काठमाडौं विश्वविद्यालमा राष्ट्रिय उपकुलपतिहरूको सम्मेलन सम्पन्न
काठमाडौं । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा काठमाडौं विश्वविद्यालय (केयू)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलन आयोजना गर्यो ।
‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ विषयक सम्मेलनको उद्देश्य नेपालका सबै विश्वविद्यालयका लागि साझा मार्गचित्र निर्माण गर्ने भएको केयूले सो सम्मेलन आयोजना गरेकोह हो ।
सम्मेलनमा सहभागी उपकुलपतिहरूले नेपालका विश्वविद्यालयले भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरेका छन् ।
सम्मेलनमा उपकुलपतिहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।
काठमाडौं विश्वविद्यालयले सन् २०२४ को फेब्रुअरी १५ र १६ मा उत्तर भारतका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सम्मेलन आयोजना गर्ने बताएको छ । त्यसअघि उक्त सम्मेलनका लागि नेपालका विश्वविद्यालयको साझा आवाज निर्माण गर्ने प्रतिबद्धता उपकुलपतिहरूले जनाएका छन् ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मूल क्याम्पसमा आयोजित सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलगायत विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डिनलगायत १५० भन्दा बढी शीर्ष लिडरको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमान चुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको भूमिका रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सबै विश्वविद्यालयहरुले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षामा देखिएको परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्ने अठोट लिनुपर्ने बताए । उनले भने -‘हाम्रा विश्वविद्यालयहरुबीच Connectivity हुनुपर्दछ, जसबाट अध्ययन, अनुसन्धान र सिकाइलाई परस्परमा बाँड्न सकिनेछ । विश्वविद्यालयका विभिन्न तहमा कार्यरत नेतृत्वले गम्भीर भएर यसमा ध्यान पुर्याउन जरुरी छ । यसले नेपालको विश्वविद्यालय शिक्षालाई अन्तराष्ट्रियकरण गर्न मद्दत पुग्नेछ ।’
यस्तै, राज्यमन्त्री प्रमिला कुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपाय खोज्नुपर्ने बताएकी छन् ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तहमा शिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
उच्च शिक्षाका पेशाकर्मीमाझ पेसागत इमान्दारी र नैतिक जिम्मेवारी हुनुपर्ने काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युतप्रसाद वाग्लेको भनाइ छ ।
स्थानीय तह उपनिर्वाचनः रुकुमपश्चिममा माओवादीविरुद्ध कांग्रेस–एमाले–नेसपा गठबन्धन
रुकुम । जनप्रतिनिधि खाली भएको ठाउँमा उपनिर्वाचनको मिति तोकिएसँगै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा चुनावको माहोल तातिएको छ । वडाध्यक्ष अलबहादुर खत्रीको मृत्यु भएपछि सानीभेरी ५ मा पनि देशभर जनप्रतिनिधि रिक्त रहेका ठाउँमा जस्तै मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । उक्त वडामा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल समाजवादी पार्टी नेसपा सम्मिलित गठबन्धन र नेकपा माओवादी केन्द्रका बिचमा प्रतिस्पर्धा हुने भएको छ । २०७९ सालमा पनि यही प्रतिस्पर्धा भएको थियो । जसमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अलबहादुर खत्री २८ मतको झिनो अन्तरले विजयी हुनुभएको थियो । उपनिर्वाचनका लागि गठबन्धन र नेकपा माओवादी केन्द्र दुवैले उम्मेदवारको टुङ्गो लगाएका छन् । गठबन्धनले नेपाली काँग्रेसका मोतीराम खत्रीलाई उम्मेदवार बनाएको छ । उहाँ दिवङ्गत वडाध्यक्ष खत्रीका सहोदर भाइ हुनुहुन्छ । उहाँ शिक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको चुनाव लड्दै हुनुहुन्छ । ३६ वर्षीय मोतीरामले नेपाल राष्ट्रिय मावि घापाघारमा १५ वर्ष प्राविको अस्थायी दरबन्दीमा शिक्षण गर्नुभयो । उहाँको विरुद्धमा नेकपा माओवादी केन्द्रले पूर्व जनप्रतिनिधि जसिराम बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बस्नेत २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर एक कार्यकाल बिताइसक्नु भएको छ । पार्टीका सानीभेरी गाउँपालिका सदस्य ४५ वर्षीय बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र सानीभेरीका सचिव दीपक बाँठामगरले जानकारी दिनुभयो । दुवै पक्ष चुनावको तयारीमा जुटेका छन् । बैठक, छलफल, घरदैलो देखि अन्य प्रचारका काममा व्यस्त रहेको दुवै पक्षले बताएका छन् ।
अमेरिकामा राष्ट्रपतिको मतगणनाः अग्रता फराकिलो बनाउँदै ट्रम्प
न्यूयोर्क । दक्षिणी क्यारोलिनाका ९ इलेक्ट्रोल मतमा डोनाल्ड ट्रम्पले सफलता पाएका छन्। ४ इलेक्ट्रोल मत भएको रोज आइजल्यान्डमा कमला ह्यारिसले सफलता पाएकी छिन्। केनेटीकटको ७ इलेक्ट्रोल मत ह्यारिसको पक्षमा परेको छ। मासा चेउटको ११ इलेक्ट्रोल मत कमला ह्यारिसको पक्षमा परेको छ। ७ इलेक्ट्रोल मत रहेको ओकाहामामा ट्रम्पले सफलता पाए। ३० इलेक्ट्रोल मत रहेको फ्लोरिडामा रिपब्लिकको पक्षमा परेको छ। ११ इलेक्ट्रोल मत रहेको टिनएजमा ११ इलेक्ट्रोल मत रहेको ट्रम्पको पक्षमा रहेको छ। १४ इलेक्ट्रोल मत रहेको न्यूजर्सी कमला ह्यारिसको पक्षमा रहेको छ। ६ इलेम्क्ट्रोल मत रहेको अरान्कासमा रिपब्लिकले सफलता पाएको छ। हालसम्म भएको गणनामा आधारमा ट्रम्पको पक्षमा १६२ तथा ह्यारिसको पक्षमा ८१ इलेक्ट्रोल मत देखिएको छ।
उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता होः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार तथा सम्बन्धित पार्टी कमिटीका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘हामीले सरकारको नेतृत्व गर्दा जसरी सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरेका छौं, यो क्षणिक कार्यक्रम मात्र नभएर आगामी दिनमा अघि बढ्ने हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोणमा आधारित कार्यक्रम हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले आसन्न उपनिर्वाचनको मुख्य एजेण्डा पनि सुशासन नै हो, उपनिर्वाचन यही अभियानको निरन्तरताको रुपमा अघि बढ्ने छ ।’ माओवादी केन्द्र नेतृत्वको सरकारले भ्रष्टाचारीमाथि थालेको कारवाहीका कारण जनताको बीचमा महत्वपूर्ण सन्देश गएको र अहिलेको सरकारले गरिरहेको गतिबिधिले त्यसलाई थप पुष्टि गरेकाले आसन्न उपनिर्वाचन निश्चित ठाउँमा मात्रै हुने भए पनि जनताले भ्रष्टाचारी या भ्रष्टाचारविरोधी कसलाई छनौट गर्ने भन्ने परीक्षणको समय पनि हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई अघि सारेको छ । त्यस्तै माओवादी केन्द्रले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा ईञ्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ । कीर्तिपुर नगर समितिले तिनै जना उम्मेदवार सर्वसम्मतरुपमा चयन गरेको जानकारी गराएपछि खुशी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सर्वसम्मत उम्मेदवार छनौटले जीतको राम्रो सुरुवात गरिसकेको बताउनुभयो । उहाँले विगतका अनुभव हेर्दा चुनावमा हार्नुमा आन्तरिक एकता नहुनु समस्याको रुपमा रहेको उल्लेख गर्दै उहाँले यसपटक आन्तरिकरुपमा पार्टी एक भएर उम्मेदवार छनौट गर्नु, सबै नेता कार्यकर्ता चुनावमा खटिन तयार हुनु र राष्ट्रियरुपमा पार्टीको पक्षमा माहोल बन्दै गएकाले यसपटक कीर्तिपुरसहित धेरै नयाँ ठाउँमा उपचुनाव जितिने आधार बनेको बताउनुभयो । सो क्रममा नगर प्रमुखका उम्मेदवार महर्जनले जित्ने विश्वासका साथ अघि सरेको उल्लेख गर्दै आफू निवृत्त प्राध्यापक भएकाले जितेमा सबै तलब भत्ता सामाजिक काममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटमा माओवादी केन्द्रका नेताहरु अग्नि सापकोटा, सूर्य सुवेदी ‘पथिक’, कृष्णध्वज खड्का, सरल सहयात्री, दिलिप महर्जनलगायतले उम्मेदवार छनौट र चुनावी तयारीबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो । यसअघि दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार निमलेखी शेर्पा(डोल्मा)लाई पनि अध्यक्ष प्रचण्डले आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिनुभएको थियो । सो क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिशाल खड्कालगायतले गौरीशंकर गाउँपालिकामा भएको चुनावी तयारीबारे जानकारी गराउनुभएको थियो ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन : मतदान आज, स्वीङ्ग राज्यहरु निर्णायक
वासिङ्टन डिसी । विश्वले प्रतिक्षा गरेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदै छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा उत्रेका छन् । मतदानको समय नजिकिँदै गर्दा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् । यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहेका छन् । स्वीङ्ग राज्यहरु निर्णायक अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग ९मतदाताले अन्तिम समयमा निर्णय गर्ने० राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए । पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ । कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । नेपालीहरुको मत निर्णायक हुन सक्छ ? व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ । नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए। भण्डारीले भने, “हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।” “राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ”, भण्डारीले भने । पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनले धारणा राखे । स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भने, “राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।” पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले थपे, “हामीहरुले मतदातालाई सचेत बनाउन अभियान सञ्चालन गर्दे आएका छौँ, यसैले यसपटकको मतदानमा धेरैभन्दा धेरैले मतदान प्रक्रियामा भाग लिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।” पेन्सलभेनियामा नै बस्दै आएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे । यसैगरी प्रकाश ढुङ्गानाले भने, “एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।” नेपालीहरु पनि दुवै पक्षधर आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् । ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ । चुनावी र्यालीको अन्तिम अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना भएको र्यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेकी छिन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिने भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् । रासस