अब के हुन्छ मनाङेको सांसद पद ?
काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ । दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि मंगलबार न्यायालयले अन्तिम फैसला गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो । यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सर्वोच्चबाट लिखित फैसला भने जारी हुन बाँकी छ । फैसलामा लेखिने बेहोराले मनाङेको सांसद पद के हुन्छ भन्ने तय गर्नेछ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी १० वटा प्रावधान छन् । त्यसमध्ये उपदफा (घ) को व्यवस्था मनाङेका हकमा लागू हुने देखिन्छ । उपदफा (घ) मा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने उल्लेख छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।
एकीकृत समाजवादीमा एक पद एक व्यक्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।