कञ्चनपुरबाट बिना मगरलाई मन्त्री बनाउन जोडदार माग

कञ्चनपुरबाट बिना मगरलाई मन्त्री बनाउन जोडदार माग

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा कञ्चनपुरबाट निर्वाचित सांसद बिना मगरलाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट सर्वाधिक मतान्तरले जित्ने महिलाको रेकर्ड समेत बनाएकी बिना मगरलाई मन्त्रिपरिषद्मा समावेश गरेर महिला र जनमतको सम्मान गरिनुपर्ने जिल्लावासीले माग गरेका छन् । वाम गठबन्धनबाट प्रदेश सरकारमा जिल्लाको प्रतिनिधित्व नभएपछि केन्द्र सरकारमा समेत प्रतिनिधित्व गुम्न सक्ने भन्दै जिल्लावासीले जोडदार आवाज उठाएका हुन् ।

वाम गठबन्धनले ७ नम्बर प्रदेश सरकार बनाउँदा कञ्चनपुरबाट कसैलाई पनि सरकारमा समावेश गरेका छैनन् । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्ला ७ नम्बर प्रदेशको कैलालीपछि बढी जनसंख्या भएको जिल्ला हो । ‘७ नम्बर प्रदेश सरकार निर्माण गर्दा पनि कञ्चनपुरलाई हेपिएको छ, केन्द्र सरकारमा जसरी पनि बिना मगरलाई मन्त्री बनाउनैपर्छ,’ बेल्डाँडीस्थित सरस्वती माविकी शिक्षिका वागमती विष्टले भनिन् ।

वाम गठबन्धनले कञ्चनपुरलाई महत्व नदिएको भनेर आलोचना भइरहेका बेला केन्द्र सरकारमा बिना मगरलाई मन्त्री बनाउन माग गरिएको छ । बिना मगरलाई मन्त्री बनाए कञ्चनपुरका वाम मतदाताको जनमतको कदर हुने शुक्लाफाँटा नगरपालिकाको झलारीका रमेश भट्टले बताए ।

प्रदेश सरकारमा कञ्चनपुरलाई स्थान नदिएर गरिएको त्रुटिलाई सच्याउन पनि केन्द्र सरकारमा बिना मगरलाई मन्त्री बनाउनुपर्छ ।

कांग्रेसको सरकार बन्दा रमेश लेखक र एनपी सावद पटक–पटक मन्त्री हुने गरेका थिए । तसर्थ, वाम गठबन्धनको सरकारमा कसैलाई पनि मन्त्री नबनाइए वाम गठबन्धन प्रतिको आकर्षण घट्ने तर्क गरिएको छ । ‘वाम गठबन्धन र सरकारप्रति अपनत्व कायम गराउन एमाले र माओवादी नेतृत्वले ध्यान दिनुपर्छ,’ भट्टले भने, ‘प्रदेश सरकारमा कञ्चनपुरलाई स्थान नदिएर गरिएको त्रुटिलाई सच्याउन पनि केन्द्र सरकारमा बिना मगरलाई मन्त्री बनाउनुपर्छ ।’

निर्वाचनमा प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले विजयी भएपछि बिना मगरको लोकप्रियता पुष्टि भएको थियो । बिना मगरको लोकप्रियता योगदान र क्षमताको मूल्याङ्कन गर्दै पार्टी र वाम गठबन्धनले मन्त्री बनाउनुपर्ने तर्क गरिएको छ । ‘देशको पछिल्लो राजनीतिक परिवर्तनमा बिना मगरले गरेको योगदानको सम्मान हुनेछ भन्ने आशामा छौं,’ बेलौरीका नवराज विष्टले भने, ‘राजनीतिक परिवर्तनका लागि सेनाको हिरासतमा रहेर यातना सहनु अतुलनीय योगदान हो ।’

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका वाम गठबन्धनका उम्मेदवारमध्ये बिना मगर सर्वाधिक मतान्तरले विजयी भएकी थिइन् । ‘बिना मगरप्रति कञ्चनपुरका जनता र सुदूरपश्चिमवासीका थुप्रै अपेक्षा छन्, त्यो अपेक्षा मतपरिणामबाट समेत झल्किन्छ,’ पुनर्वासका कृष्ण तामाङले भने, मतदाताले बिना मगरले जनताको सेवा गर्ने अवसर दिएका छन्, अब पार्टीले समेत उचित मूल्याङ्कन गर्दै यस क्षेत्रको तीब्र विकासका लागि बिना मगरलाई मन्त्री बनाउनुपर्छ ।’

मतदाताले बिना मगरले जनताको सेवा गर्ने अवसर दिएका छन्, अब पार्टीले समेत उचित मूल्याङ्कन गर्दै यस क्षेत्रको तीब्र विकासका लागि बिना मगरलाई मन्त्री बनाउनुपर्छ ।

‘सांसदले कानून बनाउने काम मात्रै गर्ने हामीले सुनेका छौं, विकास निर्माणका लागि सरकारमा सहभागी हुनुपर्छ,’ लालझाडी गाउँपालिकाका करविर रानाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले १–२ दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् विस्तार हुने सुनेपछि कञ्चनपुरका जनताले बिना मगरलाई मन्त्री बनाउन माग गरेका हुन् ।

बिना मगर बाल्यकालदेखि बालकलाकार हुँदै वामपन्थी आन्दोलनमा सहभागी भएर जनयुद्धमा होमिएकी थिइन् । जनयुद्धकालमै विद्यार्थी राजनीतिमा रहेकी बिना मगरलाई तत्कालीन शाही सेनाले नियन्त्रणमा लिएर चरम यातना दिएको थियो । बिना मगर कञ्चनपुरको दुर्गम क्षेत्र पुनर्वासमा जन्मिएर राष्ट्रिय राजनीतिमा लोकप्रिय बनेकी छन् ।

फाइल फोटो

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय