माओवादी केन्द्रको खबरदारी सभा आज, यस्तो छ तयारी

माओवादी केन्द्रको खबरदारी सभा आज, यस्तो छ तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गर्दै छ ।

भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी  पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले जानकारी दिनुभयो । 

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिनुभयो । सबै तयारी पुरा भइसकेको छ । 

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ । करिब २ घण्टामा कार्यक्रम सकिने छ । जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन् । 

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ । माओवादी केन्द्र प्रतिपक्षी दल बनेपछि आयोजना गरिएको यो पहिलो सभा हो ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ ।

यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ ।

यो पनि पढ्नुहोस् माओवादी केन्द्रले कात्तिक १० गते गर्ने खबरदारी सभाका लागि १० एजेण्डा तय

कुलमान थप आक्रामकः बक्यौता नतिर्ने अन्य उद्योगको लाइन काट्ने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको लगानी रहेका अन्य उद्योग, कार्यालय तथा घरमा समेत लाइन काट्ने तयारी गरेको छ । लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत चौबिसै घण्टा विद्युत् उपभोग गरेर वर्षौँसम्म अर्बौँ रुपैयाँ प्रिमियम महसुल नतिर्ने उद्योगमा प्राधिकरणले बिहीबार रातिदेखि फेरि लाइन काट्न सुरु गरेको छ । बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा मात्र विद्युतको लाइन काट्दा बक्यौता नउठेको खण्डमा उनीहरूले लगानी गरेका अन्य उद्योगहरूमा पनि लाइन काट्ने तयारी प्राधिकरणले गरेको हो । त्यसपछि पनि बक्यौता नतिरेमा उद्योगीको घरमै समेत लाइन काट्ने रणनीति बनाइएको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘हामीले बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न सुरु गरिसकेका छौँ, अझै बक्यौता तिर्न अटेर गरेमा उनीहरूका अन्य उद्योग तथा कार्यालयमा पनि लाइन काट्नेछौँ, त्यति गर्दा पनि बक्यौता नतिरे घरमा पनि लाइन काट्नेछौँ,’ ती कर्मचारीले भने, ‘यसका लागि कानुनले प्राधिकरणलाई पर्याप्त अधिकार पनि दिएको छ ।’ प्राधिकरणले ४९ उद्योगलाई बिहीबार कार्यालय समयसम्म बक्यौता बुझाउन अल्टिमेटम दिएको थियो । तर, बिहीबार राति बक्यौता नतिर्नेमध्ये ३४ उद्योगमा लाइन काटिएको थियो । बक्यौताको किस्ता बुझाउन सुरु गरेपछि शुक्रबार बुटवलका दुई उद्योगको लाइन जोडिएको छ । अहिले ३२ उद्योगमा लाइन काटिएको प्राधिकरणले जनाएको छ । बक्यौता बाँकी रहेका ४९ मध्ये ६ उद्योगले तोकिएको म्यादभित्रै पहिलो किस्ता बुझाएका थिए । सात उद्योगले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुँदा लाइन काटिएको छैन । प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा लाइन काट्न नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ र विद्युत् महसुल संकलन नियमावली, २०७८ ले दिएको अधिकार प्रयोग गरेको छ । विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा २३ मा पनि बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने व्यवस्था छ । विनियमावलीको विनियम १० मा पनि सोही व्यवस्था छ । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाए विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सकिने व्यवस्था छ ।

सत्तारुढ दलद्वारा ७ बुँदे वक्तव्य सार्वजनिक

काठमाडौँ  । सत्ता गठबन्धनका सात राजनीतिक दलहरूले सरकारले तय गरेका कार्यक्रम र योजना प्रभावकारीरुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै सातबुँदे वक्तव्य सार्वजनिक गरेका छन्। सात दलका शीर्ष नेताहरुले आगामी दिनमा सरकारको प्रभावकारी सञ्चालनबारे छलफल गर्दै आज सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको हो। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिका आधारमा गठन भएको सरकारमा कांग्रेस, एमाले, जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्तिसमेतका पार्टीहरुको समर्थन र सहभागिता रहेको छ।   

