औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ

औषधि निःशुल्क पाइँदैन, बाहिरै गएर किन्छौँ

बर्दिवास, साउन १७ । “हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाक्टर सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।”

महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवाबारे चर्चा गर्दै स्वास्थ्य संस्थामा निःशुल्क औषधिको व्यवस्था गरिएको बताइरहेकै बेला एक सर्वसाधारणले हात जोड्दै यसो भनेका हुन् ।

“हो हजुर, हामी गरिब छौँ, खुट्टा नांगा छन्, जिउमा फाटेका लुगा छन्, यस्ताले निःशुल्क सेवा पाउँदैनन् हजुर !” जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख, बर्दिवास अस्पतालका प्रमुख र चिकित्सक एवम् जिल्लास्थित सरकारी स्वास्थ्यका जिम्मेवार अधिकारीको सहभागिता रहेकै सो कार्यक्रममा ती सर्वसाधारणको गुनासोमा कसैले प्रतिवाद गरेनन् ।

बर्दिवासमा सम्पन्न सो कार्यक्रममा आफ्नो परिचय नदिई मन्त्रीसमक्ष गुनासो राख्ने सर्वसाधारणको कुरामा उनीजस्तै वेशभूषाका सहभागीले भने थपडी बजाउँदै सहमति जनाए ।

सामान्यतया शिक्षा, स्वास्थ्य र अन्य सामाजिक चेतनाका दृष्टिले जिल्लाका अन्य भेगभन्दा सचेत मानिएको बर्दिवासको सरकारी अस्पतालको सेवा प्रवाहबारे आएको सर्वसाधारणको टिप्पणीले जिल्लाका अन्य स्वास्थ्य संस्थाको सेवाको के अवस्था होला भन्ने सहभागीको खासखुसबीच नै स्वास्थ्यमन्त्री पोखरेलले जिल्लाबाट आपूmलाई स्वास्थ्य बजेट ९९ प्रतिशत सफल भएको प्रतिवेदन प्राप्त भएको खुलासा गर्नुभयो ।

“गत आवमा ९९ प्रतिशत बजेट सफल भएको भनिएको छ”, मन्त्री पोखरेलले भन्नुभयो, “यसको जिम्मेवार अधिकारीबाट अनुगमन हुनुपर्छ ।”

कार्यक्रममा मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रमा कार्यरत राष्ट्रसेवकमा विभिन्न दल निकट ट्रेड युनियनमा आबद्ध हुने क्रम संवैधानिक अधिकारका दृष्टिले उचित नै देखिए पनि प्रत्येक स्वास्थ्यकर्मीका लागि आपूm आबद्ध ट्रेड युनियनको कामभन्दा जनताले स्वास्थ्य सेवा पाउने कुरा प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । राम्रो सेवा प्रवाहका लागि प्रयत्न गरिएपनि अझै समस्या रहेका मन्त्री पोखरेलको स्वीकारोक्ति थियो ।

सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति निरुत्साहित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आफूले यसै साताभित्र प्रतिबद्धतापत्र जारी गर्ने बताउनुभयो ।

“यसै साताभित्र मन्त्रालयबाट प्रवाह गरिने सेवाबारे नयाँ प्रतिबद्धतापत्र जारी गर्नेछु”, मन्त्री पाखरेलले भन्नुभयो, “मन्त्रालयको प्रतिबद्धता स्वास्थ्य क्षेत्रमा कार्यरत सबैको प्रयत्नले पूरा गर्न सकिने हुँदा सबैले सेवालाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।”

कार्यक्रमका सहभागी विभिन्न राजनीतिक दल, सामाजिक सङ्घ संस्था र नागरिक समाजका प्रतिनिधिले सर्वसाधारणबाट आएका गुनासाको सम्बोधनका लागि प्रभावकारी अनुगमनको आवश्यकता औँल्याएका थिए ।

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय