वरदान बन्दै त्रिविको अनलाइन कक्षा
कीर्तिपुर । कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रूपमा कक्षामा उपस्थित हुन नसकेपछि उहाँ अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहनुभएको छ ।
कक्षामा भौतिक रूपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा निकै उपयोगी रहेको उहाँ बताउनुहुन्छ । “टाढाबाट पनि पढ्न मिल्ने, दिउँसो आफू अरू काममा व्यस्त हुने हामी जस्तालाई यो कक्षा वरदान सावित भएको छ”, उहाँ भन्नुहुन्छ । आफूहरू अनलाइन कक्षाको पहिलो समूह भएकाले पाठ्यपुस्तक हात नपरे पनि आफूले खोजेर पढ्ने बानीको विकास भएको उहाँको भनाइ छ ।
अर्का विद्यार्थी ज्ञानु पहाडी अन्य पेसामा रहेका विद्यार्थीलाई काम नछोडी शैक्षिक उपाधि दिलाउन अनलाइन कक्षा राम्रो विकल्प भएको बताउनुहुन्छ । इन्टरनेट र उपयोगी मोबाइल फोन नहुँदा भने यो चुनौतीपूर्ण हुन जाने पनि उहाँको धारणा छ । कुनै दिन अनलाइनका कक्षा लिन नभ्याइएमा डिजिटल रेकर्ड हेरेर उक्त छुटेको कक्षा लिन सकिने उहाँ बताउनुहुन्छ । “हामीले विभिन्न स्रोतबाट अध्ययन सामग्री खोज्छौँ र शिक्षकलाई देखाउँछौँ ।उहाँबाट यससम्बन्धी मार्गदर्शन पाएपछि त्यसै अनुसार सच्चाउँछौँ” उहाँले भन्नुभयो ।
समयसमयमा हुने बन्द हडताल, परीक्षा केन्द्र तोकिने, क्याम्पसको आन्तरिक विवाद आदि अनेकौँ कारणले नियमित कक्षा नहुने, भएकै कक्षामा पनि विद्यार्थीको उपस्थित न्यून रहने गरेको छ । शिक्षकको अनुपस्थितिका कारण पनि कयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ । भौतिक कक्षामा भन्दा अनलाइन कक्षामा हाजिर हर्नुपर्ने, दिइएका गृहकार्य गर्नै पर्ने, तोकिएकै दिन बुझाउनै पर्ने र शिक्षक–विद्यार्थीका सबै गतिविधि श्रव्यदृश्य रेकर्ड हुने कारण सही अर्थको पठनपाठन हुने सम्बन्धित शिक्षक विद्यार्थी बताउँछन् ।
त्रिविमा अनलाइन कक्षाको सुरुआत कोभिड– १९ का कारण सन् २०२० को सुरुतिर अर्थात् बन्दाबन्दी हुनुभन्दा एक महिनअघि भएको हो । त्यतिबेला देशमा कतै पनि अनलाइन कक्षाबारे सोचाइ नै रहेको थिएन । त्यसबेला दूर शिक्षासम्बन्धी एक प्रयोगका रूपमा त्रिविको शिक्षा शास्त्र सङ्कायले एमएड तहको कार्यक्रम इन्टरनेट प्रविधिको माध्यमबाट सञ्चालन गर्ने तयारी गरिरहेको थियो । त्यसको केही महिनापछि नै बन्दाबन्दी भएकाले भौतिक उपस्थितिमा अध्ययन अध्यापन सम्भव भएन । त्यसपछि त अनलाइन कक्षा नै अनिवार्य विकल्प बन्न पुगेको थियो । विश्वविद्यालयदेखि विद्यालय तहसम्म अनलाइन कक्षाबाटै पठनपाठन हुन थाल्यो ।
घरै बसेर विश्वविद्यालयको उपाधि
पछिल्ला केही वर्षयता विश्वविद्यालयका विद्यार्थीहरूमा भर्ना हुने दिन क्याम्पस जाने र त्यसपछि एकैपटक जाँच दिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नै बाध्यता वा क्याम्पसका कारण विद्यार्थीलाई भर्ना भएपछि कक्षा लिनुपर्छ भन्ने सोच बिस्तारै हराउँदै जाँदा पछिल्लो समय विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ । कतिपय विद्यार्थीमा पढ्नभन्दा अरू उद्देश्यले भर्ना हुने प्रवृत्ति नभएको होइन । त्यसैले कक्षामा देखिने सङ्ख्याभन्दा परीक्षा दिने बेलामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुन्थ्यो ।
समेष्टर प्रणाली लागू भएपछि त्यो समस्या त समाधान भयो तर ८० प्रतिशत हाजिरी अनिवार्य, आन्तरिक मूल्याङ्कनको अङ्कभार नै ४० प्रतिशत गरिएका कारण विद्यार्थी सङ्ख्या नै घट्दै गयो । कक्षामै उपस्थित भएर पढ्न धेरै विद्यार्थीलाई समस्या रहेछ भन्ने देखियो । त्यसैले घर वा कार्यस्थलमै रहेर पनि विश्वविद्यालयका कक्षा लिन सकिने विकल्पको रूपमा अनलाइन कक्षाप्रति आकर्षण बढेको हुनसक्ने विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायअन्तर्गत राजनीतिक शास्त्र विभागका पूर्वप्रमुख केशवराज पौडेल बताउनुहुन्छ ।
अनलाइनमा पढाउँदा हरेक कक्षाको डिजिटल रेकर्ड हुने भएकाले शिक्षकले पढाएको कुरा र विद्यार्थीले त्यस कक्षामा गरेको अन्तक्रिर्यासमेतको अभिलेख बस्छ । “विद्यार्थी र शिक्षक कसैले पनि ढाँट्न सक्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । यसका साथै विद्यार्थीले दिइएका गृहकार्य तत्काल बुझाउनु पर्ने र शिक्षकले त्यसमाथि गरेको मूल्याङ्कन पनि डिजिटलमै राख्नुपर्ने भएकाले अन्यथा नहुने हुँदा यसको प्रभावकारिता रहेको उहाँको भनाइ छ । कक्षामा विद्यार्थीको उपस्थिति, उसको सक्रिय सहभागिता, आन्तरिक मूल्याङ्कन र दिइएका अङ्कबारे कसैले प्रश्न उठाएमा वा उजुरी परेमा समेत श्रब्यदृष्यसहितको प्रमाण पेस गर्न सकिने उहाँ बताउनुहुन्छ ।
काम गर्दै डिग्री खोज्नेहरूका लागि उपयोगी
अनलाइन कक्षा एउटा एनरोइड मोबाइल वा ल्यापटप कम्प्युटरको माध्यमबाट इन्टरनेट पुगेको देशको जुनसुकै कुनाबाट पनि लिन सकिन्छ । काम वा अन्य कारणले आफू बसेको स्थान छोडेर विश्वविद्यालयका कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि निकै प्रभावकारी रहेको प्राध्यापक पौडेलको भनाइ छ । “खासगरी आफ्नो शैक्षिक योग्यता बढाउन चाहने तथा कक्षामा उपस्थित हुन नसक्नेलाई यसले उपयुक्त विकल्प दिन्छ”, उहाँले भन्नुभयो ।
विगतमा जागिरेहरूले काम गर्दै पढ्दा कतिपय अवस्थामा कक्षा लिएको र कार्यालयमा हाजिर गरेको दिन एउटै परेर समस्या सिर्जना हुने र अख्तियारमा उजुरी समेत लाग्ने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । “तर यसमा अनलाइन कक्षा भनेरै शैक्षिक उपाधि दिइने हुँदा कर्मचारीले कार्यालय समयमा पढ्न गएको वा कक्षा नलिई शैक्षिक उपाधि लिएको भन्ने दोष रहँदैन”, उहाँले थप्नुभयो । विद्यार्थीले घरमा, यात्रामा वा कुनै पनि ठाउँमा कक्षा लिन सक्दछन् ।
घरपायक परीक्षा केन्द्र
भौतिक कक्षामा जस्तो पढेका क्याम्पसका लागि तोकिएकै केन्द्रमा पुग्नुपर्ने बाध्यता पनि यसमा विद्यार्थीलाई छैन । नयाँ कार्यविधिअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँको स्नातकोत्तर तह अध्ययन हुने क्याम्पसमा गएर यसको प्रवेश परीक्षा दिन पाउँछन् । देशभर एक सय आठ स्थानमा रहेका क्याम्पसमध्ये कुनै पनि क्याम्पसबाट उक्त परीक्षा दिन सकिन्छ । सुरुमा भर्ना हुन भने विद्यार्थीले विभागसँग समन्वय गर्नुपर्छ । भर्नापछि प्रत्येक समेष्टरको सुरुमा र अन्तिम परीक्षाअघि गरी दुईपटक प्रत्यक्ष उपस्थितिको कक्षा सञ्चालन गरिन्छ । यसबाट शिक्षक–विद्यार्थीबिच राम्रोसँग अन्तरक्रिया हुनेछ ।
कक्षाका लागि सुरुमा माइक्रोसफ्ट एप्लिकेशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । त्यसपछि उनीहरूलाई कक्षामा कसरी बस्ने, आएका डिजिटल पाठ्यसामग्रीलाई कसरी लिने र गृहकार्य सम्बन्धित शिक्षकलाई कसरी बुझाउने भन्ने पनि सिकाइन्छ । साथै विद्यार्थीले आफूले दिएको उत्तर र त्यसबापत शिक्षकले दिएको अङ्क तत्कालै हेर्न र थप छलफल गन पाउँछ । अनलाइन कक्षा पढ्ने त्रिविका विद्यार्थीलाई अहिले माइक्रोसफ्टले एक टेराबाइट स्थान उपलब्ध गराएको छ । इन्टरनेटकै माध्यमबाट विद्यार्थीले त्रिविको केन्द्रीय पुस्तकालय, भारतको दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत थुप्रै देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतको प्रयोग गर्न सक्नेछन् ।
