चितवनको घुमाउने बस दुर्घटना, १२ घाइते

चितवनको घुमाउने बस दुर्घटना, १२ घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटन हुँदा १२ जना घाइते भएका छन्। घाइते सबैजनाको उपचार चितवनमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो। घाइतेहरुको अहिले उद्धार भइरहेको छ।

काठमाडौं महानगरले लगायो प्लास्टिकको मालामा प्रतिबन्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।  महानगरले आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको स्मरण गराएको हो ।  प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।  महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ । 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । कोसी र लुम्बिनी प्रदे लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज सूर्योदय बिहान ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।

सरकारले १०० दिनसम्म सत्ताको दुरूपयोग मात्रै गर्‍यो : प्रभु साह

काठमाडौँ ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिन सत्ताको दुरुपयोग मात्रै गरेको टिप्पणी  गर्नुभएको छ।  ओली सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममा मात्रै सीमित रहेको उहाँले बताउनुभयो ।  बुधबार काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी उहाँले बताउनुभयो ।  वर्तमान सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको पनि उहाँले आरोप लगाउनुभयो । ‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्‍यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ’ साहले भन्नुभयो । वर्तमान सरकारको काम विपक्षीहरूलाई तर्साउन र झुटा मुद्दा लगाउनेमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले गौर हत्याकाण्डका दोषीहरू खुलेआम घुम्दा सरकारले उनीहरूलाई संरक्षण दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको भनेको मदन भण्डारीको अपमान गर्ने काम भएको समेत उहाँको टिप्पणी छ । एमालेको हाल मदननगरमा भएको जग्गा पनि अहिले कीर्तिपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहले बताउनुभयो ।

वडाध्यक्ष यादवको हत्या आरोपमा दुई आरोपी पुर्पक्षका लागि थुनामा

महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा दुई आरोपीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । इजलास नं. ४ मा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको एकल इजलासले औरही नगरपालिका- ७ निवासी सञ्जीव झा र दिलीपकुमार मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत भदौ ९ गते जलेश्वर–बर्दीबास सडकखण्डमा पर्ने बर्दीबास- ८ स्थित कल्भर्टनजिकै वडाध्यक्ष यादव मृत अवस्थामा फेला परेका थिए । वडाध्यक्ष यादवकाे मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेकाे थियाे । प्रहरीकाे अनुसन्धानपश्चात् दुवै आरोपीलाई नियन्त्रणमा लिई अदालतमा पेस गरेको थियो । जिल्ला अदालत महोत्तरीकी श्रेस्तेदार नूतन झाले सोमबार बयान भएको र मंगलबार बहसपछि पुर्पक्षमा राख्न न्यायाधीशले आदेश दिएको जानकारी दिइन् । पीडित पक्षले सोमबार र मंगलबार अदालतको मुख्य गेटअगाडि धर्नासमेत दिएको थियो ।

लोकप्रिय