कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

सुर्खेत । कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि रु १५ करोड स्थानीय तहमा पठाइएको मुख्यमन्त्री शाहीले बताए। विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको, रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल तथा प्रदेशभरमा ६६ सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरी स्थानीय तहमार्फत काम भइरहेको छ । प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रङ्गशाला, अन्तर्राष्ट्रिय भलिबल कभर्ड हलको निर्माण, प्रदेशका १० वटै जिल्लामा ८१ खेल मैदान निर्माण, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवन निर्माण भइरहेको छ ।

चालु आर्थिक वर्षमा एक हजार २३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको, चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर र किवी उत्पादन गर्न सुरु भएको मुख्यमन्त्री कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । जाजरकोट र दैलेखमा मकै मिसन, मार्सी धान प्रवद्र्धन, भटमास र रैथाने बाली प्रवद्र्धन तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । पछिल्लो ६ महिनामा १७० किलोमिटर सडक खनिएको, ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको र ११।५ किमी सडक कालोपत्र गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा विधेयक, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐनसम्बन्धी संशोधित विधेयक टेबुल गर्नुका साथै प्रदेश विद्युत् विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रियासमेत अगाडि बढाइएको छ । रासस

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय