कार्यालयमा कर्मचारी अभाव, सेवा प्रवाहमा कठिनार्इ

कार्यालयमा कर्मचारी अभाव, सेवा प्रवाहमा कठिनार्इ

म्याग्दी, चैत ७ । म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव छन् । म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी विवरण सङ्कलन गरेको थियो ।

निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीकाअनुसार रिक्त दरबन्दीमा खरिदार १००, कार्यालय सहयोगी ७८ र नायब सुब्बा ६२ छन् । १३ शाखा अधिकृत र १० उपसचिवस्तरको पदपूर्तिसमेत हुुन सकेको छैन् । जिल्लाभर उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, मुखिया र कार्यालय सहयोगी पदमा क्रमश २७, ५४, २१३, २८३, १ र २३१ दरबन्दी रहेका छन् ।

हाल उपसचिवको १७, शाखा अधिकृतको ४१, नायब सुब्बाको एक सय ५१, खरिदारको एक सय ८३, मुखिया एक सय र कार्यालय सहयोगीको एक सय ५३ पद मात्रै पूर्ति भएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, वन, कृषि विकास, पशुसेवा, सिँचाइ, मालपोत लगायतका कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेका छन् । प्राविधिक र लेखा सम्बन्धी पदमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखले बताएका छन् ।

कर्मचारीले म्याग्दी आउन नचाहने र यहाँ दरबन्दी भएका कर्मचारी अन्यत्र काजमा रहने समस्या देखिएको छ । बेनीमा संस्थान बाहेक ३० वटा सरकारी कार्यालय रहेका छन् ।

कर्मचारी अभाव हुँदा पूर्वाधार योजनाको बजेट कार्यान्वयन र अनुगमन प्रभावित भएको सिँचाइ विकास सव डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताउनुभयो । विभिन्न तहका ११ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल पाँच जनामात्र कार्यरत छन् ।

त्यस्तै २१ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा दश जना, ४५ जनाको दरबन्दी भएको पशु सेवामा २८, ४२ जनाको दरबन्दी भएको कृषि विकासमा २५ र ६१ जनाको दरबन्दी भएको वन कार्यालयमा ४८ जना कर्मचारीमात्र कार्यरत छन् ।

म्याग्दीलाई दुर्गम क्षेत्रको रुपमा बुझ्ने परिपाटीले गर्दा जिल्लास्थित कार्यालयमा कर्मचारी अभाव भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष डिल्लीराम रेग्मीले बताउनुभयो ।

“अन्यत्र भन्दा यहाँ काम गर्ने वातावरण छ तर कर्मचारीमा दुर्गम भएको भ्रम पर्दा म्याग्दीलाई रोज्दैनन्” रेग्मीले भन्नुभयो “यहाँ सरुवा भएर आउन नमान्ने र आएपछि अन्यत्रै काजमा बस्ने अर्को समस्या हो ।”

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले दरबन्दी अनुसार कर्मचारीको पदपूर्तिका लागि सम्बन्धीत कार्यालयमार्फत माथिल्लो निकाय र लोकसेवा आयोगमा पहल गर्ने बताउनुभयो ।

नजिकिँदो निर्वाचनलाई लक्षित गरेर काज र बिदामा बसेका कर्मचारीलाई सम्बन्धित दरबन्दी भएकै कार्यालयमै फर्काउन पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।

बैतडीमा भूकम्पको धक्का

काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र  (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML)  ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।   

साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स

काठमाडौं । साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो । उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् । छाला रोग विशेषज्ञ डा. सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको हो ।’ ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अबरकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए । उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो । गत पुस ५ मा साउदी अरबबाटै फर्केका तनहुँका ३६ वर्षीय पुरुषलाई पनि मंकीपक्स पुष्टि भएको थियो । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकको घाउ लगभग सुकिसकेको बताए । ‘नयाँ घाउ पनि देखापरेको छैन,’ उनले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’ चिकित्सकका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, शरीरबाट निस्किएको थुक, र्‍याल, घाउ, खटिरा, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । तर, सिन्धुलीका युवामा संक्रमण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित निकायले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमित व्यक्तिको परिवारलाई मंकीपक्सबारे जानकारी रहेको र सतर्कता अपनाउन भनिसकेको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी पठाउने तयारी छ,’ उनले भने, ‘साउदी अरबमा मंकीपक्स संक्रमित अन्य नेपालीको अवस्थाबारे जानकारी दिन त्यहाँको सरकारी संयन्त्रलाई आग्रह गरेका छौं ।’ साउदी अरब नेपालीको रोजगारीको प्रमुख गन्तव्यमध्येमा पर्छ । त्यहाँ मात्र ४ लाख नेपाली श्रमिक कार्यरत छन् । निर्देशक घिमिरेका अनुसार साउदी अरबको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय इन्टरनेसनल हेल्थ रिप्रेजेन्टेटिभ (आईएचआर) सँग त्यहाँ कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिने प्रयास जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । गत जनवरी यतामात्र उक्त भाइरसका कारण विश्वभरि पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मंकीपक्स संक्रमण बढिरहेको भन्दै सबै मुलुकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सन् २०२२–०२३ मा पनि मंकीपक्स विश्वव्यापी प्रकोपका रूपमा फैलिएको थियो । मंकीपक्स बिफर रोग लाग्ने प्रजातिको भाइरसबाट संक्रमण हुने गर्छ । एमपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि पनि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । छाला रोग विशेषज्ञहरूका अनुसार यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने गर्छ । टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । स्वास्थ्य मन्त्रालयले छिमेकी देशमा मंकीपक्स भाइरसको संक्रमण बढिरहेकाले नेपालीलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ । हवाई तथा सीमा नाकाका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सातवटै प्रदेशमा मंकीपक्स रोकथाम तथा व्यवस्थापनका लागि अस्पताल र फोकल पर्सन तोकेका छौं,’ उनले भने, ‘कसैलाई शंकास्पद देखिए परीक्षण गर्न आग्रह गर्छु ।’ कान्तिपुर दैनिकबाट

अध्यक्ष प्रचण्डलाई झापामा कोच संस्कृतिको भोजन

झापा । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न यहाँ आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केराको पातमा खाना खानुभएको छ । गौरिगञ्ज–१ मा तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार खाना खानुभएको हो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो । आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताउनुभयो । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो’– तिलक राजवंशीले भन्नुभयो– ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’  प्रचण्डको टोलीमा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य एवं स्वकीय सचिव गंगा दाहाल, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, जीवन आचार्य, झलकसिंह दर्लामीलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

पहाडका केही भू-भागमा वर्षा र हिमपात, तराईमा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका विभिन्न भू-भाग सामान्यतया मौसम सफा रहनेछ । आज राति कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हिउँ पर्नेछ भने पहाड र तराईमा  सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टामा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ मिनेटमा हुनेछ ।

लोकप्रिय