‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र

‘आजाद भिसा’ का नाममा तस्करी: कतारमा ४० नेपाली अलपत्र

काठमाडौं, चैत २ ।चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् ।

ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्रेडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्रेड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्रेडिङ र फोल्रा ट्रेडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए । कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् ।

के हो ‘आजाद भिसा’ ?
कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् ।

यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’

गुमराहमा श्रम स्वीकृति
कामदार पठाउन मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन् । वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । तर, यी म्यानपावरले त्रिभुवन विमानस्थल कटाउनका लागि श्रम स्वीकृति निकालेका हुन् । ‘हामीलाई कतार पुगेपछि अर्को कम्पनीमा सुरक्षा गार्डको काम दिलाउँछु, त्यसका लागि आशिष दाहालले काम खोजिदिन्छ भनेर पठाएको थियो,’ १ लाख ८० हजार रुपैयाँ बुझाएर कतार पुगेका रसुवाका धर्मसिंह गुरुङले भने, ‘यता आइसकेपछि थाहा पाउँदा त अर्कै रहेछ ।’

राम्रो काम र तलब पाइन्छ भनेर नै आजाद भिसामा आएको पीडित सहदेव गौतमले बताए । ‘खोजी खोजी मन लागेको काम गर्न पाइन्छ भनिएको थियो,’ उनले भने, ‘यता आएपछि थाहा भयो, आजाद भन्ने केही हुँदैन रहेछ । कम्पनीकै भिसा रहेछ । त्यो कम्पनीले अर्कोमा जान अनुमति नदिएसम्म कतै जान नपाइनेरहेछ ।’ पीडितहरूको सम्पर्कमा ती दलाल छैनन् । पीडितसँग समन्वय गरिरहेका बीबी खरालले विभाग र कामदारलाई झुक्काउने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए ।

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय