अान्तरिक तथा बाह्य पर्यटकको रोजार्इमा अपी हिमाल
दार्चुला, कार्तिक १५ ।
अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ ।
सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार ७५७ मिटर उचाइको नाम्पा हिमाल, तथा ६ हजार ६७० मिटर उचाइको व्यास हिमालको मनोरम दृश्य एकै पटक एउटै ठाउँबाट देख्न सकिने भएपछि विदेशी पर्यटकको रोजाइमा अपी हिमाल क्षेत्र परेको हो । जिल्लाको दुई वटै बाटो भएर अहिले विदेशी पर्यटक अपी हिमाल आधार शिविरसम्म पुग्छन् ।
भौगोलिक रुपमा सहज तथा सजिलो बाटोका रुपमा गोकुलेश्वर, लटिनाथ, घुसा हुँदै अपी हिमाल आधार शिविर पुग्ने बाटो सुविधायुक्त छ । गोकुलेश्वर, खलङ्गा, व्यास हुँदै अपी हिमाल पुग्ने त्रिदेशीय सीमा तथा बाटो निर्माण गर्न सके अझै पर्यटक बढाउन सकिने बताइएको छ ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत मनोज अवस्थीका अनुसार सो संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत २५ प्रकारका स्तनधारी जनावर पाइन्छ ।
त्यस्तै डाँफे, मोना, चील, च्याखुरालगायत २४३ प्रजातिका चराचुरुङ्गी पाइने गरेको छ । यीनै जीवजन्तु र चराचुरुङ्गी हेर्न पनि विदेशी पर्यटक पछिल्लो समय उक्त संरक्षण क्षेत्रको अपी हिमालतर्फ पदयात्रा गर्न मन पराउने गरेको संरक्षण अधिकृत अवस्थीको भनाइ छ । यस आर्थिक वर्षको शुरुवातदेखि नै अपी हिमाल क्षेत्रमा पर्यटक आउने क्रम चलेको छ । एक महीनाअघि युरोपियन मुलुक चेक गणतन्त्रका आठ विदेशी अपी हिमालबाट फर्किएपछि पर्यटक आउने क्रम बढेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार केही जर्मन नागरिक अपी आधार शिविरतर्फ घुम्न गएका छन् ।
संरक्षण क्षेत्र कार्यालयबाट १५ दिनको अनुमति लिएर जर्मन नागरिक जोसिफ र जानुस त्यसतर्फ गएको बताइएको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाको अनुमति लिएर हालसम्म ६ विदेशी नागरिक अपी आधार शिविरतर्फ गएका छन् ।
यस्तै अपी नाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट विटुले हुँदै विदेशी पर्यटक अपी हिमाल अवलोकनमा जाने गरेका छन् । विटुलेबाट कति पर्यटक गए भन्ने यकिन तथ्याङ्क जिल्लामा आइनसकेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यस्तै केही विदेशी पर्यटकहरु पर्यटन विभागबाटै स्वीकृति ल्याएर आउने गरेको कारण यकिन तथ्याङ्क कार्यालयसँग नभएको संरक्षण अधिकृत अवस्थीको भनाइ छ ।
जिल्लामा आव ०७४/७५ मा २७ र ०७३/७४ मा २५ जना विदेशी पर्यटकले अपी नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । यस क्षेत्रको अवलोकनका लागि आउने पर्यटक आउने गरेको रेञ्जपोस्ट विटुलेका इञ्चार्ज भुवनेश्वर चौधरीले बताए ।
महीनामा तीन–चार जना पर्यटक अपी हिमाल पुगेर फर्किने गरेका छन् । यहाँका आकर्षक पर्यटकीय गन्तव्यस्थलको प्रचार प्रसार हुन सकेको छैन । उनले भने, “पर्यटकका लागि आवश्यक सुविधा सम्पन्न होटल, पथप्रदर्शक तथा घरबाससमेत प्रभावकारी सञ्चालन गर्न सएिको छैन ।” पूर्वाधारका लागि पर्यटन क्षेत्रमा लगानी हुन नसक्दा विदेशी पर्यटक तान्न नसकिएकोे अपी पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले बताए ।
जिल्लाका साबिकका २१ गाविस समेटेर अपी नाम्पा संरक्षण क्षेत्र बनेको छ । तर कार्यालयले पर्यटक तान्ने गतिविधि गर्न नसक्दा प्रचार प्रसार हुन नसकेको नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव कृष्णसिंह धामीले बताए । रासस
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणनाः ट्रम्प जीत नजिक
न्यूयोर्क ।अमेरिकामा जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितनजिक पुगेका छन् । पछिल्लो नतिजाअनुसार ट्रम्पले २४६ इलेक्ट्रोल कलेज प्राप्त गरेका छन् भने ह्यारिसको पक्षमा १८७ प्राप्त भएको छ । अमेरिकी राष्ट्रपतिमा जीत हात पार्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ, जहाँ पुग्न अब ट्रम्पलाई २४ कलेज चाहिन्छ । सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बनेका उनी सन् २०२० मा डेमोक्रेटिकका जो बाइडनसँग पराजित भएका थिए । तर उनले तेस्रो पटकको प्रतिस्पर्धामा राष्ट्रपतिको कुर्सीमा फर्किने करिब निश्चित गरेका छन् । राष्ट्रपतिमा ट्रम्प अघि चलिरहँदा रिपब्लिकन पार्टीका लागि अर्को खुसीको खबर आएको छ । संसदको उच्च सदन- सिनेटमा रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ। पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो संख्या बहमुतभन्दा माथि पुर्याएको हो। यसका साथै अब सदनमा रिपब्लिकन पार्टीका ५१ र डेमोक्रेट पार्टीका ४९ सांसद भएका छन् । ओहायोबाट डेमोक्रेट पार्टीका सिनेटर शेरोड ब्राउन आफ्नो चौथो कार्यकालका लागि लडिरहेका थिए । तर यहाँ उनलाई लग्जरी कार डिलर तथा रिपब्लिकनका प्रत्याशी बर्नी मोरेनोले हराइदिएका हुन् । यसअघि सिनेटर जो मेन्शिन तेस्रोको रिटायरमेन्टपछि खाली भएको सिटमा वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले कब्जा जमाएका थिए । यसका साथै रिपब्लिकन पार्टीलाई सिनेटमा बहुमत लिएको हो ।
स्थानीय तह उपनिर्वाचनः रुकुमपश्चिममा माओवादीविरुद्ध कांग्रेस–एमाले–नेसपा गठबन्धन
रुकुम । जनप्रतिनिधि खाली भएको ठाउँमा उपनिर्वाचनको मिति तोकिएसँगै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा चुनावको माहोल तातिएको छ । वडाध्यक्ष अलबहादुर खत्रीको मृत्यु भएपछि सानीभेरी ५ मा पनि देशभर जनप्रतिनिधि रिक्त रहेका ठाउँमा जस्तै मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । उक्त वडामा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टी नेसपा सम्मिलित गठबन्धन र नेकपा माओवादी केन्द्रका बिचमा प्रतिस्पर्धा हुने भएको छ । २०७९ सालमा पनि यही प्रतिस्पर्धा भएको थियो । जसमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अलबहादुर खत्री २८ मतको झिनो अन्तरले विजयी हुनुभएको थियो । उपनिर्वाचनका लागि गठबन्धन र नेकपा माओवादी केन्द्र दुवैले उम्मेदवारको टुङ्गो लगाएका छन् । गठबन्धनले नेपाली काँग्रेसका मोतीराम खत्रीलाई उम्मेदवार बनाएको छ । उहाँ दिवङ्गत वडाध्यक्ष खत्रीका सहोदर भाइ हुनुहुन्छ । उहाँ शिक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको चुनाव लड्दै हुनुहुन्छ । ३६ वर्षीय मोतीरामले नेपाल राष्ट्रिय मावि घापाघारमा १५ वर्ष प्राविको अस्थायी दरबन्दीमा शिक्षण गर्नुभयो । उहाँको विरुद्धमा नेकपा माओवादी केन्द्रले पूर्व जनप्रतिनिधि जसिराम बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बस्नेत २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर एक कार्यकाल बिताइसक्नु भएको छ । पार्टीका सानीभेरी गाउँपालिका सदस्य ४५ वर्षीय बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र सानीभेरीका सचिव दीपक बाँठामगरले जानकारी दिनुभयो । दुवै पक्ष चुनावको तयारीमा जुटेका छन् । बैठक, छलफल, घरदैलो देखि अन्य प्रचारका काममा व्यस्त रहेको दुवै पक्षले बताएका छन् ।
अमेरिकामा राष्ट्रपतिको मतगणनाः अग्रता फराकिलो बनाउँदै ट्रम्प
न्यूयोर्क । दक्षिणी क्यारोलिनाका ९ इलेक्ट्रोल मतमा डोनाल्ड ट्रम्पले सफलता पाएका छन्। ४ इलेक्ट्रोल मत भएको रोज आइजल्यान्डमा कमला ह्यारिसले सफलता पाएकी छिन्। केनेटीकटको ७ इलेक्ट्रोल मत ह्यारिसको पक्षमा परेको छ। मासा चेउटको ११ इलेक्ट्रोल मत कमला ह्यारिसको पक्षमा परेको छ। ७ इलेक्ट्रोल मत रहेको ओकाहामामा ट्रम्पले सफलता पाए। ३० इलेक्ट्रोल मत रहेको फ्लोरिडामा रिपब्लिकको पक्षमा परेको छ। ११ इलेक्ट्रोल मत रहेको टिनएजमा ११ इलेक्ट्रोल मत रहेको ट्रम्पको पक्षमा रहेको छ। १४ इलेक्ट्रोल मत रहेको न्यूजर्सी कमला ह्यारिसको पक्षमा रहेको छ। ६ इलेम्क्ट्रोल मत रहेको अरान्कासमा रिपब्लिकले सफलता पाएको छ। हालसम्म भएको गणनामा आधारमा ट्रम्पको पक्षमा १६२ तथा ह्यारिसको पक्षमा ८१ इलेक्ट्रोल मत देखिएको छ।
उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता होः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौं, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेण्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रुपमा अघि बढ्ने छ ।’ माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारवाहीका कारण जनताको बीचमा महत्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिबिधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनौट गर्ने भन्ने परीक्षणको समय पनि हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अघि सारेको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा ईञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ । कीर्तिपुर नगर समितिले तिनै जना उम्मेदवार सर्वसम्मतरुपमा चयन गरेको जानकारी गराएपछि खुशी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनौटले जीतको राम्रो सुरुवात गरिसकेको बताउनुभयो । उहाँले विगतका अनुभव हेर्दा चुनावमा हार्नुमा आन्तरिक एकता नहुनु समस्याको रुपमा रहेको उल्लेख गर्दै उहाँले यसपटक आन्तरिकरुपमा पार्टी एक भएर उम्मेदवार छनौट गर्नु, सबै नेता कार्यकर्ता चुनावमा खटिन तयार हुनु र राष्ट्रियरुपमा पार्टीको पक्षमा माहोल बन्दै गएकाले यसपटक कीर्तिपुरसहित धेरै नयाँ ठाउँमा उपचुनाव जितिने आधार बनेको बताउनुभयो । सो क्रममा नगर प्रमुखका उम्मेदवार महर्जनले जित्ने विश्वासका साथ अघि सरेको उल्लेख गर्दै आफू निवृत्त प्राध्यापक भएकाले जितेमा सबै तलब भत्ता सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा माओवादी केन्द्रका नेताहरु अग्नि सापकोटा, सूर्य सुवेदी ‘पथिक’, कृष्णध्वज खड्का, सरल सहयात्री, दिलिप महर्जनलगायतले उम्मेदवार छनौट र चुनावी तयारीबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो । यसअघि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार निमलेखी शेर्पा(डोल्मा)लाई पनि अध्यक्ष प्रचण्डले आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिनुभएको थियो । सो क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिशाल खड्कालगायतले गौरीशंकर गाउँपालिकामा भएको चुनावी तयारीबारे जानकारी गराउनुभएको थियो ।