अविरल वर्षासँगै देशभर बाढीपहिरोबाट ११ जनाको मृत्यु, १० बेपत्ता

अविरल वर्षासँगै देशभर बाढीपहिरोबाट ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं ।  अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ । 

काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्दार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

देशका विभिन्न स्थानमा वर्षा जारी, अझै कायम रहने

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा (५० मिमिभन्दा बढी) र केही स्थानमा धेरै भारी वर्षा (१०० मिमिभन्दा बढी) भएको छ।  यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षा (२०० मिमिभन्दा बढी) पनि भएको महाशाखाले जनाएको छ।  हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र आज पनि वर्षाको क्रम जारी रहने भएकाले सतर्क रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

उपत्यका प्रवेश गर्ने नाका अवरुद्ध, यातायात ठप्प

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् । प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

लोकप्रिय