायको पठनपाठन सुरु गरिने विश्वविद्यालय व्यवस्थापन पक्षले जनाएको छ ।
विश्वविद्यालय सञ्चालनका लागि गैँडाकोटमा जग्गा व्यवस्थापन भइसकेको छ । सुरुमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न पूर्वाधार निर्माण गरिनेछ । गैँडाकोटमा सय बिघा जग्गा खरिद गरेर त्यसमा संरचना बनाउने तयारी गरिएको छ । यसको केन्द्रीय कार्यालय पनि गैँडाकोटमै रहनेछ । अन्य शाखा कार्यालय देशभर रहने जनाइएको छ । तर, यस विश्वविद्यालयले अन्य क्याम्पसलाई सम्बन्धन दिनेछैन । यसका आंगिक क्याम्पस भने हुनेछन् । यसमा अध्ययन गर्नेका लागि छात्रावासको व्यवस्था गरिने बताइएको छ ।
राजावादीविरुद्ध सशक्त प्रतिकार गर्न अध्यक्षा प्रचण्डको निर्देशन
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको गतिविधिविरुद्ध सशक्त र संगठित प्रतिकार गर्न पार्टीका नेता, कार्यकर्ता तथा युवाहरूलाई निर्देशन दिएका छन्। काठमाडौं उपत्यकामा सुरु गरिएको नेवा–तामसालिङ जागरण अभियानको थानकोटमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले राजावादी प्रवृत्तिले देशमा पुनः अस्थिरता सिर्जना गर्न खोजिरहेको भन्दै त्यसविरुद्ध जनस्तरमा व्यापक प्रतिवाद गर्नुपर्ने बताए। उनले भने, “हामी अहिले शान्तिपूर्ण सङ्घर्षमा छौं। तर राजावादीहरूको वितण्डा जसरी देखिएको छ, त्यसको जवाफ दिनुपर्छ। यदि उनीहरूले हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुपर्छ।” उनले गाउँ-गाउँ, टोल-टोलमा युवाहरूलाई सक्रिय भई राजावादी प्रवृत्तिको पर्दाफास गर्न अपिल गरे। प्रचण्डले भिजिट भिसा प्रकरणप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार, यस प्रकरणमा देखिएको गम्भीरता हेर्दा छानबिन अपरिहार्य छ र त्यसलाई निष्कर्षमा पुर्याउन माओवादी केन्द्र प्रतिपक्षसँग समन्वयमा लागिपरेको छ। “सरकारले जबरजस्ती अघि बढ्न खोजेपछि सदन स्थगित भयो,” उनले भने, “तर हाम्रो लडाइँ अझै जारी छ।” कार्यक्रममा उनले पार्टीभित्रका नेताहरुलाई पनि जनमुखी शैली अपनाउन सुझाव दिए। भाषण धेरै गरेर जनतालाई वाक्क बनाउने होइन, छोटो र प्रभावकारी कार्यक्रम मार्फत जनसंवादलाई प्राथमिकता दिनुपर्ने उनले बताए। “मलाई लाग्यो आज भाषण अलि धेरै भयो। भाषण गरेर होइन, सांस्कृतिक कार्यक्रम, जनसंवाद, र प्रत्यक्ष सम्पर्कबाट मात्रै यस्तो अभियान सफल हुन्छ,” उनले भने। माओवादी केन्द्रले यसअघि हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरिसकेपछि काठमाडौं उपत्यकामा विशेषतः नेवार र तामाङ समुदायलाई लक्षित गरेर यो नयाँ अभियान सुरु गरेको हो। यस अभियानमार्फत समुदायमा जागरण, संगठन विस्तार, र पार्टी विचारको पुनः स्थापनामा ध्यान दिइने पार्टीले जनाएको छ। कार्यक्रममा प्रचण्डले जनताको कुरा बढी सुन्ने र आफ्ना कुरा कम बोल्ने बानी बसाल्न नेताहरूलाई आग्रह गरे। उनका अनुसार, जनताको सहभागिताबिना कुनै पनि अभियान सफल हुन सक्दैन। पार्टीले सञ्चालन गर्ने सबै कार्यक्रमहरू जनअपेक्षा र वास्तविकतालाई सम्बोधन गर्ने खालका हुनुपर्ने उनले उल्लेख गरे।
विपक्षी दलहरूको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा
काठमाडौं । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्दै छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । बैठकले कसरी सदनमा प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने रणनीति बनाउनेछ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद् बैठक बस्नुभन्दा अगाडि विपक्षीहरूको बैठक बस्ने जानकारी दिए । संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने विपक्षी दलको माग छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि उनलाई राजीनामाको दबाब छ ।
माओवादीले किन बोलायो संसदीय दलको बैठक, यस्तो छ कारण
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । माओवादी केन्द्रले सांसदहरूलाई सरकारले ल्याएको बजेटबारे दिशानिर्देश गर्न र अवरुद्ध संसदको कामकाजबारे छलफल गर्न बैठक बोलाएको हो। पार्टीको अर्थ विभागमा रहेका विज्ञहरूसँग सांसदहरूले छलफल गर्न लागेका हुन् । बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ। साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” उहाँले भन्नुभयो, “यसपटक जित्न विशेष प्रयास गर्यौं, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौं।” अध्यक्ष प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो।” उहाँले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमिक्षा गर्दै देशव्यापी जनता सङ्ग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। ती अभियान अन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। अध्यक्ष प्रचण्डले देशव्यापी अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद भइरहेको बताउँदै भन्नुभयो, “हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद तथा बेपत्ता परिवारसँग आत्मीय सम्बन्ध बनायौं। हामी जनतासँग एकाकार भएर अगाडि बढेका छौं। जनतामा माओवादीप्रति विश्वास र भरोसा जाग्दै गएको छ।” उहाँले तराईमा झन्डै करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद भएको छ र जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारीको बोध गराएको बताउनुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो। उहाँले नेवार समुदायलाई प्राथमिकता दिनका लागि पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियानलाई जेठ २१ पछि सारिएको समेत बताउनुभयो। नेवार संस्कृतिमा समाजवादको भ्रूण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजवादी संस्कृतिको भ्रूण नेवार समुदायमा रहेको छ। समाजवादको खोजी नेपाली संस्कृति, जाति, र परम्परामै गर्नुपर्छ।” अध्यक्ष प्रचण्डले हुलाकी अभियानमा तराईमा ८–९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिनुभयो। उहाँले मध्यपहाडी लोकमार्ग अभियान सकिएपछि थप तीन वटा पार्टीसँग निषर्त एकता गरिने जानकारी समेत दिनुभयो। “अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारमा जाँदा पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवा रोग हो। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं। हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं।” अध्यक्ष प्रचण्डले पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्नुभयो। उहाँले जनतामाझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा माओवादीलाई अगाडि बढाउने प्रतिबद्धता पनि दोहोर्याउनुभयो।