उपभोक्ताको ढाड भाँच्दै करोडौं बोनस बाँड्दै निगम

उपभोक्ताको ढाड भाँच्दै करोडौं बोनस बाँड्दै निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर गत आव  २०७३-७४मा ९ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यसबाट निगमले कर्मचारीलाई वितरण गर्न थप करिब ५६ करोड रुपैयाँ बोनसका छुट्याएको छ । अब निगममा बाँड्न बाँकी बोनस रकम झण्डै ३ अर्ब रूपैयाँ पुगेको छ ।

तर, आयल निगम तत्कालै छुट्याइएको कुनै बोनस रकम बाँड्ने पक्षमा छैन । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई तत्काल कुनै पनि बोनस नबाँडिने बताउँछन् ।

संस्था समस्यामा हुँदाहुँदै ठूलो रकम बोनसका रुपमा बुझ्न लागेको भन्दै तीव्र आलोचाना भएपछि निगमका कर्मचारीले विगत ३ वर्षदेखि यस्तो रकम लिएका छैनन् ।

‘हामीलाई सरकारको निर्देशन नै बोनस नबाँड्नू भन्ने छ । त्यसैले सरकारी स्रेस्ता प्रणालीअनुसार बोनसका लागि उल्लेख हुनुपर्ने रकम कायम मात्रै गरिएको हो,’ कार्यकारी भट्टराई भन्छन्,’ स्पष्टरूपमा भन्छौं, यसको वितरण तत्काल गरिँदैन ।’

लामो समय घाटामा रहेको ३ वर्षदेखि आयल निगम निरन्तर नाफामा छ । आयल निगमले बोनस बापतको रकम बोनस ऐन र आफ्नो विनियमावलीअनुसार नै छुट्याइएको दावी गर्ने गरेको छ ।

यो वर्ष नयाँ बोनस ऐन आएकाले अर्को वर्षबाट नयाँ नियमअनुसार नै बोनस छुट्याइने निगमका एक लेखा अधिकारी बताउँछन् । निगमले गत वर्ष पनि झण्डै १ अर्ब १४ करोड र त्यसभन्दा अघिल्लो वर्ष ९० करोड रुपैयाँ रकम बोनसका रुपमा छुट्याइएको थियो ।

३ अर्ब बोनस रकमले हाइसञ्चो !

यो वर्ष छुट्याइएको ५६ करोड बोनससहित निगमको बोनसको स्रेस्तामा झण्डै २ अर्ब ८० करोडभन्दा बढी रकम जम्मा भएको छ । आर्थिक वर्ष २०६४र६५को १९ करोड बोनस पनि वितरण हुन सकेको छैन ।

‘बोनसको रकम नबाँडिदा सजिलो नै भएको छ । हामी घाटामा हुँदा पनि त्यही रकमले तेल र ग्यास किनिरहेका छौं,’ कार्यकारी निर्देशक भट्टराई भन्छन्,’चालु पुँजी अभाव भएका बेला यो रकमले काम चलाउँछौं । त्यसैले हामीलाई घाटामा चल्दा पनि ऋण लिनु पर्ने अवस्था पनि छैन ।’

निगमले गत आर्थिक वर्षमा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ कारोबार गरेको थियो । यसमध्ये उसले भारतीय आयल निगमलाई १ खर्ब ९ अर्ब भुक्तानी गर्‍यो ।

आय कर पनि तिर्यो

कुल ४७ अर्ब नाफा गरेको निगमले सरकारलाई ४ अर्ब ३ करोड रुपैयाँ आय कर पनि भुक्तानी गरेको छ । पूर्वाधारका लागि निगमले ९ अर्ब ४३ करोड रुपैयाँ छुट्याएको छ । खुद साढे ९ अर्ब रुपैयाँ नाफाबाट निगमले झण्डै ५७ करोड रुपैयाँ बोनसका लागि छुट्याएको हो ।

आपूर्ति र अर्थ मन्त्रालयले पेट्रोलियम भण्डारणका थप पूर्वाधारहरु तयार नगरी बोनस नबाँड्न भनेको छ । निगम पनि त्यो निर्देशन नकारेर बोनस वितरणमा जाने सुरमा छैन ।

जग्गा खरिदका क्रममा घोटाला भएको भन्दै निगमका उच्च अधिकारीहरु अनुसन्धानको घेरामा छन् । त्यसैकारण पनि निगमका अधिकारी थप आलोचित हुनुपर्ने र अख्तियारमै जवाफ दिनुपर्ने भन्दै बोनस नबाँड्ने पक्षमा उभिएका हुन् । नियमअनुसार भन्दै बोनस भने छुट्याएर राखिएको छ ।

बोनसको रकम नबाँडिएपछि पछिल्लो समय आयल निगमले घाटामा जाँदा पनि सरकारसँग ऋण माग्न छाडेको छ । बोनसको रकम नै परिचालित गर्न पाउँदा उसले आफ्नो भुक्तानी सयममै गर्न सकेको भट्टराई बताउँछन् ।

निगममा अहिले झण्डै साढे ४ स्थायी कर्मचारी छन् । करार र ज्यालादारीमा पनि निगममा थुप्रै कर्मचारी भर्ति भएका छन् ।

कर्मचारीको अपेक्षा अदालतमाथि

निगमका कर्मचारीले बोनस रकम रोकेको भन्दै सर्बोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । त्यसको फैसला पनि आउन बाँकी छ । आगामी १७ गते सो मुद्दाको पेशी तोकिएको छ । निगमका कर्मचरी अदालतले नै बोनस खाने बाटो खोलिदिने अपेक्षामा छन् ।

आयल निगम अहिले महिनामा झण्डै ४० करोड रुपैयाँ घाटामा छ । निगमलाई पेट्रोल र हवाई इन्धन बाहेक डिजेल र खाना पकाउने ग्यासमा ठूलो घाटा छ । भारतको भन्दा नेपालमा तेल सस्तो भएपछि भारततर्फ हुने तेल तस्करी बढेको छ ।

एकैपटक मूल्य बढाउँदा उपभोक्तालाई भार पर्ने भएकाले मूल्य समायोजन गर्दा घाटा नै राखेर भएपनि राहत दिइएको कार्याकारी निर्देशक भट्टराई बताउँछन् । उनी अहिले निगमको ध्यान बोनसतर्फ हुँदै नभएको दावी गर्छन् ।

इन्धनको चर्को मूल्य कायम गरेर नाफामा केन्द्रित हुने आयल निगमका कर्मचारीलाई बाँडिने बोनसको तीव्र आलोचना हुने गरेको छ । कमजोर वितरण प्रणालीका कारण उपभोक्ताले अनेकन सास्ती भोग्नुपरिरहँदा जिम्मेवार आयल निगमले बोनसका लागि रकम छुट्याउनु नै जायज नभएको सरोकारवालाको तर्क छ ।

विशेष गरी फितलो क्षमताका पूर्वाधारका कारण निगमको व्यवस्थापन निकै कमजोर बनेको छ । मुस्किलले ५ दिनलाई मात्रै पुग्ने भण्डारण क्षमताका कारण एक दिन आपूर्ति रोकिनासाथ बजारमा पट्रोलियमको हाहाकार सुरु हुने अवस्था छ । त्यसैले निगमले पूर्वाधार विकास नगरेसम्म बोनस बाँड्न नहुने आम सर्वसाधारणको पनि धारणा छ ।

राम्रो अवस्था तयार नहुँदै आयल निगमका कर्मचारीलाई नाफाका नाममा बाँडिने रकमलाई नागरिकले रुचाउँदैनन् । कमजोर भण्डारण क्षमतालाई बढाउन योजना बनाउँदै गरेको निगमले बोनसमा रकम खर्चिन नहुने आमनागरिकको धारणा छ ।

तर, निगमका अधिकारी बोनसका लागि नियमअनुसार नै रकम छुट्याउनुपर्ने तर्क गर्छन् । यसअघिको बोनस ऐनले नै सार्वजनिक संस्थानका कर्मचारीले नाफाको वाषिर्क ६ प्रतिशत रकम बोनस खान पाउने व्यवस्था गरेको थियो । अब यो ऐन सच्चिएकाले अर्को वर्षबाट बोनसका हकमा नयाँ नियम लागू हुने निगमका लेखा अधिकारी बताउँछन् ।

अनलाइनखबरबाट साभार

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

लोकप्रिय