समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।”
विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।
गणतन्त्र जनताको बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको छ : अध्यक्ष प्रचण्ड
विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताउनुभएको छ । पार्टीको १ नम्बर प्रदेश समितिको प्रथम प्रदेश परिषद् बैठकलाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनयुद्धको उत्कर्षको रुपमा २०६२ सालमा भएको चुनबाङ बैठकमा पार्टीले गरेको विश्लेषण अनुसार नै अहिले यो संघर्ष सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । उतिबेला अब नेपाल गणतन्त्रमा जान्छ तर वुर्जुवाहरुले आफूले चाहेजस्तो बनाउन प्रयास गर्ने छन् र हामी जनताको गणतन्त्र बनाउन प्रयास गर्ने छौं भन्ने विश्लेषण दस्तावेजमै आँकलन गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अहिले मुलुक त्यही ठाउँमा आइपुगेको बताउनुभयो । काग्रेस र एमाले यतिबेला भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल अघि बढाउन खोजेको, विभिन्न उत्पीडित समुदायले पाएको संविधानबाट अधिकार कटौती गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले माओवादीले त्यसविरुद्ध संघर्ष गरिरहेको बताउनुभयो । विगतमा संविधान बनाउनैपर्ने बाध्यताले प्रत्यक्ष कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता जनपक्षीय एजेण्डामा सम्झौता गर्न पुगेको उल्लेख गर्दै उहाँले अब पार्टीले यी एजेण्डालाई पुनः अघि बढाउने संकल्प लिएको बताउनुभयो । दलाल, भ्रष्ट र विचौलियाको घेराबन्दी तोडेर अब सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा देशलाई गोलबन्द गर्दै उत्पीडित समुदाय र क्षेत्रले पाएका अधिकारलाई पूर्णता दिने र स्थानीय तहबाटै आत्मनिर्भर अर्थतन्त्रको जग बनाएर समाजवादको अभ्यास गर्ने पार्टी नीति रहेकाले यसमा सबै एकताबद्ध भएर अघि बढ्न पनि अध्यक्ष प्रचण्डले निर्देशन दिनुभयो । वुर्जुवाहरुको संगतका कारण आफ्नो पार्टीमा पनि केही कमीकमजोरी देखिएकाले त्यसलाई सच्याएर फेरि आफ्नै वर्ग र समुदायप्रति फर्कने पछिल्लो केन्द्रीय समिति बैठकले संकल्प लिएको उल्लेख गर्दै उहाँले यही संकल्पका आधारमा देशव्यापी जनतामा अपिल गर्दै पार्टी पुनर्निर्माण र रुपान्तरणको अभियान अघि बढाइने बताउनुभयो । फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियान र वैशाखमा सञ्चालन हुने मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम जागरण अभियानले पूरै देशलाई आफ्नो एजेण्डामा गोलबन्द गर्ने उल्लेख गर्दै उहाँले सबै नेताहरुलाई अभियानमा केन्द्रित हुन निर्देशन दिनुभयो । आफूले सरकारको नेतृत्व गर्दा गल्ती गर्दैन र गल्ती गर्दैनलाई छाड्दैन भन्ने उद्घोषणका साथ सुशासनको अभियानमा होमिएपछि जनतामा आशा पलाएको र सरकारबाट निस्केपछि त्यही अभियानलाई देशव्यापी बनाएकाले जनतामा नयाँ आशा पलाएको उल्लेख गर्दै दैनिक दिन बढिरहेको माओवादीप्रतिको आकर्षणलाई संगठनमा रुपान्तरण गरेर बलियो पार्टी निर्माणको अवसर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसरी नै अघि बढ्ने हो भने अब २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले अब पार्टी रुपान्तरणको अभियान पूर्वी नेपालबाट सुरु गरेकाले १ नम्बर प्रदेश समितिको बढी जिम्मेवारी र भूमिका आएको बताउनुभयो ।
भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौंः प्रचण्ड
झापा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको स्मरण गराउँदै उहाँले अब पार्टीले देशब्यापी अभियानको रुपमा यसलाई अघि बढाउने बताउनुभयो । ‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ’– उहाँले भन्नुभयो– ‘यो निरन्तर अघि बढ्ने छ ।’ अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताउनुभयो । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’ आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामान्तवादविरुद्ध ऐतिहासिक भूमिका निर्वाह गरेको पूर्वले अब समाजवादी क्रान्तिको अगुवाई गर्ने आफ्नो विश्वास रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । ‘पूर्व यसै पनि सामन्तवादका विरुद्ध केन्द्रविन्दु रह्यो । विरानटगरको मजदूर आन्दोलन, झापा बिद्रोहहुँदै सामन्तवादका विरुद्धको आन्दोलनमा पूर्वका जनताको राजनीतिक चेतना र संघर्ष ऐतिहासिक छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर, यहाँका नेताहरुले कता कता पूर्वलाई धोका दिने गरेको यहाँहरुले नै महसुस गरिरहनुभएको छ, जसरी हिजो सामन्तवादका विरुद्ध पूर्वले लडाई लड्यो, अब भ्रष्टाचारविरुद्धको अभियान प्रभावकारी बनाउँदै समाजवादी क्रान्तिको लडाईको नेतृत्व गर्न पनि पूर्व तयार हुनेछ भन्ने विश्वास लिएको छु ।’ अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि बढाएको र दोस्रोपटक प्रधानमन्त्री हुँदा पहिचान पक्षधर शक्तिलाई विश्वासमा लिएर संविधान कार्यान्वयन गर्ने देशलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गर्ने अभियानको नेतृत्व गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानसँगै नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत ब्यापार सम्झौता, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता र सिमा समस्या समाधानदेखि चीनसँग आठ वटा परम्परागत नाका खोल्ने र कृषि उत्पादन वृद्धिका लागि समझदारी गर्ने काम अघि बढाएको उहाँले स्पष्ट गर्नुभयो । संयुक्त राष्ट्रसंघको महासभा, खाद्य सम्मेलन र जलवायु परिवर्तन सम्मेलनमा नेपाल र नेपालीको पक्षमा दृढताका साथ मत राखेको स्मरण गराउँदै उहाँले देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि यी अभियान मन नपरेर दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट गर्नुभयो । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उहाँले स्पष्ट गर्नुभयो
बेलुन पड्कदा घाइते अर्थमन्त्री र मेयर बर्न अस्पताल
काठमाडौँ। पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किदा पोखराका मेयर धनराज आचार्य र प्रमुख अतिथि रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल घाइते हुनुभएको छ । घाइते हुनुभएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक आगो लागेपछि घाइते भएका उहाँहरुलाई प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचार आवश्यक भएपछि उनलाई आजै काठमाडौँ ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको हो। भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।
सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको छः प्रचण्ड
मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताउनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ।’ भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उहाँले स्पष्ट गर्नुयभो । उहाँले ‘यो सचेतना निकै महत्वपूर्ण छ । हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं । यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु ।’ नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको बताउनुभयो । बागमती गाउँपालिकाले खेल पूर्वाधारलाई महत्व दिएर रंगशाला निर्माण गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गरेकोमा उहाँले धन्यवाद पनि दिनुभयो । यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गर्नुभयो । जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उहाँले स्पष्ट गर्नुभयो । जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन गर्नुभयो । माओवादीले नेतृत्व गरेका पालिकाहरुले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उहाँले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीले केन्द्रले योजना अघि सारेको बताउनुभयो । त्यस्तै अध्यक्ष प्रचण्डले सहिद परिवारसँग पनि भेटघाट गर्नुभएको थियो । उहाँले आजै झापाको दमकमा हुने जनसभा तथा पार्टी प्रवेश र विराटनगरमा हुने पार्टीको प्रदेश बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।