खबरदारी सभापछि के भन्छन् माओवादी नेताहरु ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले गरिरहेको बेथिति र भ्रष्टाचारका विरुद्ध १० कार्तिकमा काठमाडौंमा खबरदारी सभा गरेको छ । सो सभाले माओवादी केन्द्रका नेताहरुलाई उत्साहित बनाएको छ ।
खबरदारी सभापछि अब माओवादी केन्द्रको आगामी कार्यक्रम के हुन्छन् भन्ने विषयमा विभिन्न नेताहरुको प्रतिक्रिया समेटेका छौं ।
शालिकराम जमरकट्टेल
जनतामा आएको उत्साहलाई संगठनमा बदल्नु आजको प्रमुख काम हो । माओवादी पार्टीको मुख्य समस्या भनेको संगठनको काममा ध्यान नदिनु हो । व्यवस्थित र बलियो संगठित जनआधार नै आन्दोलन र चुनाब जित्ने मुख्य साधन हो । जिल्ला जिल्लामा कति जनता संगठित गर्ने हो, त्यसको निर्धाारण गरौं । आठौ महाधिवेशनले पास गरेको बिचार र कार्यदिशालाई लागु गर्दै संगठन, संगठन र फेरि पनि संगठन भन्ने कुरा लाई आत्मासाथ गरौं।
सूर्य सुवेदी ‘पथिक
आज चार दिनको छोटो तयारीमा बागमती प्रदेश समिति र उपत्यका मा कार्यरत दुईवटा गैर भौगोलिक प्रदेश समितिको संयुक्त आयोजनामा खबरदारी सभा सम्पन्न भयो। ओलीको संसद विघटन र प्रतिगमन का विरुद्ध भएको विशाल आन्दोलन पछाडि हाम्रो पार्टी व्यवस्थित रुपमा सडकमा आएको यो पहिलो पटक हो। आज आयोजित यो कार्यक्रम र यसमा जनता र कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति र प्रदर्शनले थुप्रै सकारात्मक सन्देश दिएको छ।
पहिलो, जनता केपी ओलीको सरकारको जन र राष्ट्र विरोधी गतिविधिबाट आजित छन् भन्ने पुष्टि गरेको छ। पछिल्लो मिनबहादुर गुरुङ प्रकरणसम्म आइपुग्दा जनता यो सरकारलाई माओवादीले लगाएको भ्रष्टाचारको आरोपसँग पूरै सहमति भएको देखिएको छ।
दोस्रो, जनता नेकपा माओवादी केन्द्रलाई केही प्रश्न र आलोचनासहित पुनः एकपटक देशको नेतृत्व गरेको हेर्न चाहिरहेका छन्। बीचको अवधिमा जनता अलि बढी दिग्भ्रमित भएको देखिन्थ्यो। कांग्रेस, एमाले र माओवादीलाई उस्तै ठान्नेसम्मको स्थिति बनेको र अरु केही विकल्प हुन सक्छ कि भन्ने परीक्षण पनि गरेको देखिन्थ्यो। तर कांग्रेस एमालेको प्रतिगामी र प्रतिक्रियावादी रवैया र अन्य नयाँ भनिएका पार्टीहरूको पनि त्यति राम्रो छवि नबनेको स्थितिमा जनता माओवादीलाई सशर्त पुनः परीक्षण गर्ने मनस्थितिमा पुग्दै गएको देखिन्छ।
तेस्रो, कमरेड प्रचण्डको नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा र एक हदसम्म समृद्धिको सन्दर्भमा सकारात्मक काम गरेको महसुस गरिरहेका छन्। यो विषय कमरेड प्रचण्डले सरकारको नेतृत्व गर्दा भन्दा अहिले ओलीको काम कारबाहीबाट आजित भएपछि यसको बुझाई झन् बढेको देखिन्छ।
तेस्रो, यसबीच नेकपा माओवादी केन्द्र पनि कांग्रेस र एमाले जस्तै संसदीय आहालमा चुर्लुम्म डुबेको र यसबाट निस्कनै नसक्ने हो कि भन्ने चिन्तासहित जनताको माओवादी केन्द्रप्रति अलि बढी खबरदारी थियो । सरकारको बहिर्गमनपश्चात् पार्टीले जनताको बीचमा यसबीच गरेका वाचा कबुल र आत्मालोचनाबाट एक हदसम्म जनता आश्वस्त बन्दै गएको आजको कार्यक्रमले देखाएको छ।
चौथो, जनता र कार्यकर्ताले आन्दोलनको आवश्यकता महसुस गरे भने छोटो तयारीमै यति धेरै जुट्न सक्दो रहेछ भन्ने देखाएको छ। अझ रोचक कुरा के छ भने ६२÷६३ पछाडि सबै यस स्तरका केन्द्रीकरणको पार्टीले नै लगानी गरेर जनतालाई केन्द्रीकरण गर्दै थियो। तर यसपटक पार्टीले मञ्च झण्डा र ब्यानर मात्र लगानी गर्यो र सबै नेता कार्यकर्ता र जनता स्वस्फूर्तरुपमा आफै खर्च गरेर यो स्तरको केन्द्रीकरणमा आइपुगे । यो एउटा ठूलो उपलब्धि हो।
पाँचौं, प्रमुख वक्ताको रुपमा कमरेड प्रचण्डले जे जसरी सम्बोधन गर्नुभयो, त्यसले पार्टी नेता कार्यकर्ता र आम जनतामा अत्यन्त उत्साह बढाएको छ। हामी कांग्रेस एमालेसँग अब गठबन्धन गर्दैनौं, एक्लै चुनाव लड्छौं र त्यो भन्दा पनि महत्वपूर्ण कुरा समाजवादको लागि अर्को एउटा क्रान्तिको नेतृत्व हाम्रो पार्टीले गर्ने, यसको लागि सबै देशभक्त प्रगतिशील र वामपन्थीहरूको एकतालाई अर्को स्तरमा उठाउने र यसको सुरुवात माओवादीका विभिन्न धाराहरूको बीच पार्टी एकताबाट प्रारम्भ गर्ने जुन उद्घोष गर्नुभयो, त्यो अत्यन्त सारगर्वित र अहिलेको क्रान्तिकारीहरूको पहिलो कार्यसूचीको काम हो।
छैटौं, देशलाई प्रतिगमन हुनबाटबाट रोक्दै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको कृडास्थलबाट बचाउँदै समाजवादको आधार तयार पार्ने र क्रमशः देशलाई समाजवादमा पुर्याउन जनताको अर्को एउटा क्रान्ति को नेतृत्व गर्ने कुरा निकै नै चुनौतीपूर्ण छ। यसको लागि पार्टीले धेरै नै मेहनत गर्ने संकल्प चाहिएको छ। यसको लागि एउटा सही विचार कार्यदिशा नेतृत्वको अभूतपूर्व रूपान्तरण पार्टीभित्रको पूर्ण एकता र समाजवादका पक्षधरबीच बृहत एकता निर्माण गर्न आजको कार्यक्रमले नेतृत्वलाई आत्मविश्वास बढाएको छ।
सातौं, प्रतिक्रियावादीहरूले माओवादीलाई सिध्याउने यसबीचमा निकै धेरै कसरतहरु गरिए र गरिरहेका छन्। उनीहरुले माओवादी क्रमश कमजोर हुँदै गयो र यसलाई अझ बढी कमजोर बनाउन यस मा फुट पार्ने अनेकौं षड्यन्त्र र कोसिसहरु गरे आजको यो कार्यक्रम पश्चात उनीहरू अझ बढी यो प्रयत्न बढाउने नै छन्। पार्टीले आफ्नो सही विचार र श्रमजीवी जनताको बीच मजबुत एकता बनाएर प्रतिक्रियावादीहरूका षड्यन्त्रहरुलाई चक्नाचुर पार्नु अझ बढी मेहनत गर्नु पर्ने देखिन्छ।
घनश्याम प्रसाद रजक
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान परिस्थितिमा आम नेपाली जनतालाई पार्टीमा संगठित गर्न र पार्टीभित्र शुद्धीकरणको अभियान अघि बढाउन निम्न कामहरू गर्न सक्छः
जनतालाई संगठित गर्नका लागि
–आधारभूत आवश्यकता र सेवामा ध्यानः शिक्षा, स्वास्थ्य, र रोजगारमा आधारित ठोस कार्यक्रमहरू सञ्चालन गर्नु, जसले जनतालाई प्रत्यक्ष लाभ दिन्छ र पार्टीलाई जनप्रिय बनाउँछ।
–सीप विकास र स्वावलम्बन कार्यक्रमः युवाहरूलाई सीप तालिम, लघु उद्यमका लागि सहयोग, र आर्थिक अवसर सिर्जनामा जोड दिनुपर्छ। यसले युवाहरूलाई संगठनमा सक्रियतापूर्वक सामेल हुन प्रेरित गर्दछ।
–समाज सेवामा अग्रसरताः आपतकालीन सेवा, स्वास्थ्य शिविर, र अन्य राहत कार्यक्रम मार्फत पार्टीलाई समुदायसँग जोड्नु।
–जनताको मुद्धामा प्रत्यक्ष सम्बोधनः स्थानीय समस्याहरू, जस्तै महंगी, भ्रष्टाचार, र सरकारी लापरवाहीमा पार्टीको सक्रिय भूमिकाले जनविश्वास बढाउँछ।
आन्तरिक सुधार र शुद्धीकरणका लागि
–नेतृत्वमा पारदर्शिता र अनुशासनः निर्णय प्रक्रियामा पारदर्शिता बढाउन नेतृत्वले उदाहरण प्रस्तुत गर्नु। आर्थिक लेनदेन, पदस्थापनामा नीतिगत सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनु।
–पार्टी सदस्यहरूको समीक्षाः सदस्यहरूको योग्यता, अनुशासन, र समर्पणको आधारमा नियमित समीक्षा गरि पार्टीमा मात्र इमानदार र प्रतिबद्ध कार्यकर्ताहरूलाई अघि बढाउनु।
–संगठनात्मक संवाद र लोकतान्त्रिक अभ्यासस् निर्णयमा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गर्दै पार्टीभित्र स्वस्थ संवाद कायम गर्नुपर्छ। संगठनात्मक पुनर्संरचना र नेतृत्व परिवर्तनलाई पार्टीभित्र स्वीकार्ने वातावरण बनाउनु।
–नेतृत्व र कार्यकर्तामा राजनीतिक शुद्धतास् माओवादी आदर्श र सिद्धान्तलाई केन्द्रमा राख्दै, व्यक्तिगत स्वार्थबाट टाढा रहन, निष्ठा कायम राख्न, र जनताको सेवामा केन्द्रित रहन सबै स्तरका सदस्यलाई प्रेरित गर्नु आवश्यक छ।
यी उपायहरूले जनताको विश्वास जित्न, संगठन विस्तार गर्न, र पार्टीलाई आन्तरिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउनेछ।
भारतीय सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
काठमाडौं । भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति निवासमा आयोजित एक समारोहमा द्विवेदीलाई राष्ट्रपति पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको पहिलो औपचारिक नेपाल भ्रमणका क्रममा आज उहाँलाई मानार्थ महारथीको दर्जा प्रदान गरिएको हो। सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उमेदवारको अन्तिम नामावली प्रकाशन र चिह्न प्रदान, देशभर ३१ जनाले फिर्ता लिए उमेदवारी
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको निर्वाचनमा भाग लिने उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । बुधबार निर्वाचन आयोगले उमेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिएको जानकारी दिएको छ । आयोगका अनुसार, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेमेवार गरी जम्मा ४१० जनाको मनोनयनपत्र दर्ता भएको थियो । उनीहरूमध्य ३१ जनाले उमेदवारी फिर्ता लिएका छन् । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उमेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उमेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टी गरी पाँचवटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका छैनन् । निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थानबाहेक आयोगले ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उमेदवारसहित ३७६ उमेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गराएको छ ।
संघीयताको सबलीकरणबाट मात्रै जनताको सेवा प्रवाह प्रभावकारी बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड
गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताउनुभएको छ । गोरखा नगरपालिको प्रवर्धन र गोरखा होटल व्यवसायी समितिको आयोजनामा गोरखामा भएको ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रदेश तहलाई प्रभावकारी बनाउन नसक्दा हिजो गरिएको संघीयताताको परिकल्पना पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान निर्माणको बेलामा संघ, प्रदेश र स्थानीय तह आफूहरुले अघि सारेको अवधारणा भएकाले तिनै तहका सरकार बलिया बनाएर मात्रै जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउने आफूहरुको ऐतिहासिक प्रतिबद्धता भएको बताउनुभयो । आफू प्रधानमन्त्री भएको बेला संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन चार वर्षदेखि रोकिएको समन्वय परिषदको बैठक आयोजना गर्ने, संघीय निजामति ऐनलाई मन्त्रिपरिषदबाट पारित गरेर सदनमा पुर्याउने र संघीय प्रहरी ऐन कार्यान्वयनमा लैजान लगायतका प्रयास गरेको जानकारी दिंदै अध्यक्ष प्रचण्डले अहिलेका सत्तारुढ दलका नेताहरु संघीय कार्यान्वयनमा गम्भीर नहुँदा बन्नुपर्ने ऐन संसदबाट अझै पारित हुन नसकेको र बनेका ऐन कार्यान्वयन हुन नसकेको बताउनुभयो । उनीहरुको अरुचिका कारण आफ्नो अत्यधिक मेहनत हुँदाहुँदै पनि संघीयता सबलीकरणले सार्थकता पाउन नसकेको उहाँले स्पष्ट गर्नुभयो । संघीय कर्मचारी ऐन संसदमा पुर्याएको लामो समयसम्म अघि बढ्न नसकेको र प्रहरी समायोजन ऐन बनेको पाँच वर्षसम्म पनि कार्यान्वयन हुननसक्दा संघीयता कार्यान्वयनमा गम्भीर समस्या देखिएको औल्याउँदै अध्यक्ष प्रचण्डले अहिले आफू प्रतिपक्षमा भए पनि यी ऐन निर्माण र कार्यान्वयनमा गम्भीर रहेको बताउनुभयो । आफूले प्रधानमन्त्री हुँदा थालेको संघीय सबलीकरणको प्रयासलाई सातै प्रदेशका सरकार र मुख्यमन्त्रीहरुले ठूलो सहयोग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैको ध्यान संघीयता कार्यान्वयन र सबलीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत ब्यापारमा त्रिदेशीय साझेदारी ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसले मूलतः विद्युत उत्पादनको केन्द्र गण्डकी क्षेत्रलाई बढी फाइदा हुने बताउनुभयो । भारतमा दश वर्षमा दश हजार मेगावाट विद्युत विक्री तथा बंगादेशसम्म विद्युत निर्यातको समझदारी ऐतिहासिक भएको र आफू प्रधानमन्त्री हुँदा सो समझदारी हुनु गौरवको विषय भएको उहाँले बताउनुभयो । गोरखाबाट निर्वाचित जनप्रतिनिधिहरु प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री बन्दा यहाँका जनताको आकांक्षा बढ्नु स्वभाविक भएको र यसलाई पूरा गर्ने प्रयास सबै क्षेत्रबाट भएको बताउनुभयो । बुढीगण्डकी परियोजनालाई निश्चित मोडालिटी दिएर अघि बढाउने प्रयास गरिएको, यसका लागि धेरै गृहकार्य गरिएको उल्लेख गर्दै उहाँले यसको जटिलता धेरै भए पनि परियोजना नरोकिएको र आफू प्रधानमन्त्री भएको बेलामा यसलाई अघि बढाउन सर्वाधिक प्रयास गरेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले खम्पा बिद्रोहपछि चीनले मनास्लु क्षेत्रलाई निधेषित क्षेत्रको रुपमा लिएको अवस्थाको अन्त्य गर्न आफू प्रधानमन्त्री भएको बेलामा उत्तरी क्षेत्रका सबै नाका खोल्न प्रयास गरिएको, आठ वटा नाका खोलिएको, गोरखाको नाका पनि खोल्ने सहमति भएको र केही प्राविधिक कुरा मिलाएर निषेधित क्षेत्र घटाउनेबारे पनि तयारी भइरहेको जानकारी दिनुभयो । आफू गोरखाबाट निर्वाचित भएपछि राष्टिय राजनीतिका कारण निर्वाचन क्षेत्रलाई धेरै समय दिन नसके पनि गोरखाका हरेक जनप्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेर यहाँको विकासका लागि भूमिका निर्वाह गरिरहेको उहाँले स्पष्ट गर्नुभयो ।
ओलीका विश्वास पात्र जागरण सभाका ‘कमाण्डर’ उडे कम्बोडिया
काठमाडौँ । व्याप्त निराशा चिर्ने र उत्साह जगाउने भन्दै प्रधानमन्त्रीको दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा गर्ने जागरण सभाका कमाण्डर तथा एमाले स्थायी कमिटी सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र राजन भट्टराई आफ्नो जिम्मेवारी अर्का नेतालाई जिम्मा लगाएर कम्बोडिया उडेका छन् । नेकपा एमालेले मंसिर ७ को जागरण सभाको संयोजकका रूपमा बागमती प्रदेश कमिटीका इन्चार्ज समेत रहेका नेता भट्टराईलाई तोकेको थियो । तर भट्टराई कार्यक्रमको दुई दिनअघि नै कम्बोडिया उडेका हुन् । बुधबार साँझ भट्टराई आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कम्बोडिया प्रस्थान गर्न लागेको बताएका छन् ।कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीले ३२ अर्ब अवैध लगानी गरेको भन्दै प्रचार गरेका कारण दुर्गा प्रसाई पक्राउका बेला नेता भट्टराई पूर्वनिर्धारित कार्यक्रम छोडेर कम्बोडिया लागेका हुन् ।प्रसाईंलाई साइबर अपराधसम्बन्धी कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएका बेला सोहि देश कम्बोडिया राजन भट्टराई उडेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको भन्दै प्रसाईंलाई साइबर अपराधसम्बन्धी कसूरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएका बेला ओलीका विश्वास पात्र राजन भट्टराई सोहि देश कम्बोडिया उडेका हुन् । ‘क्यम्बोडियामा भोलिदेखि हुने आइसीएपीपीको १२ औँ अधिवेशनमा स्थायी समितिको सदस्यका हैसियतले सहभागि हुनपर्ने भएकोले अहिले साँझ त्यसतर्फ प्रस्थान गर्दैछु’, भट्टराईले भनेका छन्, ‘मेरो मंसिर ७ कार्यक्रमको जिम्मेवारी अनुपस्थितिमा क.कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु ।’ढुंगेल जागरण सभाका सहसंयोजक हुन् ।