ओलीको नियुक्तिविरुद्ध अदालत जाने कानूनविदको चेतावनी

राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको दावी

ओलीको नियुक्तिविरुद्ध अदालत जाने कानूनविदको चेतावनी

काठमाडौं । कानुनविद्हरुले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले प्रधानमन्त्रीमा नियुक्त गर्न खोजेको बताएका छन्।

पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए ।

‘संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३) मा जानुपर्ने थियो । तर, राष्ट्रपतिले असवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ। यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन’ प्रधानले भने । 

धारा ७६ (३) मा संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन गर्ने उल्लेख छ । यस अनुसार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुने अवस्था थियो । 

उनले राष्ट्रपतिको कदम अदालतमा जाने समेत बताए ।

आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा प्रधानले नेपाली कांग्रेस र नेकपा एमालेले मध्यरात गरेको सम्झौता प्रतिगामी भएको बताउँदै जनस्तरबाट प्रतिवाद हुने भएपछि सार्वजनिक गर्न नसकेको समेत बताए।

उनले संविधान संशोधनको नाममा कांग्रेस र एमालेले पुरानै संविधान ब्यूँताउन खोजेको दाबी गर्दै भने, ‘संविधान संशोधनको नाममा दुई पार्टीका नेताहरुले नाडी छाम्ने काम गरेका छन्। यसको प्रतिवाद जनताले गर्नेछन्। संसदको सबैभन्दा ठूलो र दोस्रो ठूलो पार्टी मिलेर उद्देश्यहिन र गन्तव्यहिन यात्रा सुरु गरेका छन्।’

प्रधानले राष्ट्रपतिको असवैधानिक कदमको प्रतिवाद गर्न अपील समेत गरे।

त्यसैगरी स्वतन्त्र कानुन व्यवसायी मंचका अध्यक्ष तथा अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको बताए।

उनले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भएको टिप्पणी गरे ।

‘संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले गैरसंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ। यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ’ न्यौपानेले भने ।

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो एक रूपैयाँ दान अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्। एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो। सत्तारूढ दलले व्यवसायीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै आलोचना भइरहेका बेला अखिल क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो।

लोकप्रिय