बाल खेलाडीहरु पुरिएको घटना छानविनका लागि पहल गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काडमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको सिस्नेरीमा छ जना बाल खेलाडीहरु पुरिएको घटनाको निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । ‘देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका छ जना बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘पीडित परिवारहरुको माग र घटनाक्रम हेर्दा यसमा एन्फा र सम्बन्धित विद्यालयको चरम लापर्वाही देखिन्छ, खोलानजिक रहेको असुरक्षित ठाउँमा यति महत्वपूर्ण प्रशिक्षण केन्द्र किन राखियो भन्नेदेखि सिस्नेरी बजारमा कुनै मानवीय क्षति नहुँदा पनि यी बाल खेलाडीहरुको कसरी क्षति हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न आवश्यक छ, म यसका लागि प्रतिपक्षी दलहरुको तर्फबाट पहल गर्ने छु ।’ राजधानीमा छतमा बसेर गुहार माग्दासमेत उद्धार गर्न नसक्ने अवस्थाले पछिल्लो बाढीपहिरोको घटनामा सरकार निकै कमजोर देखिएको उल्लेख गर्दै उहाँले यिनै विषयहरु समेटेर प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, आफ्नो पार्टीले खबरदारी सभा आयोजना गरेको र आवश्यक परे संसदको विशेष अधिवेशन बोलाएर भए पनि सडक र सदनबाट जनताका आवाजलाई प्रभावकारीरुपमा सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो घटनाको निष्पक्षमा छानविन गरी दोषका आधार कारवाही, मृतक खेलाडीहरुलाई अमर बनाउने गरी एउटा कोष स्थापना गरेर एकेडेमी वा कुनै स्मरणयोग्य संरचना र उनीहरुकै नामबाट नियमति प्रशिक्षण खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीहरुको प्रतिमा स्थापना र परिवारलाई उचित राहतका लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले यो संवेदनशील विषय भएकाले सबै दल र सरोकारवालाहरु गम्भीर हुनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई पनि सबै सँग भेट गरेर घटनाको यथार्थ जानकारी गराउन आग्रह गर्नुभयो ।    पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सो क्रममा पीडित परिवारले विद्यालय व्यवस्थापन र एन्फाको चरम लापर्वाहीका कारण घटना भएको भन्दै उच्चस्तरीय छानविन गरेर दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।  दुई दिनदेखि इन्द्रसरोवरको ड्याम खोल्ने सूचना आइरहेको बेला बाल खेलाडीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरिएको, अभिभावकले लैजान खोज्दा पनि लैजान नदिएको, पूर्व सतर्कता अपनाएर सिङ्गो सिस्नेरी बजारका बासिन्दा सुरक्षित हुने बेलामा आफ्ना छोराहरुलाई सुरक्षित गर्नतिर नलागेको, विपतको बेलामा पनि परीक्षाका नाममा बालकहरुलाई नछाडिएको, घटनाको ३० घण्टासम्म परिवारलाई सूचना नदिएको, गलत व्यहोराको जाहेरी तयार गरिएको, शव हस्तान्तरणमा पनि सास्ती दिएर छ दिनपछि मात्रै अन्त्येष्टि गर्न बाध्य बनाएको जस्ता कारणले यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने पीडित परिवारले माग गरेका छन् । आफूहरुलाई राहतभन्दा पनि न्याय चाहिएको र त्यसका लागि घटनाको निष्पक्ष छानविन गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने भन्दै पीडितहरुले आफ्ना सन्तानलाई अमर बनाउने गरी उनीहरुको स्मृतिमा खेल क्षेत्रमा देखिने संरचना र संस्था निर्माण गरिनुपर्ने बताएका छन् ।     

रास्वपाको काठमाडौंकेन्द्रित आन्दोलन सुरु

काठमाडौं । काठमाडौंस्थित माइतीघर मण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनको सुरु भएको छ । पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउविरुद्ध रास्वपाको काठमाडौंकेन्द्रित प्रदर्शन माइतीघरमा सुरु भएको हो । रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन् । आन्दोलनमा समर्थकहरूको बाक्लो उपस्थिति रहने रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार पार्टी कार्यालयबाट नेताहरू समेत आन्दोलनस्थल आइरहेका छन् । काठमाडौंको आन्दोलनमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायत खटिएका छन् ।

लोकप्रिय