अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना

अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना

प्रकाश दाहाल

तराई–मधेश र पहाडबीचको ध्रुवीकरण बढ्दै थियो, राजनीतिक दलहरु बीचको बिमति उत्कर्षमा थियो, देश भर्खरै नाकाबन्दीको त्रासदीबाट तङ्ग्रदै थियो, आर्थिक सूचाकांकहरु ऋणात्मक थिए, संविधान कार्यान्वयन रछ्यानमै थियो, पूनर्निर्माणको गति कछुवाझैं मन्द थियो, सत्ता सञ्चालकहरु नै जातीय, क्षेत्रीय द्वन्द्वका सारथी बन्दै थिए, राष्ट्रिय स्वाभिमान र आन्तरिक राष्ट्रियता नै धरापमा पर्ने जोखिम बढ्दै थियो, असन्तुष्ट शक्तिहरुलाई तान्ने र धकेल्ने होडबाजी चलिरहेकै थियो, यस्तो अत्यन्तै प्रतिकूल परिस्थितिका बीच गत साउन १९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।
प्रकाश दाहाल

राष्ट्रिय राजनीति मात्र नभएर गठबन्धन र पार्टी जीवनका दृष्टिले पनि यसपटक ठूलै चुनौतिहरु थियो । अघिल्लो कार्यकालमा संसदको सबैभन्दा ठूलो दल, क्रान्तिको रापताप, जनताको बाह्य समर्थन र प्रेरणाजस्तो सकारात्मक परिस्थिति हुँदाहुँदै पनि अपेक्षाकृत नतिजा हासिल गर्न चुकेको र सरकारबाट बाहिरिनु परेको तीतो अनुभूति हाम्रासामू थियो । त्यसैले यसपटकको कार्यकाल जसरी पनि फलदायी र नयाँ पुस्ताका लागि प्रेरणादायी बनाउनुपर्छ भन्ने प्रधानमन्त्रीको सोंचमा सचिवालयको सिङ्गो टिम एकाकार थियो । हामीले प्रधानमन्त्रीको त्यही संकल्पलाई शिरोधार्य गर्दै आफ्नो जिम्मेवारी प्रारम्भ गर्यौं ।

प्रधानमन्त्रीको निष्कर्ष थियो, अहिलेको जिम्मेवारी मेरो र माओवादी पार्टीका लागि चुनौतिपूर्ण अवसर हो । एक अर्थमा भन्नुपर्दा प्रधानमन्त्री खुकुरीको धारमा हिडिरहनुभएको थियो । संसदको तेस्रो ठूलो दल राष्ट्रसामू विद्यमान चुनौतिको भारी बोकेर अगाडि बढ्नु चानचुने पक्कै थिएन । त्यसैले हामीले संकल्प गर्यौं, ‘धेरै राम्रो गर्न नसके पनि नराम्रो किमार्थ नगरौं, हाम्रो सामथ्र्य र इमान्दारिताको भरपुर प्रयोग गरेर गुणात्मक नतिजा हासिल गरौं ।’ यही संकल्पका साथ हामी निरन्तर प्रधानमन्त्रीको सचिवालयमा खटिरह्यौं ।

कार्यभार सम्हाल्दै गर्दा प्रधानमन्त्रीले सरकारको मूख्य गोल निर्धारण गर्नुभएको थियो । (१) संविधानको स्वीकार्यता बढाएर प्रभावकारी कार्यान्वयन, (२) भूकम्पको पुनर्निर्माण र नवनिर्माण, (३) शान्ति प्रक्रियाको पूर्णता, (४) सुशासन र जनताको जीवनमा सकारात्मक परिवर्तनको प्रत्याभूति र (५) उल्लेखित गोलको कार्यान्वयनमार्फत् आर्थिक समृद्धिको लक्ष्य हासिल । यी कार्यभार असम्भव पक्कै थिएनन् । तर, चुनौतिपूर्ण थिए । हामीले उल्लेखित गोललाई नै आफ्नो दैनिक कार्यसूचिमा राख्ने प्रयत्न गर्यौं र कामलाई अगाडि बढायौं ।

एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ ।

राज्य अकर्मण्यतामै थियो, जनतामा निरासा थियो, देशको अर्थतन्त्र ऋणात्मक दिशामा थियो, राजनीतिक दलहरु बीचको अविश्वास चुलिँदो थियो । युद्धको रापताप र सर्वाधिक ठूलो शक्ति हुँदासमेत अपेक्षित सफलता हासिल गर्न नसकेका प्रचण्डले के नै पो गर्लान् र ? मानिसहरुको अविश्वास प्रष्टै झल्कन्थ्यो । अध्याँरोमा जुनकिरीको सहाराबाट गन्तव्यको खोजी गर्नु सरल र सहज पक्कै थिएन । तर, प्रधानमन्त्रीले हिम्मत हार्नु भएन, आफ्नो सम्पूर्ण सामथ्र्य देशको समृद्धि र जनताको जीवनमा परिवर्तन ल्याउन नै खर्चिनुभयो ।

सुरुको साता बधाई र शुभकामनामै बित्यो । तर, हामी धेरै दिन त्यसमा अल्झन चाहेनौं । किनकि, आलोपालो सत्ता समीकरणमा सम्झौताका कारण हामीलाई एक मिनेट पनि ज्यादै महत्वको थियो । हामीले बधाई र शुभकामनाको कार्यसूचि छोट्यायौं । प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिन पनि नपाउने ? भन्ने गुनासाहरु हामीकहाँ नआएका पक्कै होइनन् । हामीले ठान्यौं, ‘बरु शुभेच्छुकहरु रिसाए पनि हामी कन्भिन्स गर्न सक्छौं । तर, गोलबाट चुक्यौं भने इतिहासको महत्वपूर्ण अवसर हामीले गुमाउनेछौं ।’ त्यसैले हामीले कुनै पनि दवाव, प्रभावमा नपरी परिणाम दिने कुरामा सम्पूर्ण ध्यान केन्द्रित गर्यौं ।

प्रधानमन्त्रीको पहिलो ध्यान ध्रुवीकरणउन्मूख राजनीतिलाई सामान्यीकरण गर्नु थियो । राजनीतिक सहमतिका जगमा संविधान कार्यान्वयनको आधार तयार पार्नुलाई उहाँले आफ्नो कार्यकालको प्राथमिक सूचिमा राख्नुभयो । संविधानप्रति असन्तुष्ट शक्ति, दल र नेताहरुसँगको सघन सम्वादको प्रारम्भ भयो । यसले राजनीतिक वातावरणलाई सहज मात्रै बनाएन, देशको विकास आयोजनाहरुको प्रगति र आर्थिक सूचाकांकहरु सकारात्मक दिशामा बदल्न गुणात्मक योगदान समेत गर्यो । झण्डै दस महिने कार्यकालमा बन्द, हड्तालको स्थिति देखा परेन, त्यसको एक मात्रै कारण राजनीतिक ध्रुवीकरणलाई सहमतिको मार्गमा डोर्याउने प्रधानमन्त्रीको अथक र सार्थक प्रयास नै थियो ।

यस अवधिमा जनतामा रहेको निरासालाई आशामा कसरी बदल्न सकिन्छ ? यो सवाल हाम्रा लागि चासोको विषय रह्यो । उज्यालो युगको प्रारम्भ कसरी गर्ने ? ‘गरे सकिन्छ’ भन्ने सन्देश कसरी प्रवाह गर्ने ? हाम्रो ध्यान त्यतातिर थियो । लोडसेडिङको अन्त्यका लागि सरकारका तर्फबाट चालिएका कदम त्यही लक्ष्य प्राप्तिका प्रयासहरु थिए, जसले हामीलाई सफल बनायो । एक वर्ष अघिसम्म सुन्दासमेत असम्भव लाग्ने उज्यालो नेपाल अभियान व्यवहारिक रुपमै प्रयोगमा आयो । यसले देशको मनोबल, अर्थतन्त्र र जनताको दैनिकीमा गुणात्मक अर्थ राखेको छ ।

