एसईई प्रिन्सेसको ताज प्राप्ति श्रेष्ठलाई
काठमाडौं। सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं सस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी. विजयी भए।
विजेता श्रेष्ठले ल्यापटप तथा नामीकलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरिन्,फष्ट र सेकेण्डरनरअपले क्रमसः स्यामसङम मोवाइल फोन साथै दशजोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन्।
त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनीक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल र वेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भएका थिए ।
कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्याउने, आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । शिक्षक सम्मान र विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउदै उनले यस्ता कार्यक्रम आगामी दिनमा बृहत गर्दै लानुपर्ने बताए।
उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समय देखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्धारा सम्मान गरिएको थियो। नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोणबहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रवीन्द्र अधिकारी प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्यायन प्रमुख काठमाडौं मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौं भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आन्नदकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौं, प्रेम गुरुङ उप प्राध्यापक पोखरा विश्वविद्यालय सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको सस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए।
प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, व्यूटीसियन लसता शाक्य रहेका थिए।
‘चिसोबाट बच्न सावधानी अपनाउनू’
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ। शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै प्राधिकरणले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो। मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ। शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने विभागको पूर्वानुमान छ। रासस
बढ्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेको हो। आज सुन तोलामा एक लाख ५० हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढे र १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को सदस्यमा जैशीको उमेद्वारी
काठमाडौं । पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्मा खुल्ला सदस्यका लागि धर्मराज जैशीको उम्मद्वारी दर्ता गर्नु भएको छ।पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषदमा हुन लागेको चुनावमा खुल्ला सदस्यमा धर्मराज जैशीले उम्मेदवारी दर्ता गराउनुभएको हो। नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तह देखि प्राविधिक जनशक्तिको विषय विज्ञसम्मका जनशक्तिलाइ दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघिय संसदवाट पारित ऐन २०७९ साल आश्विन २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भयर ऐन र २०८१ मा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली जारी भएको थियो । यसै ऐन र नियमावली अन्तर्गत रहेर यो परिषद्को गठन भएको र नेपाल पशु चिकित्सा परिषद् दर्ता हुन योग्य जनशक्तिबाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पुर्ण जनशक्ति जस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको व्यवहारिक कार्यन्वयनका गर्नका लागि आफुले उम्मेदवारी दिएको जैशीले बताउनुभयो। ‘ऐनको परिधि भित्र रहेर प्रदेश कानुन बनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेशस्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ,’ उहाँले भन्नुभयो ,‘त्यसको व्यबहारिक कार्यान्वयन,अन्तरार्ष्ट्रिय सम्बन्ध स्थापना,विभिन्न निकाय र सरोकारवाला पेसागत संगठन सँग सुमधुर सम्बन्ध ,परिषद्को भौतिक संरचना निर्माण सगै डिजिटलाइजेसनमा योगदानका साथै दर्ता प्रक्रियामा नआएको जनशक्तिलाई दर्ता प्रक्रियामा लिएर आउने र विभिन्न जनशक्तिको अनुगमन,पाठ्यक्रम पुनर्निर्माण तथा परिमार्जन लगायत अन्य कार्य गर्नका लागि मैले उम्मेदवारी दर्ता गराएको छु।’ जैशी राजनीति शास्त्र जनप्रशासन र कानूनमा समेत उच्च शिक्षा हासिल गरेका प्रष्ट वक्ताका रुपमा चिनिएका व्यक्ति हुनुहुन्छ ।उहाँ सँग पेसागत आन्दोलन र परिषद्को ऐन र नियमावली मस्यौदा निर्माण कर्ता समेत हुनुहुन्छ उहाँको विजयले परिषद्को गरिमा राम्रो हुने विभिन्न जानकारहरु बताउँछन् । परिषद्को अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ । निर्वाचन आगामी माघ १८ गने हुने छ ।
एमालेमा फरम मत राख्ने नेताविरुद्ध कारवाहीको सन्देश के हो ?
काठमाडौं । पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ । आफू पार्टी विधिविपरीत गएको महसुस नगरेका कारण उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कीर्तिपुर–२ मैत्रीनगरमा गत असोज २५ मा पार्टी मुख्यालय भवन शिलान्यास गरेका थिए । त्यसमा रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा आलोचना गरेपछि एमालेले पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिम्सेनाले पार्टीले आफैं केन्द्रीय कार्यालय बनाउने निर्णय गरिसकेको अवस्थामा दानबाट निर्माण गर्नु गलत हुने भन्दै स्पष्टीकरण दिएका थिए । रावलले भने स्पष्टीकरण बुझाएका थिएनन् । निलम्बित स्थायी कमिटी सदस्य पाण्डेले दानबाट पार्टी कार्यालय बनाउनु गलत भएको आफ्नो धारणा कायम रहेको बताइन् । शिलान्यास भइसकेको काम अलपत्र पार्न नहुने पूर्ववत् पार्टी निर्णयलाई सम्झाएकाले कारबाही भोगेको बताइन् । कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता अभ्यास हुनुपर्ने मान्यता भए पनि पछिल्लो समय एमाले अध्यक्ष ओलीको प्राधिकारमा चल्दै आएकाले प्रश्न उठाउनेमाथि कारबाही हुने गरेको राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले बताए । ‘एमालेमा ओलीको निर्णयमाथि प्रश्न उठाउन सक्ने अवस्था छैन । प्रश्न उठायो भने कारबाही भोग्नुपर्ने अवस्था छ,’ उनले भने ।