अनलाइन कक्षाको सुविधाका कारण शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्रअन्तर्गतका १५ वटा विषय विभागहरूले अनलाइन कक्षा सुरु गरेका छन् । सबैतिर गरी हाल तीन सय जनाभन्दा बढी विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । यसको प्रभावकारिता देखेर विज्ञान जस्ता प्रयोगशाला आवश्यक भएका विषयबाहेक त्रिविका अन्य संस्थान र सङ्कायले पनि अनलाइन कक्षा सुरु गर्न खोजेको प्राध्यापक पौडेलले जानकारी दिनुभयो ।
शिक्षा शास्त्र सङ्काय प्रमुख प्राध्यापक डा शम्भु खतिवडाका अनुसार गत वर्ष शिक्षाशास्त्र सङ्कायकै अङ्ग्रेजी र गणित कार्यक्रममा अनलाइन माध्यमबाट भर्ना लिन सुरु गरिएको हो । स्नातकोत्तर तहको सामाजिक अध्ययनमा भने प्रत्यक्ष भर्ना मात्र लिइएको थियो । राजनीतिक सङ्कायले बल गरेरै अनलाइन चलाउँदा विद्यार्थी सङ्ख्या पाँचबाट बढेर ५५ पुग्यो । अहिले त्रिविमा सामाजिक अध्ययनको तेस्रो वर्ष चलिरहेको छ । पहिलो वर्षमा एक सय २०, दोस्रोमा एक सय ३५ र तेस्रा वर्षमा ६० जना भर्ना भएर परीक्षा समेत दिइसकेका छन् ।
भौतिक व्यवस्थापन मुख्य चुनौती
प्रविधिकै सहयोगमा चलाउनु पर्ने हुँदा अनलाइन कक्षा सञ्चालन त्यति सजिलो भने छैन । विद्यार्थी र शिक्षक दुवैसँग अनलाइन कक्षाका लागि उपयुक्त हुने स्मार्टफोन वा ल्यापटपसँगै भरपर्दो इन्टरनेट अनिवार्य हुन्छ । पढाउन सर्वाधिक सहज हुने स्मार्टबोर्ड नै चाहिने हो तर ती सबै कुरा सबै ठाउँमा सहज हुँदैन, शिक्षकको व्यक्तिगत ल्यापटप प्रयोग गरेर यो सबै गरिरहेका छौँ”, प्राध्यापक पौडेल भन्नुहुन्छ ।
प्रत्यक्ष कक्षा लिनका लागि त्रिविले नियुक्त गरेका शिक्षक र प्राध्यापकहरूलाई अनलाइन कक्षाका लागि अनुकूल हुने गरी आवश्यक तालिम दिनुपर्ने हुन्छ । अनलाइन कक्षाको अर्थ इन्टरनेटमार्फत जोडिनु मात्र नभई कक्षालाई कसरी सहज ढङ्गले सञ्चालन गर्ने, विद्यार्थीलाई गृहकार्य र पाठ्यसामग्री कसरी दिने आदि विषयमा पनि व्यावसायिक तालिम दिनुपर्ने हुन्छ ।
“कक्षालाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउन शिक्षकलाई प्रविधिसँग पूर्ण अभ्यस्त बनाउनुपर्छ”, डा. खतिवडा बताउनुहुन्छ । प्रविधिमा अभ्यस्त भएका शिक्षकले प्रभावकारी कक्षा लिएको तर अभ्यस्त नभएका कतिपय शिक्षकलाई प्रस्तुतीकरणमा समस्या रहेको उहाँको भनाइ छ । त्रिविको नियमित बजेटबाट अनलाइन कक्षाका सबै आवश्यकता पूरा गर्न सम्भव नभएको डा खतिवडा बताउनुहुन्छ ।
प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः 'जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गनुभएको छ। आज (बिहीबार)माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी वर्गप्रति इमानदार हुन नसकेको हो कि जस्तो देखिएको बताउनुभयो। अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको उहाँले बताउनुभयो। ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– विप्लले भन्नुभयो, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’ सो क्रममा उहाँले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिनुभयो । उहाँले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउनुभयो । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उहाँको भनाइ छ । साथै,उहाँले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउनुभयो। ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होईन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’ प्रश्न गर्दैै उहाँले भन्नुभयो । सम्बोधनका क्रममा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिनुभयो। प्रकाश सपुतको गीत स्मरण गराउँदै उहाँले भन्नुभयो ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपीजीलाई सोध्नुपर्ने भएको छ– 'केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?'
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित
काठमाडौं। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ। विज्ञ, अर्थ मन्त्रालय र कानून मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको अर्थसमिति सभापति सन्तोष चालिसेले बताउनुभयो। सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने उहाँले बताउनुभयो। सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताउनुभयो। उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनुभयो। समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ।
माओत्सेतुङबाट प्रेरणा लिंदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्न आवश्यकः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो । कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ । हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताउनुभएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा आजदेखि सुरु भएका अन्तर्राष्ट्रिय प्रतियोगिता योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाल विभिन्न खेलकुद गतिविधिहरूका लागि आकर्षक स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ । यसले खेलकुद पर्यटनको केन्द्र र प्रमुख गन्तव्य बनाउने सम्भावना बढाउँदै लगेको छ ।’ खेलले विभिन्न क्षेत्र, भाषा, र संस्कृतिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘जसले खेल केवल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीहरू बीच सद्भाव, मित्रता, र समझदारीको प्रतीक हो भन्ने गहिरो अर्थ दिन्छ । अन्ततः खेलकुदले राजनीतिक सिमाना भन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’ खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म तपाईंलाई स्मरण गराउन चाहन्छु कि मेरो प्रधानमन्त्रीत्वकालमा मैले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलहरू सुरु गरेको थिएँ । आगामी दिनमा म नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहनेछु ।’ सरकार र सम्बन्धित निकायहरूले खेल पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नुले नेपाललाई विश्वसँग जोड्ने र हाम्रो विकासलाई सहयोग गर्ने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । ब्याडमिन्टन विश्वमै एक लोकप्रिय खेल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो खेल युवा तथा वृद्ध सबै उमेरका व्यक्तिहरूले खेल्न सक्ने भएकाले नागरिकको स्वास्थ्य र व्यक्तित्व विकासका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । विश्व ब्याडमिन्टन महासंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सबै उमेर समूहका साथै शारीरिक वा बौद्धिक चुनौती सामना गरिरहेका व्यक्तिहरूको लागि पनि कार्यक्रम आयोजना गर्दै आफ्नो पहुँच बढाएको उल्लेख गर्दै उहाँले यस समावेशिताले खेलको विश्वव्यापी महत्वव र बढ्दो लोकप्रियतालाई झल्काउने बताउनुभयो । ‘म यस्ता प्रयासहरूलाई प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छु । यस्ता ठूला स्तरका अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना हाम्रो देशको विकासका लागि महत्वपूर्ण आधार हुन्’– उहाँले भन्नुभयो– ‘हामीले यस्ता उच्चस्तरीय प्रतियोगिताहरूको निरन्तरताका लागि सामूहिक रूपमा काम गर्नुपर्छ र भविष्यमा अझ ठूला कार्यक्रमहरू नेपालमा ल्याउन प्रयास गर्नुपर्छ।’ अध्यक्ष प्रचण्डले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक अधिकारीहरू, चिकित्सकीय टोलीहरू, विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसिया कन्फेडेरेसनका प्रतिनिधिहरूलाई नेपालमा स्वागत पनि गर्नुभयो । दुबै प्रतियोगितामा गरी पाँच महादेशबाट २२ देशका ३३५ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।