उपत्यकाका प्रमुख नदीबाट ३० मेट्रिक टन फोहर निकालियो
काठमाडौं, चैत ५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइको २ सय १ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ८ सय ५० अभियानकर्मीको सहभागिता रहेको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व अभियन्ताहरु नारायणकुमार श्रेष्ठ, अर्जुन धरेल, हेमराज कार्की र टङ्कराज आचार्यले संयुक्त रुपमा गरेका थिए ।
सफाइ महाअभियानलाई शनिबारनै पशुपतिमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले पाँच हजार थान मास्क, पाँच हजार थान पञ्जा, ५० जोर बूट र २० वटा डोको हस्तान्तरण गरेका थिए ।
बैंकको मुख्य कार्यालय पोखरामा हुँदा पोखरा सफाइ अभियानलाई सहयोग गरेजस्तै कार्यालय काठमाडौँमा सरेपछि वाग्मती र यसका सहायक नदी सफाइमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यसैको सिलसिलामा बैंकको कार्यालय नजिक रहेको इच्छुमती (टुकुचा) सफाइ अभियान शुक्रबारदेखि सुरु गरिएको छ । टुकुचा अपेक्षाकृत बढी फोहर रहेकाले यस वरपरका संस्थालाई सङ्गठित गरी विशेष अभियान सुरु गर्ने तयारी भइरहेको बैंकका सञ्चालक समेत रहनुभएको वाग्मती अभियन्ता नारायण श्रेष्ठले बताए ।
शनिबारको सफाइ अभियानमा पूर्व सचिव डा कृष्णचन्द्र पौडेलले सहभागीलाई सपथ खुवाउनुभएको थियो ।
वाग्मती सफाइ महाअभियानको २ सय २ औँ हप्तामा आगामी शनिबार थापाथली क्षेत्रमा सफाइ गरिने जानकारी पनि सो अवसरमा गराइएको छ ।
रुद्रमती सफाइको १ सय ६० औँ हप्तामा बिजुली बजार पुलमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
विष्णुमती सफाइको १ सय ३२ औँ हप्तामा मनमैँजु भत्केको पुल क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता विजेन्द्र लामाले जानकारी दिए । टोखा नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा र तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा शनिबारको सफाइ अभियान सञ्चालन भएको थियो । सफाइमा ८ सय अभियन्ताको सहभागिता थियो ।
तारकेश्वर नगरपालिकाको दियालो टोलमा शनिबार विशेष सफाइ गरिएको अभियन्ता लामाले जानकारी दिनुभयो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १ सय ६२ औँ हप्तामा आज रुद्रेश्वर वाटिकामा सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ एवम् रेखदेखको जिम्मेवारी समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकालबारी टोल सुधार समितिलाई दिइएको छ ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यो महाअभियान सुरु भएपछि वाग्मतीका सहायक नदीका साथै देशका २६ स्थानमा सफाइ अभियान सुरु भएको छ ।
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मोहन वैद्यको आइसियुमा उपचार हुँदै
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ । विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो । अधिवेशनको काममा भागदौड गर्दा स्वास्थ्यमा समस्या देखिएकाले उहाँलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा.निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुनुहुन्छ । हरेक वर्ष जाडो याममा उहाँलाई दमको समस्या बढ्ने गर्छ ।
आज त्रिविका १४ हजार बढी विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा त्रिविले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुँदैछन् ।
आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प
काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।