उपत्यकामा दसैँका लागि नयाँ नोट सटहीदेखि काठमाडौं बाहिरिने गतिविधि बढ्दै

उपत्यकामा दसैँका लागि नयाँ नोट सटहीदेखि काठमाडौं बाहिरिने गतिविधि बढ्दै
काठमाडौं, भदौ २३ ।

दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा

व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले मागअनुसार ल्याउन आफूहरू तयार भएको बताए । हाल साप्ताहिक रूपमा पाँच हजार खसी, बोका आयात र खपत भइरहेको छ ।

प्रतिकिलो पाँच सय : हाल जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ । दसैँँमा आयात बढाउनुपर्ने भएकाले मूल्य बढ्ने अध्यक्ष पाठकले बताए । हाल काटेको खसीको मासु प्रतिकिलो ८५० देखि ९ सयसम्म पर्छ । व्यवसायीले करिब ३ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् । हाल प्रतिकिलो ७ सय छ । दसैँमा केही बढ्ने अनुमान छ ।

एकजनालाई २७ हजारबराबरका नयाँ नोट
नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत सुविधा दिनेछ । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

४० अर्ब नयाँ नोट साटिने : यस वर्ष करिब ४० अर्बको नयाँ नोट सटही हुने अनुमान गरिएको छ । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ ।

बसको अग्रिम टिकट बुकिङ अनिश्चित
यातायात व्यवसायी भन्छन्, चार माग पूरा नभई बुकिङ खुल्दैन
चाडपर्वमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरे पनि व्यवसायीले असहयोग गरेपछि खुल्न सकेन । विभागले तोकिएको समयमा अग्रिम टिकट खुला नगरेको भन्दै व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ ।

चाडपर्वलाई दैनिक सात हजारसम्म सवारी
नेपाल यातायात व्यवसायी महासंघका अनुसार यात्रुको चाप बढेपछि चाडपर्वको समयमा दैनिक सात हजारसम्म सवारीसाधन काठमाडौंबाट बाहिर जानेछन् । अन्य समयमा काठमाडौंबाट दैनिक बाहिरिने भाडाका सवारीसाधनको संख्या २८ सयदेखि तीन हजारसम्म रहेको छ ।

हवाई टिकटमा चाप
आन्तरिक उडानमा दसैँलक्षित टिकट बुकिङ अत्यधिक रहेको वायुसेवा कम्पनीहरूले बताएका छन् । विशेषगरी घटस्थापनादेखि दशमीसम्मका सबैजसो टिकट बिक्री भइसकेको सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले बताए । उनका अनुसार नियमित उडानका टिकट सबैजसो बिक्री भएपछि वायुसेवा कम्पनीले माग हेरेर अतिरिक्त उडान थप्ने गर्छन् । सामान्यतः एक महिनाअघि नै टिकट होल्ड गरेर राख्ने प्रवृत्तिका कारण आन्तरिक उडानमा चाडबाड र पर्यटकीय मौसममा हवाई यात्रा कठिन हुने गरेको छ ।

सुपथ पसलमा १० रुपैयाँसम्म छुट
सरकारले १६ भदौदेखि उपत्यकाका ९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपत्यकाबाहिर साल्ट टे«डिङ कर्पोरेसनका २२ कार्यालयमा समेत सुपथ पसल सञ्चालनमा आएका छन् । खाद्य संस्थानले पनि छुट मूल्यमा चामल, फापर बिक्री गरिरहेको छ । उपत्यका र बाहिर २२ वटा घुम्ती पसल सञ्चालनमा छन् । सुपथ पसलमा एउटा परिवारले चामल ३० किलो र नुन ६ किलो खरिद गर्न पाउने व्यवस्था गरिएको छ । नुनमा २ र चामलमा ५ रुपैयाँ तथा घिउ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट गरिएको छ ।

उपत्यकाबाट बाहिरिने सबै नाका सुचारु छन् 
रमेशकुमार सिंह, सहप्रवक्ता, सडक विभाग

काठमाडौंबाट बाहिर जाने सबै राजमार्ग अहिले सुचारु छन् । कलंकी–नारायणघाट सडकका खाल्डाखुल्डी पुर्ने र सवारी आवतजावतलाई सहज बनाउने काम भइरहेको छ । मुग्लिङ–नारायणघाट खण्डमा सवारीसाधन सञ्चालन हुने समय वृद्धि गरेर यातायात सुचारु राख्ने तयारी भइरहेको छ ।

बसको छतमा बसेर दसैँमा घर जान पाउनुहुन्न
सर्वेन्द्र खनाल, प्रमुख, महानगरीय ट्राफिक
टिकट फिर्ता नलिने र ठग्न खोज्नेलाई तत्काल कारबाही हुन्छ । सवारीसाधन बिग्रिएर रोकिँदा पनि ढिलाइ हुने गरेको छ, त्यसलाई समाधान गर्न यातायात व्यवस्था विभागसँग क्रेनको माग गरेका छौँ । बसको छतमा बसेर यात्रा गर्न दिइन्न । नियमनमा कडाइ गर्दै छौँ। -नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय