अनुदान लिएका २० हजारले अझै घर बनाएनन्
नुवाकोट / रासस– विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले मात्र घर निर्माण गरिरहेका छन् । अनुदान लिएकामध्ये २० हजार भूकम्पपीडितले घर बनाएका छैनन् ।
जिल्ला आयोजना कार्यान्वय एकाइका अनुसार प्रभावितमध्ये गत शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण सुरु गरेका छन् । जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या दुई तिहाइभन्दा बढी पुगेको इकाइ प्रमुख विदुर खड्काले जानकारी दिएका छन् ।
प्रमुख खड्काका अनुसार ४१ हजार २२५ परिवारले घरको जग तहसम्म निर्माण गरी दोस्रो किस्ता अनुदान लिन निवेदन दिएकामध्ये ४१ हजार ७९४ योग्य ठहरिएका छन् । ‘६४ हजार ५३ लाभग्राहीले भूकम्प प्रतिरोधात्मक आवास निर्माण गर्ने सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार अनुदान लिएका छन्,’ उनले भने, ‘घर बनाउन भनी पहिलो किस्ता लिएकामध्ये अझै २० हजार परिवारले घर बनाउन सुरु गरेको देखिन्न ।’ पुनर्निर्माण प्राधिकरणले यही चैत मसान्तभित्र घरको जग तह निर्माण गर्नेलाई मात्र अनुदान उपलब्ध गराउने जनाएको छ । ‘सरकारी निर्णयका आधारमा २० हजार परिवार अनुदान सुविधाबाट वञ्चित हुन सक्ने जोखिम छ,’ उनले भने ।
आवास निर्माणका लागि निर्माण सामग्री सहज नहुनु, दक्ष कामदारको अभाव, प्राविधिक जानकारी पाउन भन्झटिलो व्यवस्था, बजार क्षेत्रमा सडकले दायाँबायाँ ओगट्ने क्षेत्र स्पष्ट नहँुदा निजी आवास निर्माणमा अपेक्षाभन्दा ढिला भएको पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताए । ‘४१ हजार ७९४ परिवार दोस्रो किस्ता अनुदानका लागि सिफारिस भएका छन्,’ गौडेलले भने, ‘आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताका लागि ५ हजार ४०८ परिवार मात्रै योग्य देखिएका छन् ।’ सरकारी तथ्यांकअनुसार कूल लाभग्राहीमध्ये तोकिएको मापदण्डअनुसार दोस्रो किस्ता पाउने लाभग्राही ६५ दशमलव १६ प्रतिशत छ भने तेस्रो किस्ता पाउने ८ दशमलव ४३ प्रतिशत मात्र छ । निर्माण सम्पन्न भएका १२ हजार ६५२ घरले तोकिएको मापदण्ड पूरा नगर्दा अनुदान सिफारिस रोकिएको एकाइले जनाएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।