मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको छ । २८ जेठमा कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतमा अल्पमतमा परेका थिए । २५ वैशाख २०८१ सम्म उनले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बुधबार कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।  उनीहरुले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । भेटमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायत नेताहरु प्रदेश प्रमुखकोमा पुगेका थिए । जवाफमा प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिइसकेका छन् ।  समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने संविधानको १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् । एमाले र माओवादी सांसदको प्रस्तावमा प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । यो संकल्प प्रस्ताव अनुसार पनि मुख्यमन्त्रीले २५ वैशाखसम्म विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने विपक्षी दलहरुको तर्क छ । मुख्यमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको एमालेका एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिए ।

३ वटा सवारी ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

विराटनगर, १८ फागुन । मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व –पश्चिम लोकमार्गको बेलबारी नगरपालिका १ र ३ को सिमानामा टिपर, बस र बोलेरो जीप ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका २ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोमा सवार झापाको कमल गाउँपालिका(२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । न्युरो अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ । घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएकोमा २ जनाको बाटो मै  मृत्यु भएको हो । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । टिपरको अगाडिको भागमा  क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका(७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

फोटो पत्रकार वन्त सम्मानित

इटहरी, फागुन ७ ।राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित भएका छन्। वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट नगद रु ११,१११   सहीत सम्मानित भएका हुन् । उनी राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार हुन् ।  प्रजातन्त्र दिवस तथा प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो। काठमाडौंमा रहेर व्यावसायिक फोटो पत्रकारिता तथा फोटो पत्रकारिताको प्रशिक्षकको भूमिका निर्वाह गर्दै वन्तले पत्रकारितामा फोटोको माध्यमबाट पु¥याएको कामको उच्च मूल्याङ्कन गरी कोशी प्रदेशको उत्कृष्ट अनलाइन पत्रिकाको वार्षिक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।  फोटो पत्रकार वन्तलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मानपत्र र पुरस्कार प्रदान गरेको उक्त कार्यक्रम आयोजक नयन एड्भरटाइजिङ मिडियाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । वन्त काठमाडौंमा रहेर राजनीतिलगायत विभिन्न विधामा फोटो पत्रकारिता गर्छन् । उनी गोरखा पत्रकार समाजका अध्यक्ष पनि हुन् ।

लोकप्रिय