कांग्रेस–एमालेले गोप्य वार्ता थालेपछि सिन्धुपाल्चोकको सत्ता गठबन्धन धरापमा

कांग्रेस–एमालेले गोप्य वार्ता थालेपछि सिन्धुपाल्चोकको सत्ता गठबन्धन धरापमा

सिन्धुपाल्चोक । सत्तासाझेदार दलको केन्द्रीय नीतिविपरीत नेपाली कांग्रेस सिन्धुपाल्चोकले एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धन धरापमा परेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न चरणमा वार्ता गरेकोले गठबन्धन धरापमा परेको हो ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १२ स्थानीय तहमध्ये चार सिटमात्रै दिनसकिने अडान कायमै राखेकोले ६ बैशाखयता नेताहरु एकै ठाउँमा जुट्न सकेका छैनन् । माओवादी केन्द्र र समाजवादीले १२ मध्ये ६ स्थानीय तह लिएर भागबण्डा गर्ने बताएका छन् । तर, कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि बैठक बस्न नसकेको हो ।

गठबन्धनको बैठक छोडेर कांग्रेसले एमालेसँग गोप्य वार्ता चलाइरहेको छ । आफूलाई आठसिट राखेर एमालेलाई चारसिट दिने कांग्रेसको पुरानै योजनामा छलफल चलिरहेको बताइएको छ । कांग्रेस र एमालेको गोप्य वार्तामा एमालेलाई मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिका, पाँचपोखरी थांपाल र त्रिपुरासुन्दरी गाउँपालिका दिने कुरा चलेको छ । यद्यपि, एमालेका नेताहरुले चारसिटमात्रै लिएर तालमेल गर्न नसकिने भन्दै विरोध जनाएका छन् ।

कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले माओवादी र एकीकृत समाजवादीलाई चारसिट दिंदा नमानेको बताए । ‘फेरि बैठक बसौं भनेर अनुरोध गरेँ । तर, उहाँहरुले चारसिटमा वार्ता हुन नसक्ने भन्दै बैठक अस्विकार गर्नुभएको छ,’ उनले भने । यता माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षद्वय गोविन्द पराजुली र नवराज पौडेलले गठबन्धनको केन्द्रीय नीतिविपरीत कांग्रेस केन्द्रीय सदस्य बस्नेतले एमालेसँग तालमेल गर्ने तयारी गरेकोले अवस्था जटील बनेको बताए ।

गठबन्धनको अवस्था टुंगो नलागेकोले जिल्लामा क्रियाशील कुनैपनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् । माओवादी केन्द्र र एमालेले उम्मेदवारको नाम लिष्ट माथिल्लो कमिटीमा सिफारिस गरेको छ । कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार सिफारिस गर्न सकेका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङलाई एमालेबाट टिकट दिएर कांग्रेस–एमाले तालमेल गर्ने रणनीति असफल भएपछि एमाले पनि पछाडि हटेको बताइएको छ । शुक्रबार अध्यक्ष प्रचण्डसँग भेटेका तामाङ माओवादी छोडेर एमाले नजाने भएपछि तालमेलको दाउपेच पनि बदलिएको छ ।

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आजराति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे अध्यक्ष निवास खुमलटारमा बस्न लागेको हो ।  पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज  बस्न लागेको हो ।  बैठकमा पार्टीको  विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज हुँदै

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।

लोकप्रिय