विदेशमा रहेका नेपालीहरुका समस्याबारे विगतमा कुनै पनि सरकार गम्भीर नभएको जनगुनासो र तीतो अनुभूति हाम्रासामू थियो । खाडी मुलूकमा पसिना बगाइरहेका देशका मेरुदण्ड युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्नुपर्दथ्यो । तत्काल पूर्ण कार्यान्वयन चुनौतिपूर्ण नै थियो । तर, राज्यले विदेशी भूमिमा उनीहरुले भोगेका समस्याहरुको सम्बोधन गर्न सक्थ्यो । यस अवधिमा विदेशमा रहेका नेपालीहरुका पक्षमा नीतिगत, कुटनीतिक, कानूनी र व्यवहारिक पहलमार्फत् थुप्रै काम गरियो । २७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए । हामीले फोन, इमेल र सामाजिक सञ्जालमार्फत् आएका गुनासाहरुलाई पनि उच्च प्राथमिकतामा राख्यौं र यस अवधिमा हजारौं नेपालीहरुको रद्दार र राहतको काम गरियो ।

२७ लाखसम्म म्यादी बीमाको व्यवस्था, राहदानी नवीकरणमा सहुलियत, सीड मनिको व्यवस्था, विदेशी जेलमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन र कुटनीतिक पहल लगायतका महत्वपूर्ण कामहरु गरिए ।

नयाँ सरकार गठनपूर्व विकास आयोजनाहरुको प्रगति कछुवाको गतिमा थियो । प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट आयोजनाहरुको अनुगमन, निरीक्षणका लागि मातहतका संयन्त्रहरुलाई निर्देशित मात्र गर्नुभएन, आफै अहोरात्र खटेर विकास आयोजनाको अनुगमन र निर्देशन दिने काम गर्नुभयो । आज विकास आयोजनाहरुमा उच्च प्रगति हासिल भएको छ, आर्थिक वृद्धिद्धरमा देखिएको उत्तरयात्रा त्यसैको प्रतिफल थियो, जुन कुरा विकास र समृद्धिको नेपाली मानचित्रमा सधैं सुनौला अक्षरले अङ्कित हुनेछ ।

सन्तुलित विदेश नीति र हार्दिक सम्बन्ध विकास गर्न प्रधानमन्त्री एकलब्य भएरै लाग्नुभयो । भारतको राजकीय भ्रमण, ब्रिक्स्–बिमस्टेक सम्मेलनमा भएको त्रीपक्षीय सम्वाद र कार्यकालको उत्तरार्धमा गरिएको चीन भ्रमणले नेपालको सन्तुलित विदेश नीतिलाई मात्रै प्रमाणित गरेन, सरकारको परिपक्वता र राष्ट्रिय हितलाई पनि नयाँ स्तरमा विकास गर्यो । त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ ।

यस अवधिमा राजनीतिक अक्करका बीच थुप्रै उपलब्धिहरु हासिल गरिए । भनिन्छ, ‘कमल हिलोमै फूल्छ ।’ चुनौतिपूर्ण जिम्मेवारी अवसरमा बदलिएको छ । होला त चुनाव ? गर्लान् त प्रचण्डले ? देलान् त मधेशी दलले ? आफू हार्ने चुनाव गर्न मान्ला त माओवादीले ? पुग्ला त तयारी ? नियत सही वा गलत जे भएपनि राजनीतिक वृत्तमा यी प्रश्नहरु घुमिरहेकै थिए । तर, सरकारले आफ्नो संकल्प भुलेन्, प्रतीज्ञाबाट गलेन । गाउँपालिका र नगरपालिकाको संरचना निर्माण गरी सिंहदरबारको अधिकार जनताको घरदैलो लैजाने र त्यसको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको सफलता नेपाली राजनीतिका लागि एक ऐतिहासिक कोशेढुङ्गा नै हुनेछ भन्ने हाम्रो विश्वास छ ।

झण्डै दश महिनाको छोटो अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरु सामान्य पक्कै छैनन् । यसका लागि प्रधानमन्त्रीको अथक प्रयास, संकल्प, इमान्दारिता र ईच्छाशक्ति मुल रुपमा जिम्मेवार छ । साथसाथै गठबन्धन र मन्त्रीपरिषदका सदस्यहरुको पनि कम योगदान पक्कै छैन । तर, प्रधानमन्त्रीको कार्याकाल सफल बनाउन हाम्रो सचिवालयले खेलेको भूमिका पनि निकै महत्वपूर्ण छ । यस अवधिमा सचिवालय टिमको निष्ठा, समर्पण र केही गरिछाड्ने प्रधानमन्त्रीको संकल्पमा बलियो साथ रह्यो । जसले हामीलाई उर्जा मात्रै नभएर भविष्यका लागि नयाँ अनुभव पनि हासिल भएको छ ।

त्रीदेशीय सम्बन्धमा गाढापन, हुलाकी राजमार्ग निर्माणको तिब्रता, पूर्व समझदारीहरुको कार्यान्वयन, वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर, फास्ट ट्रयाक निर्माणको निर्णय, बहुप्रतीक्षित जलासययुक्त बुढीगण्डकी आयोजना निर्माणको निर्णयसम्म आइपुग्दा सरकारमाथि लगाइएका कल्पित र भ्रामक अभियोगहरु धुलिसात मात्रै भएनन्, देशकै आर्थिक समृद्धिमा नयाँ युगको सुत्रपात पनि भयो । यसले सम्पूर्ण नेपालीमा आँटे सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ ।

प्रधानमन्त्रीको कार्यसूचि अनुसार समय, कार्यक्रमको व्यवस्थापन गर्नु, राजनीतिक, प्रशासनिक, कुटनीतिक र जनस्तरमा समन्वय गर्नु, गतिविधिहरुको सम्प्रेषण र समीक्षा गर्नु, कामहरुको अनुगमन र निरीक्षण गर्नुजस्ता जिम्मेवारी सचिवालयको काँधमा नै थिए । हामीले कठोर भएर नै समय र कार्यतालिकाको व्यवस्थापन गर्यौं । कहिलेकाहीँ प्रधानमन्त्रीका प्राथमिकता र भेट्न चाहनेहरुका आकांक्षामा अन्तर पथ्र्यो । त्यस्तो परिस्थितिमा हामी उदार बनेको भए सायद प्रधानमन्त्रीबाट राजीनामा दिएर निस्कदा हाम्रो शिर ठाडो नहुन पनि सक्थ्यो । हो, हाम्रो त्यही कठोरता पनि अपेक्षित प्रतिफलका लागि साधक बन्यो ।

अति केन्द्रिकृत सोंच, संरचना र प्रणालीमा सबै कामको अपेक्षा प्रधानमन्त्रीसँगै गर्नु अन्यथा थिएन । तर, हामीले चाहेर पनि त्यो अपेक्षा पुरा गर्न सक्दैनथ्यौं । कतिपय अवस्थामा पार्टीकै साथीहरुकै भावनाको पनि सम्बोधन हुन सकेन । कतिले आफ्नै अध्यक्ष भेट्न नपाएको गुनासो गर्नुभयो । तर, हाम्रा लागि प्रचण्ड कुनै पार्टीको अध्यक्ष मात्रै नभएर सिङ्गो देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसैले हाम्रो कार्यतालिकामा राष्ट्रिय हित मूख्य प्राथमिकतामा पर्यो, जुन स्वाभाविक मात्रै नभएर जरुरी पनि थियो ।
जेठ १० गते देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्दा हामी कसैमा पनि लघुताभाष, आत्मग्लानी वा निरासाको भावना थिएन । हामीले चाहे जति सबै गर्न पक्कै सकेनौं । तर, जति गरेका थियौं, त्यसमा हामी सन्तुष्ट थियौं । न हामीसँग सरकार छोड्नुपर्दा कुनै तीतो अनुभूति थियो, न त कुनै अभिमान नै । बरु, वर्तमान सरकारले हासिल गरेका उपलब्धिहरुको निरन्तरता र पाइप लाइनमा छिरेका प्रगतिहरुको भविष्य के होला ? हामीमा अलिकति चासों र सरोकार पक्कै थियो । तर, मुल रुपमा हामी सफल भयौं र निरासान्मूख नेपाली राजनीति र नयाँ पुस्तालाई आशाको किरण छर्न सफल भयौं, त्यही नै हाम्रो सफलता र भविष्यको उर्जा पनि हुनेछ ।

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय