एकतालाई अनिष्ट भन्नेहरूले हत्याकाण्ड जस्तो षडयन्त्र गर्न सक्छन्- प्रचण्ड (भिडियोसहित)

एकतालाई अनिष्ट भन्नेहरूले हत्याकाण्ड जस्तो षडयन्त्र गर्न सक्छन्- प्रचण्ड (भिडियोसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता मन नपराउने पक्षले जुनसुकै सीमासम्मको षडयन्त्र गर्न सक्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई ‘अनिष्ट भयो’ भनेर तर्सेका दक्षिणपन्थी शक्तिले वामपन्थी भित्रकै समूहलाई उपयोग गरेर एकतालाई भत्काउन जुनसुकै सीमासम्म जान सक्ने सम्भावना औंल्याएका हुन् ।

लेखक रामराजा रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै अध्यक्ष प्रचण्डले वाम एकताले नेपाली समाजको समृद्धि, स्थायित्व, विकास र सुशासनको जनताको चाहनालाई पूरा गर्ने भन्दै जनताले अनुमोदन गरेपनि यसलाई अनिष्टको संज्ञा दिनेहरूले षड्यन्त्र गर्न सक्ने बताउनुभएको हो ।

‘वाम एकताको घोषणाले पैदा गरेको तरङ्ग सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्को पक्षका लागि नकारात्मक पनि गुणात्मक रुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा निकै तीब्र हुनेवाला छ । अर्कोतर्फ माक्र्सवादी भित्रका दक्षिण, मध्य र उग्र प्रवृत्तिका बीचमा पनि पेचिलो बहस हुनेवाला छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो बहस बढ्दै जानेवाला छ । मलाई के लाग्छ भने परस्पर विरोधी कित्ता र आन्दोलन भित्रकै गलत चिन्तन र प्रवृत्तिसँग सम्बन्धितको कुरा गर्दा कहीँ न कतै त्यहाँ अनौठा अनौठा समीकरण देखिन सक्छन् ।’

नेपाली इतिहासमा वैचारिक, राजनीतिक र जनताको तागतको हिसाबले पराजित हुँदा अर्को कित्ताले अन्तिम लडाइँ लड्न चाहने र त्यो क्रममा माक्र्सवादी आन्दोलनका विचलनकारी शक्तिलाई नै उपयोग गर्ने अध्यक्षले बताउनुभयो । ‘यो संघर्षमा जनताको श्रमजीविको जीत हुनेतर्फ अगाडि बढ्यो । स्थायित्व, विकास र समृद्धितिर देश अगाडि बढ्दै गयो भने अर्को कित्तालाई सहने स्थिति नरहन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा यस्ता बिन्दु आउने गरेका छन् । चाहे राणाकालको उदयको कुरा गरौं या पछिल्ला परिघटनाको कुरा गरौं, दरबार हत्याकाण्ड या मदन भण्डारीको हत्यासम्म हेर्दा असह्य भएपछि यस्तो षड्यन्त्रमा उत्रिने देखिएको छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘परिवर्तन विरोधी अर्को वर्ग र पक्षधरले माक्र्सवादी आन्दोलनका विचलनलाई प्रोत्साहित गर्ने, मलजल गर्ने र त्यही भित्रबाटै लडाइँ लड्ने गर्छ । म उपस्थित विद्वान साथीहरूलाई निकै गम्भीर, सकारात्मक र रचनात्मकरुपले विचार गर्न अनुरोध गर्दछु ।’

अध्यक्ष प्रचण्डले नेपालको इतिहासलाई नयाँ ढंगले अघि बढाउन खोजिएको भन्दै इतिहासको निर्माता जनता भएको बताउनुभयो । अहिले निर्वाचनमार्फत् जनताले स्थायित्व, समृद्धि र सुशासनका लागि वाम एकतालाई अनुमोदन गरेको हुँदा त्यसबाट पछाडि हट्नै नसकिने जिकिर गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘पपुलर भोटको कुरा गर्दा ५१ प्रतिशत र प्रतिनिधिमूलक भोट ६७ प्रतिशत छ । त्यसैले यसलाई भत्काउन खोज्नेहरू जुनसुकै सीमामा जान सक्छन् । यसलाई भत्काउन ठूलाठूला षडयन्त्र हुने छन् । यसलाई भत्काउन या सुदृढ गर्ने दुई वटा विकल्प हाम्रा अगाडि छन् ।’

अध्यक्ष प्रचण्डले जनताले निर्वाचनमार्फत् एकताको पक्षमा आदेश दिएको दोहो¥याउनुभयो, ‘त्यही आदेश पालना गर्ने क्रममा बीचमा केही आग्रह, पूर्वाग्रह, संकीर्णता र अराजकताले केही उतारचढाव भयो ।’ प्रचण्डले भन्नुभयो, ‘अन्ततः जनादेशलाई स्वीकार गर्नैपर्छ र बाहिर जान खोज्यो भने सह्य र क्षम्य हुँदैन, माक्र्सवादी, जनवादी हुन सक्दैन भनेर पार्टी एकता गर्ने आधारमा हस्ताक्षर गरेका छौं । हामी पार्टी एकतातिर अघि गई नै सक्यौं । पछाडि फर्के खाल्डोमा फस्नुबाहेक विकल्प छैन ।’

नेपाली जनताले नेपालको तीब्र विकास भएको हेर्न चाहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । एकतापछि नेपालको इतिहासमा नै सबैभन्दा ठूलो सदस्य भएको पार्टी हुने बताउँदै उहाँले जनताले यो एकीकृत पार्टीबाट ठूलो अपेक्षा राखेको बताउनुभयो । ‘यसप्रति जनताको आशा निकै बढी छ,’ अध्यक्षले भन्नुभयो, ‘जनताले सुशासन, विकास, समृद्धि गरोस् भन्ने अपेक्षा छ । द्रुतगतिमा विकास होस्, सबैखाले बेथितिको अन्त्य होस् र समृद्ध नेपाल छिटो स्थापना होस् भन्ने जनताको अपेक्षाको दबाब नेतृत्वमाथि धेरै ठूलो परेको छ ।’

पुस्तकमाथि परिचर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले विश्वमा इतिहास २ किसिमले लेखिने गरेको बताउनुभयो । ‘एउटा राजा महाराजाले गरेका भनिएका चमत्कारका विषयमा इतिहास लेखिन्छ भने अर्को मजदुर जनताका श्रम र उत्पादन विकासका इतिहास लेखिन्छन्,’ प्रचण्डले भन्नुभयो, “राजा महाराजाको इतिहास लेखिनु पुजीवादी दृष्टिकोण हो भने जनताको इतिहास लेखिनु माक्र्सवादी दृष्टिकोण हो ।’

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय