कथाः छ आँशुको कथा
पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं । पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ।
हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले ठम्याउँदैनथ्यो, जाडो उस्तै बढेर आएको थियो। दिन उघ्रेको बेला त प्याराग्लाइडिङ गर्नेहरूको सराङकोटमा लर्को लागेको हुन्छ रे ! तर, त्यो दिन त्यस्तो केही थिएन।
गुम्बा परिसरमा एउटा अजंगको लिचीको रूख देखेर चकित भएँ किनकि मधेसको हाम्रो गाउँमा मात्र तेत्रो ठूलो लिचीको रूख देखेकी थिएँ अहिलेसम्म। त्यति अग्लो ठाउँमा त्यो बडेमानको लिचीको रूख ! गज्जब लाग्यो। थाहा भो सिजनमा खुब मज्जाले त्यो रूखमा लिची फल्छ रे ! दुई घन्टाजति त्यहाँ बसेर फर्कियौं।
बडादसैंको दिन, मामाले आसिकसहित अबिरको टीका र पवित्र बौद्ध मन्त्रले अभिमन्त्रित रच्छेडोरो घाँटीमा लाइदिनुभो । सधैं मानिआएको भन्दा बेग्लै किसिमको त्यो नौलो र रमाइलो दसैंले मन प्रफुल्ल भयो। मामाले म मरेर गयो भने पनि यो रच्छेडोरी मेरो दाजुले लाइदिएको भनेर सम्झिनु भन्दै आमालाई आसिक दिइरहनु हुँदा आमाका आँखाबाट बर्बर्ती आँसु खसेका थिए। मेरो पनि घाँटीमा के के अड्किएजस्तो भएको थियो त्यो बेला।
टीकापछि खानपिन भो, सबैले खाइसकेपछि मेरो दाजुको जुठो खान्छु, मरेपछि गति पर्छु होला भन्दै मामाको थालमा उब्रेको बटुकाको दाल एक चम्चा उघाएर खानुभो आमाले। अरू कसैले याद गरे गरेनन् तर मेरो मनमा चसक्क बिझ्यो आमाको त्यो व्यवहार।
टीकाको रात अर्थात् हामी काठमाडौं फर्किने अघिल्लो रात। भात भान्सा सकिएपछि माइजु पनि हामी सुत्ने गरेको पाहुना कोठामा आएर बस्नुभो। अरू बेला त उहाँलाई जहिल्यै कामको चटारो हुन्थ्यो।
बिहान-बेलुका गुम्बामा पूजाआजा गर्नै एकढेड घन्टा लाग्थ्यो, दिउँसो खेतबारीका झिनामसिना काममा अल्झिनुहुन्थ्यो। लौ त भनूँ भने हामीले राम्ररी माइजूसँग बात मार्न पाएकै थिएनौं। सानो काँटकी, खिरिलो ज्यानकी फूर्तिली हाम्री माइजू दिनभरि फिटिक् फिटिक् चप्पल पड्काउँदै यता र उता कुदिरहनुहुन्थ्यो।
‘डाग्दरले चिसो नखा, निमोनिया होला भन्छ। तर, मो ता चिसो कोकोकोला भनेपछि हुरुक्कै। चुरुट खानेले चुरुट छाड्न नसकेजस्तै मैले नि फ्रिजको कोक छाड्न सकेन। जाडो होस् कि गर्मी, एउटा जम्बो बोतलको कोक मैले दिनैपिच्छे सक्छ। मामा रिसाउँछ तर मो ता नखाई बस्न सक्दैन, लुकाएर भए पनि खान्छ।’ स्वाइँय्य खोक्दै माइजूले कुरा थाल्नुभो । सबै कुरा बुझेर पनि लतै बसिसकेको मान्छेलाई हामीले सम्झाउने कुरा के बाँकी रह्यो र ! चुपै बस्यौं।
आमा र मामाको ज्यान त उस्तै खाइलाग्दो रैछ है माइजूरु आमालाई थोरै दुब्लाउनु पर्यो, घुँडा दुखाइ अलि कम हुन्थ्यो कि भन्यो भने ‘म मोटाको कहाँ हो र ! हाम्रो त बाबुबाजेदेखिको ज्यानै यस्तो, ठूलो दारका मान्छे हामी, हाम्रो हड्डी नै ठूलो’ भन्नुहुन्छ। मामालाई देख्दा आमाको कुरा सोरै आना सही लाग्यो। भाइले कुरा अघि बढायो।
‘तिमीहरुको मामा त अहिले दुब्लाएर यत्तिको देखिएको। एकताका त मामा मोटाएर उसको नारीमा घडीको पूरै चेन खोलेर लाउँदा पनि टाइट हुन्थ्यो। भुँडी ठूलो भएर खुट्टाको नङ आफैंले काट्न सक्तैनथ्यो। पछि त सारै बिमार भयो। त्यसपछि दुब्लाएर बल्ल यतिको भाको मामा त !’, माइजूले बताउनुभो।
कुरा जारी राख्दै माइजूले भन्नुभयो, ‘सुरुमा मामा बिमार हुँदा मैले हेल्पोस् लिएर गयो। हेल्पोस् पनि उतिखेर घरदेखि निकै टाढा थ्यो, झन्डै दिनभरिको बाटो। बिहानै मामालाई बिस्तारो हिँडाउँदै लिएर गयो, दिउँसोतिर हेल्पोस् पुगेपछि त्यहाँ मामालाई सलाइन लाइदियो। मामाको जीले त्यै सलाइन खायो, मैले चाहिँ घर लान भनेर किनेको चालीस रुप्पेको झन्डै आधा डोकोजति सुन्तलामध्ये दुइचारवटा सुन्तला खाएर बस्यो। पाँच बोतल सलाइन लाइसक्दा झमक्क साँझ परेको थियो।’
हेल्पोस्ले ‘लु अब ! तिम्रो बिरामी जाति भयो, घर लैजा !’ भन्यो ।
त्यसपछि अँध्यारोमा मामाको हात समाएर डोस्याउँदै म घरको बाटो लाग्यो। बीच बाटोमा पुगेपछि त मामा फेरि लल्याकलुलुक परेर त्यहीँ बाटोमा थुप्रियो। हे भगमान् ! एकलासको खोलाको बाटो, निष्पट्ट अँध्यारो। मेरो हातमा टच्लाइट छ, तर मान्छेको नाउँमा हामी दुईबाहेक त्यहाँ अरू कोही छैन । म त बेस्सरी आत्तियो। के गरूँ र कसो गरूँ भयो। मेरो पालो मामालाई बाटो छेउको अग्लो ढुंगामा अडेसा लाएर भुइँमा बसायो र त्यही आफूले बोकेको सुन्तला छोडाउँदै मामाको मुखमा कोच्याउँदै गर्यो। धन्न ! दस बाह्र वटा सुन्तला खुवाइसकेपछि पो मामा बोल्यो, ‘ए कान्छी, मो काँ छ हँरु’
रातको अन्धकारमा सारै कष्टले मामालाई घर पुर्यायो मैले। भोकले मर्नु भाकोथ्यो, घर पुगेर टन्न भात खाएर सुतौंला भन्ने सोचेको थ्यो तर घरमा त हामीलाई खानै नराखी छोरीबुहारीहरू सुतिसकेको रैछ। रिसले आँखा देखेन मैले र मारी करायो तिनीहरूलाई। अनि त, हत्त न पत्त चुलोमा हुरुरु आगो बालेर एकैछिनमा भात तरकारी पकायो बुहारीले। अहो १ अहिले त्यो कुराहरू सम्झँदा हाँस उठ्छ तर त्यतिखेर त मलाई मर्नु भाकोथ्यो नि १
एक चरण बोलिसकेर माइजू गलल हाँस्नुभो, माइजूसँगै हामी पनि धक फुकाएर हाँस्यौं।
तिमेर्को मामाको बिमारमा मैले खप्नसम्म सास्ती खपेको छ। उता छोरा छम् पसेको ९गुम्बामा बसेर लामा पढ्दै गरेको०, यता मामा बिमार भइराख्ने। अरूलाई झारफुक गरेर, जडीबुटी दिएर निको पार्ने तिमर्को मामाले आफूलाई चाहिँ जाती पार्न सकेन।
आफ्नो मन्त्र आफ्नै जीउमा बेकामे हुँदोरैछ। मेरा मीतदाजु पर्ने धामीको बाउछोराले माथि गाउँबाट आएर मामालाई घरमै दिनरात फुकिदियो। तर, आफ्नो बिरामी निको हुनु त कता हो कता, त्यो दुई बाउछोरालाई पाल्न पो धौधौ पर्यो मलाई। बाउ चाहिँलाई छिनको छिनमा रक्सी र कुखुराको मासु चाहिने, छोराचाहिँ फुकेपिच्छे नयाँ झर्के थालमा चामल र पैसा माग्ने। अहिले बाउचाहिँलाई एक गिलास रक्सी दियो, अहिल्यै ‘ए कान्छी !
हेर् त ! यो गिलासको पिँध चुहिने रैछ, सप्पै रक्सी त चुहेर सकिएछ’ भन्ने। त्यो बाउछोराले हैरान खेलाएपछि दुई दिनमै भो अब नफुक्ने भनेर तिनीहरूलाई धपाइदियो मैले। जाने बेलामा ‘हेर् कान्छी १ जुवाइँलाई पूरापूर तीन दिन फुक्नुपर्यो, फेरिफेरि पनि बोलाएस् है !’ भन्दै गयो मेरो मीतदाजु।
अनि कसरी निको हुनुभो त मामारु मैले सोधेँ। माइजूको निर्दोष व्याख्यान शैली रोचक लागिरहेको थियो।
अहो ! मामाको बिमारको कुरा गरेर साध्ये छैन नानी ! पोखरामा कति डाग्दरलाई देखायो, घरमा कतिपल्ट धामी बसायो। तर, मामाको दाहिने कोखा हान्ने, कोखामा सरर केही हिँडेजस्तो लाग्ने । बिमार केही गर्दा पनि बिसेक भएन।
अनि त, त्यहीताका जेठो छोरो देउलामा इन्डियाबाट घर आएको थियो, उसैले ‘बा ! अब एकबाजी इन्डिया गएर इलाज गरौं’ भन्यो। देउलामा इन्डिया आर्मीको पेन्सन थाप्छ, उसका हुर्केका छोराछोरीको पढाइ बिग्रन्छ भनेर उतिखेर उतै बस्थ्यो।
मामाले इन्डिया त मो जाँदै जाँदैनु भनेर ढिपि कस्यो, देउलामा बाबुको मायाले रोयो। ‘के म तिम्रो छोरा हैनरु मसँग एकफेरा इन्डियामा गएर जँचाउन तिमीलाई कुन बातको अप्ठेरोरु’ भनेर देउलामाले रोइकराइ गरेपछि छोराको वचन हार्न नसकेर मामा बल्ल इन्डिया जान मान्यो।
गोरखपुरको रेलको टिसनमा बाबुचाहिँ र मलाई छाडिराखेर देउलामाको बाउछोरा ‘एकछिन यहाँ बस्दै गर है आमा १, हामी टिकस काटेर आउँछु’ भनेर हरायो। अहिले आउला भरे आउला भन्यो, मध्यरातमा छोरा र नातिको बाटो हेर्यो, तर दुई घन्टासम्म कुर्दा पनि तिनीहरू आएन। परदेशको बिरानो ठाउँ, बिरामी लोग्ने छ साथमा, मो ता बेस्सरी आत्तिँदैथ्यो।
उत्निखेरै मामा त हातखुट्टा अररो पारेर, दाँत टम्म बाँधेर थरर काम्न थाल्यो । हे दैव ! अब के गर्ने होला भनेर डरले मो पनि काम्यो एकचोटि त ! रातको २ बजेको छ, यसो वरपर हेर्यो, टिसनमा मान्छेहरू सिलको माछाजस्तो भएर लहरै सुतेको छ। चारैतिर चकमन्न। त्यै एउटा मान्छे ‘गरम चाय १ गरम चाय’ भन्दै यताउता डुलिहिँड्दैछ। मो ता न आफैं हुरुक्क भएर त्यहीँ मरिजानु, न केही गर्न सक्नु भएर सारै छटपटियो।
त्यत्तिकैमा देउलामाको बाउछोरा टुप्लुक्क आइपुग्यो र मैले बल्ल आफूले सास फेरेको चाल पायो। त्यसपछि त्यही गरम चाय भन्नेसँग चिया र मसिनो रोटी किनेर चियामा रोटी चोब्दै जबर्जस्ती फट्याएर मामाको मुखमा छिराउँदै गर्यो।
त्यसरी आठदसवटा रोटी मुखबाट छिराएपछि बल्ल मामाले आँखा खोल्यो। अनि त, त्यही बेला टिसनमा आइपुगेको रेलमा मामालाई दुई पट्टिबाट समाएर तुर्लुंग झुन्ड्याउँदै सारै मुस्किलले रेलमा चढायो हामीले।
माइजूले कुरा सक्नै नपाई हामी सबै मरीमरी हाँस्दै थियौं। उति बेला माइजूलाई कत्रो महाभारत आइपरेको थियो तर बितिसकेपछि भने त्यो दु:खको क्षण हामीलाई मरुन्जेल हँसाउने कारण बनेको थियो।
ग्वालियर पुगेपछि बिहान बुहारीले सोध्यो, ‘आमा ! मो बैगुनको भात बनाउँछ है ?’
मैले भन्यो, ‘भो ! मो ता खाँदैन त्यो बैगुनको भात, तिमेरु खाओ। मलाई त चामलकै भात पकाइदे !’
पछि खाने बेला पो थाहा पायो, भान्टा पोलेर साँधेको चटनीलाई बैगुनको भर्ता भन्दोरैछ उता। भोकको झोंकमा त्यो बिहान खुब मीठो लाग्यो बैगुनको भात‘ हा हा हा।’ माइजूको इन्डिया बसाइको बखानले फेरि मज्जाले हँसायो।
अनि मामालाई सन्चो भयो त माइजूरु मैले सोधेँ ।
त्यति सजिलै काँ निको हुनु र १ ग्वालियर पुगेको दिन थकाइ मारेर भोलिपल्टै सहरको नाम चलेको डाग्दरकोमा गयो। यता हाम्रोतिरको कालो तीनपांग्रे डल्ले टेम्पोलाई उता अटो भन्दोरैछ, त्यसैमा चढाएर लग्यो देउलामाले हामीलाई। बुहारीले ‘सारीचोलो लाएर जाऊ आमा, गुन्यूचोलो र पटुकी लाको मान्छे देखेर यताको मान्छे हाँस्छ’ भन्यो। तर, मो ता मानेन। हाँसे हाँसोस् भनेर गुन्यूचोलो, पटुका र टाउकामा मजेत्रो ओढेरै गयो।
सेतै फुलेको डाग्दरले मामालाई एकसरो जाँचेर ओखती लेखिदियो, अनि मतिर हेरेर ‘कान्छी हो ?’ भन्यो।
मैले ‘हो’ भन्यो र मनमनै सोच्यो, मलाई घरमा(गाउँमा सबैतिर कान्छी नै भनेर बोलाउँछ, तर यो यति टाढाको डाग्दरले मेरो नाउँ कान्छी हो भनेर कसरी थाहा पायोरु भनेपछिलाई यो डाग्दर साँच्चैको जान्ने रैछ। लु आज भने देउलामाले गज्जपको डाग्दर भएठाउँ ल्याएछ बाउलाई इलाज गराउन।
घर फिरेपछि मैले बुहारीलाई पनि सुनायो, ‘बुहारी अब बाउलाई चाँडै जाति हुन्छ, डाग्दर बडो जान्ने रैछ, मलाई फ्याट्ट कान्छी होरु भनेर सोध्यो।’
अचम्म १ बुहारी त मेरो कुरा सुनेर मरुन्जेल हाँस्यो र भन्यो, ‘आमा डाग्दर जान्ने भएर तिमीलाई कान्छी हो भनेको हैन, यहाँकाले त पहाडे अनुहार परेका जति छोरामान्छेलाई कान्छा भन्छ र आइमाई मान्छेलाई कान्छी भन्छ।’
हत्तेरी कस्तो हुस्सु भइएछ भनेर पछि ता मो पनि खुब हाँस्यो।
हा हा हा‘ हामी मध्यरातमा कोठै थर्काएर स्याल सिँगान हुने गरी हाँस्यौं।
अनि माइजूरु के भयोरु मैले माइजूलाई कुराको गति बढाउन उक्साएँ।
त्यसपछि त, त्यो डाग्दरको ओखती दुई हप्तासम्म खाँदा पनि मामालाई केही फाइदा भएन। देउलामाले कताबाट एउटा डन्ठेबाबा भन्ने बाबाजीले यस्तो बिमारीलाई निको पार्छ रे भन्ने सुनेछ र त्यै अटो भन्नेमा एकतर्फी बाटोको भाडामात्रै एक सय ५० रुपैयाँ भारु तिरेर त्यो डन्ठे बाबाकोमा हामीलाई लग्यो। सारै टाढा रैछ त्यो ठाउँ।
मान्छेहरूको ससानो भीड नै थियो त्यो बाबाको कोठाबाहिर। हामी निकै बेर कोठाबाहिर बसेर भित्र पस्ने पालो पख्र्यो। पालो आएपछि एउटा मान्छे हातमा ओखती बोकेर हामी भएठाउँ आयो र हामी बूढाबूढीको आँखामा त्यो झोल ओखती जबर्जस्ती लाइदियो। ए १ ए १ क्या करता है‘ भन्दाभन्दै त्यो ओखती लाइदी त हाल्यो।
आमा हो ! त्यसपछि त आँखा भतभती पोलेर खपिनसक्नु भयो। आँखा खोल्नै सकेन, त्यसमाथि त्यो मान्छेले मामा र मलाई भित्र कोठामा धकेलिदियो । आँखा पोलेर केही देख्न सकेको छैन, डन्ठेबाबा कता हो हामी कता हो, केही शुद्धि छैन।
त्यसरी हामी अत्तालिएकै बेला, खै त्यो बाबा हो कि कल्ले हो हामी बूढाबूढीको जीउमा लौरोले जथाभावी ठ्याङठ्याङ र ठुङठुङ हान्न थाल्यो। टाउकामा, कुमको हड्डीहुँदी लौरो बजारिँदा मैले त तिरिमिरी झ्याइँ देख्यो । एेय्या र आत्थु गर्दै एकछिन त्यहीँ उफ्रिँदै बस्यो हामी, र केही बेरपछि कोही मान्छेले हातमा समाएर दैलोबाहिर धकेलिदियो हामीलाई।
एेय्यु‘ हाँसेर हाम्रो त बेहाल भयो।
दुई सातासम्म देउलामाले बाउलाई त्यो डन्ठे बाबाकोमा लग्यो। अचम्म तालले मामालाई त निको पो हुँदै आयो र मामालाई बिसेक भएपछि हामी नेपाल फिस्यो। त्यहाँ बसुन्जेल नेपालीको दुस्खलाई नजिकबाट चिन्यो हामीले। के गर्ने, छुट्टीमा घर फिरेको लाहुरेले एक खिल्ली चुरुट पनि खान दिएन भनेर यता गाउँघरमा मान्छेले कुरा काट्छ तर उता उनीहरू कस्तो दुस्खले बसेको छ भन्ने कुरा यताको मान्छेलाई थाहै छैन।
नाति केटोचाहिँ आइसक्रिम खाने बजैरु भन्दै भट्भटेमा चढेर त्यो आइसक्रिम भन्ने गुलियो जिनिस किनेर ल्याउँथ्यो र हामीलाई खुवाउँथ्यो। उता उसको बाबु देउलामाचाहिँ पसिनाले लछप्पै भिजेको बन्डी लाएर एउटा फ्याङ्टे साइकलमा किर्लिङ किर्लिङ घन्टी बजाउँदै साँझमा घर फिर्थ्यो र लखतरान ज्यानलाई आँगनको चारपाईमा लडाउँथ्यो ।
त्यहाँका धेरैजसो नेपाली देउलामा जसरी नै घर फिथ्योर् मैले त देउलामालाई भन्यो पनि, ‘आफ्नो खेतबारीमा पसिना चुहायो भने हाम्रो परिवारले भोकै बस्नुपर्दैन, देश फर्किहाल्।’ तर त्यो मानेन, दुई वर्षपछि छोराछोरी कलेज पढ्ने भएपछिमात्र फिर्छु भन्यो।
माइजूले सोझो पारामा परदेशी नेपालीको दुस्खी जिन्दगीको बखान गरिरहनुहुँदा सुन्ने हामी सबैको मन अमिलिएर आएको थियो।
साढे ११ बजिसकेछ, अब सुतौं। फेरि भोलि सबेरै बाटो लाग्नु छ। भाइ बोल्यो।
मेरो आँखामा भने तुरुन्तै निद्रा आएन, समयको चेपुवामा परेर मेरा त्यस्ता ज्ञानीगुनी मामाले पनि कस्तोकस्तो दुस्ख बेहोर्नु परेछ भनेर सोचिरहेँ। उमेरदार हुँदा यिनै मामामा उडेको चरा खसाल्ने हिम्मत थियो रे १
मामालाई छम (लामा अध्ययनको अन्तिम प्रक्रिया जसमा उबेला च्यानघारीनजिकै महिनौं गुफा बसेर पढ्न पथ्र्यो) बाट निकाल्दा गाउँलेहरूले माया गरेर उनलाई काँधमा बोकेर, अबिरजात्रा गरेर घरसम्म ल्याएका थिए रे ! उबेला मामाका रुपलछिनले लठ्ठिएका उनका दौंतरीहरू गीतै कथेर गाउँथे रे, पाटीमारा चुरुस, लम्मई साइँला स्यानलामा (लामाका साइँला छोरा श्यामलामा) किस्नजी दुरुस्त‘ बन्दीपुरे चौतारा, लम्मई साइँला स्यानलामा किस्नजी औतार‘
उफ ! यौवनकालमा कृष्णजीका अवतारजस्ता मेरा मामाले बुढेसकालमा कस्तरी हन्डर खानु परेछ ! मामाले खेपेका सास्तीहरूले ननिदाउन्जेल मलाई भित्रसम्म घोचिरहे। आमाले बारम्बार बोलिरहनुहुने तुक्का सम्झँदै निदाउने कोसिस गरेँ, कहिलेको कस्तो कहिलेको सस्तो‘।
भोलिपल्ट बिहानै भारी मनले मामामाइजूसँग बिदा माग्यौं । आमाले आफूले टेक्ने गरेको लौरो मामालाई छाड्दिन मन गर्नु भो, मामाले पनि लौ ठीकै छ त, हुन त मलाई लौरोको जरुरत छैन, तर पनि बैनीको सम्झना चिनो राख्छ भनेर राख्नुभो। मावलको मीठो सम्झना मनभरि-आँखाभरि सँगालेर काठमाडौं फिरियो।
काठमाडौं फर्केपछि पापी पेटका खातिर फेरि उही दिनरातको दौडधुपमा सामेल हुन करै लाग्यो। पोखरा, अब धर्तीको सुन्दर टुक्रामात्र हैन, मेरो प्यारो मावल पनि भयो भन्ने सोचेर दंग पर्थें। पोखरा सम्झ्यो कि त मन त्यसैत्यसै फुरुंग हुन्थ्यो। पोखराबाट फिरेको धेरै दिनसम्म पनि हाम्रो घरमा कसैले न कसैले दिनमा एकदुईपटक कान्छी होरु भनेकै हुन्थ्यो, अनि त्यो सुन्यो कि त हामी सबैजना मुर्छा परेर हाँस्थ्यौं।
केही दिनपछिको एक साँझ, भाइले मावलमा फोन गस्यो। मामामाइजू त्यतिखेर गुम्बामा जानुभएको रहेछ। फोन उठाउने शर्मिला बहिनीबाट थाहा भो, हामी काठमाडौं फर्कने बेला गाडी चढेर मामाघरबाट निस्केपछि मामा त माथि गुम्बा जाने खुड्किलामा बसेर बरर आँसु खसाउँदै रुनुभयो रे ! निकै बेरसम्म आँसु पुछ्दै, सिँगान पुछ्दै गर्नु भो रे ! मामा त्यसरी चुपचाप रुँदै बस्नुभ’ को देखेर माइजूले सोध्नुभएछ- हैन, आज तिमीलाई के भयोरु तिमी किन यसरी रुन्छ ?
मामाले भन्नुभएछ- हैन, आज मलाई एकदम उच्चाट लागेको छ। कति वर्षपछि मर्ने बेलामा बैनी, भान्जाभान्जीलाई भेटेर मन खुसी भयो। तिनीहरू बसुन्जेल घरै उजेलो भाकोथ्यो। बैनीले दसैंको दिन मेरो जुठो पनि खायो, त्यसले त्यसो गर्दा मेरो छाती भारी भाकोथ्यो। मान्छेको जिन्दगी कसले के भन्न सक्छ र १ फेरि कहिले भेट हुने हो। निकै दिन बस्ला भन्ने सोचेको थ्यो तर तिनीहरू त आगो लिन आएकोझैं गरेर फिस्यो। त्यत्रो धान कुटेर राख्यो, अब हामी बूढाबूढीले मात्र खाएर कहिले सक्ने ? तिनीहरूले चटक्कै छाडेर जाँदा मलाई त एकतमासले नरमाइलो लागिरछ कान्छी !
शर्मिला बहिनीले यी सब कुरा फोनमा भनिरहँदा भाइको पनि गह भरिएको थियो। भाइले आमा र मलाई मामाको आँसुको कथा सुनाएपछि हामी त अवाक् भयौं। हामीले अजंगको कठोर पहरोझैं ठानेको मामाको छातीको काप फोरेर माया र स्नेहको पीपल त उहिल्यै पलाइसकेको रहेछ।’
साहित्य सङ्ग्रहालयबाट
रुकुमपश्चिमको मग्गामा सहिदस्मृति मेला
रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा सहिद स्मृति मेला सुरु भएको छ । मेलाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभएको थियो । मग्मामा हरेक वर्ष सहिदहरूको सम्झनामा मेला लाग्दै आएको छ । सोमबारबाट सुरु भएको सहिद स्मृति मेला कात्तिक २ गतेसम्म चल्ने सहिद स्मृति मेला समिति सदस्य देवराज खनाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा खुला वडा स्तरीय महिला, पुरुष भलिबल, पुरुष डवल ब्याडमिन्टन लगायत सांस्कृतिक कार्यक्रमहरू मयूर नाच, सिगांरु नाच पनि प्रदर्शन गरिएको छ । मेलामा पुरुष भलिबल प्रतियोगिताको लागि जिल्लाको विभिन्न ठाउँबाट २६ समूहले सहभागिता जनाउँदा महिला भलिबल तर्फ १० समूहले सहभागिता जनाएको सहिद स्मृति मेला समितिका सदस्य खनालले जानकारी दिनुभयो । पुरुष भलिबल तर्फ विजेता हुने समूहले नगद १ लाख ६ हजार रुपैयाँ, उपविजेता हुने समूहले नगद ७५ हजार रुपैयाँ र सान्त्वना हुने दुई समूहले समान नगद २०/२० हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै महिलातर्फ विजेता हुने समूहले नगद २५ हजार उपविजेता हुने समूहले नगद १५ हजार र सान्त्वना हुने दुई समूहलाई समान ५/५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ६ जिपसिङमा जन्मनु भएका सहिद रवि केसी लगायत अन्य सहिदहरूको सम्झनामा विगत २५ वर्षदेखि नेकपा माओवादी केन्द्रले हरेक वर्ष मग्मामा मेला आयोजना गरिरहेको छ । नगेन्द्र रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काको विशेष आतिथ्यता रहेको थियो । अन्य अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, बाँफिकोट गाउँपालिका इन्चार्ज धर्मबहादुर केसी, पार्टीका गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।सहिद स्मृति मेला समितिका सदस्य नवराज खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य किरण विश्वकर्माले गर्नुभएको थियो ।
थारू गाउँबस्तीमा सखिया नाचको रौनक
नेपालगञ्ज । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ । दसैंको टीकाको दिनसम्म केटाकेटी मिली गरिने उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुवाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । सखिया नाचिने थारू गाउँमा दसैं शुरु भएसँगै निकै रौनक हुने गरेको जनाउँदै बाँके बैजापुरका थारु अगुवा बिक्रम थारुले दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंको दिन दिनभरी नाच्ने गरिएको बताउनुभयो । अगुवा थारुका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बजे त्यति रौकनकता आउँछ । यो नाचका लागि कम्तीमा चार पाँचजना मादल बजाउने युवा हुन्छन् । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया रातो रङको रिबन लगाउने गर्छन् । सखिया नाचमा विशेषत थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवम् रक्षाको माग गर्ने चलन रहिआएको बाँके बनकटुवाका अर्का थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार युवाले सेतो रंगको धोती र रुचिअनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा विशेषतः युवायुवती र विवाहित सबै उमेर समूहका महिला र पुरुषले नाच्ने गर्छन् । नाचका लागि महिला समूहमा चारजना र पुरुषमा दुई जनालाई जिम्मेवारी दिइन्छ । महिलामा एकजना मोहरनिया, एकजना पचगिनिया र दुईजना जेठगोहिया रहेका हुन्छन् । मोहरनियाले गीतको अग्रभागबाट सुरु गर्छ भने पचगिनियाले पश्चय भागको गीत गाउने र जेठ गोहियाले साथ दिने काम गर्दछन् । त्यस्तै, मादल बजाउने अगुुवा, पच्छुवा मदरियाले त्रासन् मार्ने काम गर्दछन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने परम्परा छ ।
प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन
काठमाडौं । रोल्पाली कवि प्रेमप्रकाशको कवितासङ्ग्रह 'रगतको तर्पण' विमोचन भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा प्रतिष्ठानका कुलपति भूपाल राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र उपप्राध्यापक केशव सिलवालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । विमोचन समारोहको प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले क्रान्तिको उद्गमस्थल रोल्पाबाट एकजना हस्तक्षेपकारी कविको रुपमा प्रेमप्रकाश आएको टिप्पणी गरे । कुलपति राईले भने, 'विचारको अस्थिपन्जर र कलाको मांशपेशीले कविताको सग्लो आकृति निर्माण गरेर प्रेमप्रकाशले एउटा पूर्ण कवितासङ्ग्रह ल्याएका छन् ।' जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले प्रेमप्रकाशका कविताहरुले हरेक गलतका विरुद्ध आवाज उठाउँदै आलोचनात्मक चेतसहित समृद्ध समाज निर्माणको आव्हान गरेको टिप्पणी गरे । कुमाखीले भने, 'प्रगतिशील चेत राख्ने कवि प्रेमप्रकाशले परिवर्तनको पक्षमा निरन्तर वकालत गर्दै राष्ट्रलाई प्रगतिपथमा डोर्याएर महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।' कवि तथा संचारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले प्रेमप्रकाशका कविताहरुमा कला र विचारको अद्भुत सन्तुलन रहेको टिप्पणी गरिन् । तुम्खेवाले भनिन्, 'समकालीन कविहरुमा प्रेमप्रकाश आफ्नो पृथक पहिचानसहित उभिन सफल भएका छन् ।' त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कवि केशव सिलवालले प्रेमप्रकाशका कविताहरुमा नेपाली समाजका अन्तर्द्वन्द र अन्तर्वस्तुहरुको मिहिन विश्लेषण रहेको टिप्पणी गरे । सिलवालले भने, 'परिवर्तनको पक्षमा आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका गुमनाम भुइँमान्छेहरुको पक्षमा प्रेमप्रकाशले कविता लेखेका छन् ।' रोल्पा-काठमाडौं कलासाहित्य समाजद्वारा आयोजित कार्यक्रममा अस्मिता केसी, एलिसा एकलास, गीलु रातोस, छम गुरुङ, नवीन शर्मा, नुशा लिङ्देन र प्रज्वल अधिकारीले प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहबाट एकएकवटा कवितावाचन गरेका थिए । माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, भावहरुको भव्य भग्नावशेष शीर्षक तीन खण्डमा विभाजित प्रेमप्रकाशको कविताकृतिमा आगो लिन गएकाहरु, उल्टो यात्रा, रगतको तर्पण, विचार जरुरी छ, आन्दोलनमा अक्षरहरु शीर्षकका कवितासहित जम्मा बयालीस कविताहरु सङ्ग्रहित छन् । विमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद यमुना रोका, धर्मेन्द्र नेम्बाङ, स्वप्निल स्मृति, डा.विष्णुकुमार सिङ्जाली, नवीन रोकामगर, जीवन रोकामगर, बलबहादुर घर्तीमगर, सञ्जोग लाफामगर, मुक्तान थेबा, बाबू त्रिपाठी, असिम सागर, दीप दर्पण, कृष्णकिशु न्यौपाने, मिसन अधिकारी, उत्तम लिम्बू, मिथोच, राकेश चिन्तन, सुशीला तामाङ, प्रकाश चाम्लिङलगायत कवि, कलाकार, पत्रकार, राजनीतिकर्मी तथा संस्कृतिकर्मीहरुको उपस्थिति थियो । कविता, गजल र नियात्राका आधा दर्जन किताबसहित गीतिएल्बमसमेत प्रकाशित गरिसकेका प्रेमप्रकाशको 'रगतको तर्पण' कवितासङ्ग्रहलाई बिएन पुस्तक संसारले प्रकाशन गरेको हो ।
‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा ‘रामायण रिसोनेन्स : सेलेव्रेटिङ अ शेयरड हेरिटेज’ ‘रामायण : साझा धरोहर’ प्रदर्शनी सुरु भएको छ । सोमबारदेखि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का डिडिजी अन्जु रञ्जन र प्रदर्शनीको क्युरेटर तथा डाइरेक्टर गार्गी सेठले संयुक्तरूपमा उद्घाटन गरे । प्रदर्शनी उद्घाटनमा उनीहरुले यस्ता कला प्रदर्शनीले दुई देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताएका थिए । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्दै आइरहेको जनाउँदै यसले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदर्शनीले एक अर्काको कला सिर्जनाका सोच र शैलीको समेत आदानप्रदान हुने बताए । साथै उनले भने, ‘यो प्रदर्शनीले संस्कृति बुझ्ने मौकासमेत मिलेको छ ।’ तिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको र यसले ललितकला क्षेत्रलाई रुपान्तरण गर्ने योजना सार्थक बन्दै गएको बताए । नेपाली कलाकार उमाशंकर साह, नरेन्द्रबहादुर श्रेष्ठ, एससी सुमन र अगम श्रेष्ठ रहेका छन् । यस्तै, अम्बालिका चितकरा, आनन्द पञ्चाल, अरपना कौर, असित पटनायक, ब्राटिन खान, चन्द्र मोरकोण्डा, कल्याण पि जोशी, कञ्चन चन्दर, के जी बाबु, नागेश गौर, नवल किशोर, नीरज गुप्ता, प्रिती गुप्ता, सुशील कुमार, राजेश कुमार, रेनुका सोढी गुलाटी, सरला चन्दर, सिमा कोहली, शाम्पा सिरसर दास, सिद्धार्थ, सुवोध केलकर, सिन्धे श्रीरामुलु, स्वर्ण चैत्रकार, सुनिता लाम्बा, कामिनी बाघेल, लक्ष्मण कुमार नायक, बलदेव पवार, युगदिपक सोनी रहेका छन् । प्रदर्शनीका क्युरेटर गार्गी सेठले रामायणको विषयमा केन्द्रित रही तयार पारिएका कलाकृति प्रदर्शनी राखिएको जनाइन् । प्रदर्शनी यही असोज १४ गतेसम्म हुनेछ ।