कृषि र पर्यटनमा सहयोग गर्न चीन इच्छुक

कृषि र पर्यटनमा सहयोग गर्न चीन इच्छुक

चितवन, कात्तिक १४ । नेपालका लागि चीनका राजदूत यु हङले चितवनको कृषि, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएको छ ।

जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदूत यु हङले पर्यटकीय नगरी चितवनको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न इच्छा व्यक्त गर्दै चितवनमा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले कृषि क्षेत्रको विकासका लागि आवश्यक प्राविधिक सहयोग गरिने आश्वासन समेत दिए ।

उनले चीन सरकारको सहयोगमा बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र आधुनिकीकरणका लागि पनि सहयोग गरिने बताए । राजदूत युले चीनमा हुन लागेको चिनियाँ मेलामा सहभागी हुन जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध गरे ।

कार्यक्रममा जिससका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले चितवनको विकास निर्माण र आवश्यक सहयोग गर्नुपर्ने क्षेत्रका बारेमा जानकारी दिएको थियो ।

गैँडा लैजानुअघि ‘बुमा’ मा राखेर निगरानी

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिँगे गैंँडा लैजाने विषयमा चिनियाँ अधिकारीसँग छलफल भएको छ । तीन दिनअघि नेपाल आएको वन्यजन्तु विज्ञसहितको आठ जनाको चिनियाँ टोलीले निकुञ्ज घुमेर वस्तुस्थितिबारे जानकारी लिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए ।

“बीचमा कुनै बाधा उत्पन्न नभए तीन महिनाभित्र पुस माघसम्ममा गैँंडा लैजाने एक किसिमको सहमति भयो” खड्काले भने, “चुनाव, बाघगणना यही समयमा परेकाले १५–२० दिन तलमाथि होला ।”

चितवनबाट लगिने चार वर्षभन्दा तलका उमेरका दुई जोडी गैंँडालाई चीनको चिमे लङ सफारी पार्क र सांघाई वाइल्ड अनिमल पार्कमा राखिने छ । अर्ना जसरी गैँंडा पनि म¥यो भने समस्या आउने भएकाले पहिलो चरणमा निकुञ्जको सौराहा क्षेत्रमा बुमा (एक प्रकारको खोर) मा राखिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

त्यसका लागि बुमा बनाउने प्रक्रिया थालिएको छ । सौराहा नजिकै जंगलमा ३० मि लम्बाइ र २० मि चौडाइको बुमा बनाइने छ । बुमाको चारैतर्फ तल्लो भागमा कँक्रिट पर्खाल लगाइने र माथिल्लो भागमा मेस जाली लगाइने कँडेलले जानकारी दिए ।

अरु बेलामा पनि वन्यजन्तुको उद्धारमा प्रयोग गर्न मिल्ने खालको बुमा बनाइने छ । दुई बुमामा दुई जोडी गैंँडा राखेर करिब एक महिना निगरानी गरिने र चिकित्सक टोलीले लैजान हुन्छ भनेर प्रमाणित गरेपछि पठाइने निकुञ्जले जनाएको छ । बानी पार्नका लागि करिब एक महिना बुमामा गैँडा राखिने निकुञ्जले जनाएको छ ।

त्यसपछि चिनियाँ र नेपाली पशु चिकित्सकको टोलीले निगरानी गर्नेछन् । लागेको सबै खर्च भने चीनले बेहोर्ने जनाइएको छ । आठ जनाको चिनियाँ टोलीमा साइटिष्टका प्रतिनिधिमा-एग्ओ सिपाओ, सांघाई वाइल्ड एनिमल पार्कका शु चुंङ जङ, चिमे लङ सफारी पार्कका डासिजी सिन्जवासहित रहेका छन् । चीनबाट आएको नेपाल सरकारले चीनलाई दुई जोडी गँैंडा पठाउने निर्णय अघिल्लो वर्ष नै गरिसकेको छ ।

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

बाग्लुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइरहेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रुपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको बताए । ‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई–चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’ तामाङले एउटै बगैँचालाई तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी बताए । खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीले बताइन् । धादिङ, काठमाडौं, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको एक लाखदेखि पाँच लाख रुपैयाँसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले बताए ।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

बाग्लुङ । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन्। हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन्। सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए। जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्। यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन्। तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन्। काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताए। सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन्। दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताए। ‘विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामीसँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पु¥याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पुर्‍याउन पनि गाह्रो। त्यसैले सहकारीमार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ’, उनले भने, ‘अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ। त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ।’ चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ। सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट रु सात करोेड ४८ लाख १७ हजारको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताए। यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उनले बताए। त्यस्तै निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ। ‘किसानहरूले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो। दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन्। हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ’, उनले भने, ‘किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट सङ्कलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।’ वि.सं. २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्। दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिए। सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको उनले बताए। ‘यो एक अभियान पनि हो। यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ। केहीले गाउँमै रोजगारी पाएका छन्। गत आर्थिक वर्षमा सङ्घले रु ८० लाख ६१ हजार खुद बचत गर्न सफल भएको थियो। सो रकमबाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ’, सचिव सापकोटाले भने।

स्थानीय तहको तदारुकतामा आँबुखैरेनीका महिला फूल उत्पादनमा सक्रिय

तनहुँ । स्थानीय सरकारले प्रोत्साहन गर्न थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा सक्रिय भएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । नेकपा माओवादी केन्द्रका युवा नेता शुक्र चुमानले नेतृत्व गरेको यो गाउँपालिका नेपालमै नमुना काम गर्दै अघि बढेको छ। पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालेको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । यहाँका महिलाले गत वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेकोमा राम्रो प्रतिक्रिया पाएपछि यसपटक दोब्बर क्षेत्रफलमा विस्तार गरेका छन् । विभिन्न समयमा उत्पादन दिनेगरी खेती गरिएको र यसपटक दशैँको शुभारम्भदेखि नै उत्पादन दिन थालेको छ । तिहार, एकादशी मेला र मङ्सिरमा हुने विवाहलाई मध्यनजर गरी फूल उत्पादनमा जोड दिइएको कृषि शाखा प्रमुख केसीले बताए । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती गरिएको र यसले महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको उनको भनाइ छ । लघुउद्यम महिला सङ्घका अध्यक्ष सुन्तली गुरुङले घरायसी काममा मात्रै सीमित महिलाहरू यतिबेला आत्मनिर्भर बन्ने प्रयासमा रहेको बताइन् । उनका अनुसार सङ्घमा आबद्ध ७० महिलाले सयपत्रीको खेती गरिरहेका छन् । गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरूप गत वर्षदेखि फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानको कार्यक्रम अगाडि बढाएको उनको भनाइ छ । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको छ ।

भरतपुरमा १ करोड अनुदानको कृषि उपकरण वितरण

चितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ ।  एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गरेका हुन् । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए । उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी यस्ता यन्त्र उपकरण हस्तान्तरण गर्ने गरेको बताइन् । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आएपनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालको भनाई छ । यन्त्र उपकरणको उच्चतम प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उनले बताइन् ।  नारायणी लिफ्ट सिँचाइलाई १२ महिना सञ्चालन गरी कृषिलाई ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिइन् ।  महानगरले सो कार्यक्रममा ट्रयाक्टर ४ थान, हाते ट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तेरी मिल ३ थान हस्तान्तरण गरेको छ ।  यस्तै मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्याफ कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिशेन १ थान, बलेरो पिकअप २ थान र ३ पाङ्ग्रे अटो २ थान पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उप–सचिव उपेन्द्रराज पौडेलको उपस्थिति रहेको थियो ।

लोकप्रिय