गाउँशहरमा आजभोलि गर्भपतन गर्नेको संख्यामा वृद्धि

गाउँशहरमा आजभोलि गर्भपतन गर्नेको संख्यामा वृद्धि

पाल्पा, पुस २३ । गाउँ शहरमा असुरक्षित गर्भपतनको दर अत्याधिक बढेको यहाँ आयोजित अन्तरक्रियाका सहभागीले बताएका छन् ।

उनीहरुले असुरक्षित गर्भपतन सेवा लिने महिला तथा किशोरीहरुको ज्यान जोखिममा पर्दै गएको समेत बताए । अब हरेक क्षेत्रमा सूचना प्रवाह गर्न पत्रकारहरुले सहयोग गर्नुपर्ने आग्रह स्वास्थ्य कार्यालयले गरेको छ ।

स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा सुरक्षित गर्भपतनको विषयमा पत्रकारहरुसंग अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

अघिल्लो वर्षभरि भएका गर्भपतनमध्ये ५९ प्रतिशत असुरक्षित गर्भपतन रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । सरकारी संस्थाहरुमा निःशुल्क रुपमा गर्भपतन सेवा उपलब्ध रहेको जानकारी फैलाउन आफुहरुले नसकेको आयोजक संस्थाले स्वीकारेका छन् ।

सरकारी संस्थाहरुमा गतवर्ष ९ सय १७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका थिए। नेपाल परिवार नियोजन संघमा मात्रै ११ महिनाको अवधिमा ६ सय ६८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

त्यती नै संख्यामा असुरक्षित गर्भपतन भएको अनुमान स्वास्थ्य कार्यालयको छ । अब जनचेतनाको आवश्यकता बढ्दै गएको कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपाने गर्भपतन सेवा महिलाको हक र अधिकारसंग जोडिएको बताए । उनले सरकारले पछिल्लो समयमा २८ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको बताए ।

नौ हप्ता सम्मको गर्भपतन औषधीबाट गर्न सकिन्छ । नौ हप्तादेखि १२ हप्तासम्मको औजारबाट गर्ने गरिन्छ । यस्तै विभिन्न समस्या देखिएमा १२ देखि २८ हप्तासम्मको गर्भ चिकित्सकको परामर्शबाट गर्भपतन गर्न सकिने प्रावधान रहेको छ ।

१६ वटा सरकारी संस्था, नेपाल परिवार नियोजन संघ र लुम्बिनी मेडिकल कलेजबाट औषधी तथा औजारबाट गर्भपतन सेवा तथा परामर्श दिदै आएको स्वास्थ्य कार्यालयकी पव्लिक हेल्थ नर्स अधिकृत कल्पना पौडेलले बताइन् ।

गर्भपतन सेवालाई सुरक्षित बनाउन, महिलाको मृत्युदर घटाउन, गर्भपतन सेवा महिलाको अधिकार भन्ने कानुनी मान्यतालाई स्थापित गर्न विभिन्न दातृ निकायले पनि सहयोग गर्दै आएका छन् ।

जिल्लामा पनि आइपास नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले वि।सं। २०७३ सालदेखि सहयोग गर्दै आएको छ ।

जिल्लाको सरकारी स्वास्थ्य संस्थाहरुका कार्यरत कर्मचारीहरुलाई तालिम तथा औजारमा सहयोग गर्दै आएको त्यसकी जिल्ला संयोजक राधिका नायजुले बताइन् ।

नेपालमा वार्षिक रुपमा ३ लाख ३२ हजार गर्भपतन हुँदै आएकोमा १ लाख ८६ हजार १ सय ४४ जनाले अझपनि असुरक्षित गर्भपतन गर्दै आएका छन ।

कार्यक्रममा आइपास नेपालकी कोडिनेटर थमकुमारी कुवँरले गर्भपतनको कानुनी अवस्था, सुरक्षित गर्भपतनको बारेमा जानकारी गराइन् ।

गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिएपछि भ्रणको हत्या गर्ने क्रम बढेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

विभिन्न अस्पताल तथा नीजि क्लिनिकहरूमा गर्भवती महिलाले नचाहेको गर्भको हत्या गरेको पाइएको उनले बताए । एउटै महिलाले दुई वर्षको अवधिमा तीन पटकसम्म गर्भपतन गराएको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका १६ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा दिने गरेको छ । त्यसपछि गर्भपतन गराउनेको संख्या बढ्दै गएको उनले बताए । जिल्लामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा शुरु भएको हो ।

आव २०७४÷७५ मा ९ सय १७ जना महिलाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन सेवा लिएका थिए । जबकी आव २०७३÷७४ मा ७ सय ४४ जनाले गर्भपतन गराएका छन् । पछिल्लो समय गर्भ निरोधकका अस्थायी साधन र स्थायी साधन प्रयोग गर्नुभन्दा पनि गर्भपतन गर्ने क्रम बढ्दो छ ।

जिल्ला सरकारी अस्पतालमा२ सय ९० र रामपुर अस्पतालमा १ सय ६५ जनाले अघिल्लो आर्थिक वर्षमा गर्भपतन गराएका छन् ।

जिल्लाकै ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा ६४, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अर्गलीमा २५, मदनपोखरामा ५०, झडेवामा ५९, छहरामा ७७, गाडाँकोमाट ३४, पालुङमैनादीमा ३९, बिरकोटमा दुई, रिङ्नेरहमा ३०, चापपानीमा नौ, नायरनमतलेसमा २३, पिपलडाँडामा सात, हुँगी स्वास्थ्य चौकीमा ४२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

छहरा स्वास्थ्य चौकीकी अनमी तुलसी ज्ञवालीले सुरक्षित गर्भपतन गराउन आउनेको सबै विवरण गोप्य राखिने बताइन् । उनले अहिलेसम्म सेवा लिन आउनेहरुले लामो तथा छोटो अवधिको अस्थायी साधन प्रयोग गर्नलाई प्रोत्साहन गर्ने गरेकोसमेत बताइन् ।

‘सबैले निकै सोधी खोजी गर्न खोज्छन्,’ उनले भनिन्, ‘हामीले हाम्रो गोप्यतामा कहिल्यै कमी हुने दिने छैनौ ।’

क्याम्पस पढ्ने र शिक्षित परिवारमा सुरक्षित गर्भपन गर्नेको संख्या बढिरहेकोस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी गराउने, लामो समयसम्म परिवार नियोजनको साधनलाई अपनाउन जोड दिनुपर्ने उनले बताए । जिल्लामा सञ्चालित लुम्बिनी मेडिकल कलेज प्रभास र नेपाल परिवार नियोजन संघबाट पनि १ हजार शुल्क लिएर सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको छ ।

जिल्लामा २० वर्षदेखि ४० वर्षसम्मका महिलाले बढी गर्भपतन गराउने गरेका छन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा लिंग पहिचान नगरी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सकिन्छ । जनताटुडेबाट

यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ ।  यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन  (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

लोकप्रिय