कांग्रेस बैठकः सभापति देउवामाथि खनिए नेता, कसले के भने त ?

कांग्रेस बैठकः सभापति देउवामाथि खनिए नेता, कसले के भने त ?

काठमाडौं, चैत्र ९ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न आजदेखि शुरु भएको छ ।

बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ ।

बैठकको शुरुमै धारणा राख्नुभएका पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति शेरबहादुर देउवाका कार्यशैली भएको आरोप लगाउनुभयो ।

नेता सिंहले आठ पृष्ठ लामो सुझाव एवं प्रस्ताव राख्दै नेपालको निर्वाचनको इतिहासमा काँग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोग्नुपरेको थिएन भन्नुभयो ।

पार्टी सभापति देउवाले नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र स्थानीय तहको निर्वाचनमा पुष्पकमल दाहाल पुत्रीलाई प्रमुखमा जिताउन खेलेको भूमिका, काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टाका कारणे निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको नेता सिंहले आरोप लगाउनुभयो ।

मधेश केन्द्रित दललाई मनाउन काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको औचित्य सिद्ध गर्न नसक्नु, मधेश केन्द्रित दललाई एकतर्फीरुपमा निर्वाचनमा उम्मेदवार नै नदिएर गुन लगाउनु र भारतले नेपालमा गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा बोल्न नसक्नु काँग्रेसका लागि दुर्भाग्य भएको नेता सिंहले टिप्पणी गर्नुभयोे ।

तत्कालिन प्रधानन्यायाधीशका विरूद्ध महाअभियोग लगाउने कुत्सित प्रयास गर्नु, नेपाल प्रहरीको एक जना डिआइजीलाई बढुवा गरेर प्रहरी महानिरीक्षक बनाउने पार्टी सभापतिको रबैया, दुई वर्ष बितिसक्दा पनि उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभाग पूर्णता दिन नसक्नु निर्वाचनमा पराजयका कारण भएको पनि उहाँले बताउनुभयो ।

निर्वाचन प्रचारप्रसार र व्यवस्थापन फितलो हुनु, पार्टीका भातृ संस्थाको निर्वाचनमा कुनै प्रभावकारी उपस्थिति नरहनु, संविधानको प्रावधानअनुसार पार्टी संगठनलाई पुनःसंरचना नगरिनु, कथित ६०/४० को भागबण्डाले निरन्तरता पाउनु, टिकट वितरण वरिष्ठता योगदानभन्दा गुटगत आधारमा वितारण गर्नु, लोक हसाउने गरी ६४ जनाको मन्त्रिमण्डल गठन गर्नुलगायत कारणले निर्वाचनमा पराजय भोग्नुपरेको नेता सिंहले भन्नुभयो ।

काँग्रेसको निर्वाचन पराजयमा पार्टी सभापति, नेतृत्व विशेष वा कुनै एउटा पक्षलाई मात्र दोष देखाएर आफू चोखो बन्ने प्रयास कसैले पनि गर्नै नहुने बताउँदै उहाँले निर्वाचनमा पार्टीको पराजयलाई एउटै पाटोबाट मात्र जाँचेर नहुने धारणा व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकमा निर्वाचनपछिको परिस्थितिका बारेमा विस्तृत समीक्षा शुरु भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी हुनुहुन्छ ।

बैठकमा अर्का पूर्वमहामन्त्री सिटौलाले संविधान घोषणापछिको सत्ता समीकरणमा नेतृत्वबाट गम्भीर त्रुटि भएको उल्लेख गर्नुभयो । पराजित हुने देख्दादेख्दै तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उठाउँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पद सबै कम्युनिष्ट पार्टीको हातमा गएको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खुशी बनाउने नाममा स्थानीय तहको निर्वाचनमा चितवनमा काँग्रेस उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी केन्द्रबाटै रद्द गर्दा काँग्रेसप्रति मनोवैज्ञानिक नकारात्मक असर परेको नेता सिटौलाले बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका नाममा काँग्रेसले अन्य दललाई सहयोग गरेको तर बदलामा आफ्ना उम्मेदवारलाई असहयोग भएको भन्दै उहाँले नेतृत्वले चुनावी रणनीतिको तालमेल गर्न नसकेको आरोप लगाउनुभयो ।

संघीयता, समाबेशी लोकतन्त्र, गणतन्त्रजस्ता एजेण्डालाई निर्वाचनका वेलामा व्यापक प्रचारप्रसार गर्न नसकेको, निर्वाचन व्यवस्थापन र टिकट वितरणको निर्णय प्रक्रियामा त्रुटि भएको उल्लेख गर्दै नेता सिटौलाले संसदीय बोर्ड, केन्द्रीय कार्यसम्पादन समिति विधानविपरीत गठन गर्दा नकारात्मक सन्देश गएको बताउनुभयो ।

पार्टीको घोषित सिद्धान्त र व्यवहारमा ठूलो अन्तर देखिएको उहाँको आरोप थियो । पार्टी प्रदेश र केन्द्रमा प्रतिपक्ष रहेकाले सशक्त प्रतिपक्षीका लागि नयाँ ढंगले नीति, संस्कार, व्यवहार, निर्णय प्रक्रिया र सिद्धान्तमा आमूल परिवर्तनको आवश्यकता रहेको उहाँले टिप्पणी गर्नुभयो ।

पार्टीको १४औँ महाधिवेशन छिट्टै गर्नुपर्ने नभए तत्काल महासमिति बैठक बोलाउनुपर्ने उहाँको विचार थियो । पार्टी पदाधिकारी मिलेर पार्टी कब्जा गर्न सकिएला तर वामपन्थीको कब्जाबाट मुलुकलाई भने छुटकारा दिलाउन नसकिने उहाँको धारणा थियो ।

बैठकमा पार्टीका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले नेकपा ९एमाले०ले नाकाबन्दीको विरुद्धमा आवाज उठाइ राष्ट्रवादका नाममा जनमत सिर्जना गर्नु, दुई ठूला कम्युनिष्ट दलबीच चुनावी गठबन्धन हुनु, पार्टीभित्रको अन्र्तघातलगायत कारणले निर्वाचनमा पार्टी पराजय भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले पार्टीमा सुधार र आगामी कार्यदिशा तय गर्न महासमिति बैठक बोलाइ आवश्यक छलफल गर्नुपर्ने माग गर्नुभयो । पार्टीलाई सशक्त बनाई अघि बढाउन पार्टीभित्र गुटको राजनीति अन्त्य हुनुपर्ने उहाँको धारणा थियो ।

आजको बैठकमा उहाँ तीन जनाले मात्र धारणा राख्नुभएको थियो । बैठक भोलि पुनः बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय