गोरखा पुनःनिर्माण बल्ल सुरु

गोरखा पुनःनिर्माण बल्ल सुरु

गोरखा, पुस ६ । गोरखाका बारपाकसहित अन्य गाउँमा गत वैशाख १२ गते भूकम्प गएको २० महिनापछि पुनःनिर्माणले गति लिएको छ ।

रु.५० हजारका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् । बर्खाका बेला अवरुद्ध बनेका ग्रामीण सडक हिउँद लागेसँगै सञ्चालन हुँदा पुनःनिर्माणको सामग्री ढुवानीमा सहज भएको छ ।

अधिकांश भूकम्प पीडितले ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्टको प्रयोग गरी पिल्लर राखेर घर बनाएका छन् ।

भूकम्पले पिल्लर भएका घरमा कम क्षति पुर्याएको देखेका भूकम्प पीडितले ढुङ्गा, माटो, काठको जोडाइले बन्ने घरभन्दा पिल्लर सहितको पक्की घर निर्माण गरिरहेको बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईंले जानकारी दिए ।

बारपाकको ४ देखि ९ वडाका भूकम्प पीडितले धमाधम घर निर्माण रुपमा अघि बढाएका छन् । वडा नं.५ का ४० घरधुरीका भूकम्प पीडित भूकम्प गएदेखि नै विस्थापित भई वडा नं ४ को सार्वजानिक जग्गामा बसेपनि उनीहरुलाई राख्ने जग्गा खोजी गर्न नसकिएको अम्गाईंको भनाइ छ ।

भूकम्पले छियाछिया भएको बस्तीमा घर बनाएर ढुक्कसँग बस्न सक्ने अवस्था नरहेको विस्थापित भूकम्प पीडित उत्तम बिकले बताए । वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे–५ को दलित बस्तीमा घडेरी अभाव हुँदा त्यहाँका भूकम्प पीडितले घर बनाउने जग राख्न पाएका छैनन् ।

‘सरकारले घर बनाउन पैसा दिनुपूर्व हामीलाई सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने हो तर गरेन’, उनले भने, ‘बस्न अयोग्य भनेकै ठाउँमा घर बनाउँदा फेरि अर्को प्रकोपको पीडा खेप्नुपर्ने भयो ।’

बारपाकमा अहिले करिब एक सय ७० वटा घर निर्माणका क्रममा छन् । यी घर पहिलो किस्ता रकम लिएपछि निर्माण सुरु भएका हुन् । भूकम्पले घर भत्के पनि ७८ जनाले रकम पाएनन् । एक हजार दुई सय ९४ जनाले पहिलो किस्ता रकम बुझेको सचिव अम्गाईंको भनाइ छ । ‘अनुदान पाउने सूचीमा नाम निस्केका २० जना बारपाकीलाई अनुदान रकम दिन बाँकी छ’, अम्गाईंले भने– ‘विदेशमा रहेका अनुदान लिन आएनन् ।’

२७ जना बेलायती भूतपूर्व सैनिकका परिवारलाई ब्रिटिस वेयलफेयरले घर बनाइदिएको उनको भनाइ छ । बारपाक–४ का जितबहादुर घलेका अनुसार भूकम्प पीडितले धमाधम घर बनार्इ रहेपनि निर्माण सामग्री ढुवानी गर्दा ज्यादै महँगो परेको छ ।

लाप्राकका समाजसेवी मारर्सिङ गुरुङले भने– ‘लाप्राकमा भूकम्प त बल्ल आएजस्तो पो भएको छ । गुप्सीबाट कुम्लोकाम्लो बोकेर गाउँले अहिले यत्रतत्र डाँडामा बस्न आए ।’

लाप्राकमा ६ सय १४ घरधुरी भूकम्पपीडित छन् । भूकम्प गएको दिनदेखि स्थानीयवासी भुमे सामुदायिक वनको जग्गामा बस्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले गुप्सीको जग्गा घडेरीका रुपमा भोग चलन गर्न पाउने गरी लाप्राकीलाई दिने निर्णय गरिसकेको छ ।

घडेरी खार्ने काम सुरु भएपछि अब छिट्टै घर, विद्यालय, स्वास्थ्यचौकी, गाविस भवन, खेलकुद मैदानलगायत संरचना निर्माण हुने भन्दै लाप्राकी खुसी छन् । श्रीनाथकोट–३ डाँडागाउँमा ८१ ओटा भूकम्प प्रतिरोधी घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकिएको छ ।

कोरियाको कम्युनिटी चेष्ट अफ कोरिया र बेटर वल्डको आर्थिक सहयोगमा अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति र दलित समुदायका भूकम्प पीडितलाई रु चार लाखका दरले लगानी गरी घर निर्माण गरिदिएको अनुग्रहका अध्यक्ष साधुराम नेपालीले बताए ।

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीका अनुसार भूकम्पले भत्काएका चार सय ९४ ओटा विद्यालयमध्ये अहिलेसम्म चार मावि, चार निमावि सहित २९ ओटा विद्यालय पुनः निर्माण भएको छ ।

विद्यालय पुनः निर्माण गर्ने सम्झौता गरेका भारतीय दूतावास, चिनियाँ दूतावास, हिमानी ट्रस, जाइका, असल छिमेकी नेपाल, पोखरालगायत संघसंस्थाले समयमै विद्यालय भवन निर्माण सुरु नगर्दा विद्यार्थीलाई टहरोमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ ।

‘विद्यालय बनाउन सम्झौता गर्ने तर भवनको शिलान्यास पनि नगर्ने संघसंस्थालाई छिटो काम सुरु गर्न भनेका उहाँले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीका अनुसार भूकम्पले क्षति पुगेका ५२ स्वास्थ्य संस्थामध्ये श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ स्वास्थ्यचौकी भवन मात्रै पुनः निर्माण सकिएको छ ।

यस्तै युनिसेफ, आइएमसीलगायत सङ्घसंस्थाले स्वास्थ्यचौकी भवन बनाउने सम्झौता गरे पनि अहिलेसम्म निर्माण गरेका छैनन् । ‘स्वास्थ्यचौकी भवन निर्माण सुरु नगरेका संघसंस्थालाई पत्र काटेर छिटो भवन बनाउन निर्देशन दिएको छु’, पराजुलीले भने ।

जिल्ला विकास समितिका योजना अधिकृत शतिशकुमार भट्टराईका अनुसार गोरखाका ५८ हजार पाँच सय २४ पीडितमध्ये ५२ हजार पीडितका खातामा पहिलो किस्ताको अनुदान रकम पठाइसकेको छ ।

पहिलो किस्ता बराबरको निर्माण कार्य भएपछि दोस्रो किस्ता वितरण गर्ने भन्दै उहाँले घर निर्माणका क्रम बढेको बताए ।

पूर्वमन्त्री शर्मालाई पितृशोक

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उहाँको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उहाँको अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिनुभयो । शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ। शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

रुकुमपश्चिममा एक मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एक पुरुष मृत फेला परेका छन् । वडाको बलचौरका अन्दाजी ६५ वर्षीय भूपाल ओलीको शव वडाकै काउलेखोला छिनडाँडीमा फेला परेको वडाध्यक्ष शशीराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै खुट्टा पुरिएको र निर्वस्त्र अवस्थामा खोला किनारमा शव फेला परेको हो । उनका आफन्त कोही नभएको र हिजो परेको वर्षातपछि आएको भेलले बगाएको अनुमान गरिएको छ। बुढाको शव मङ्गलवार बिहान स्थानीयले फेला पारेका हुन । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ओली सोमबार बेलुकी घरबाट निस्किएको बताइएको छ । सोमबार ठुलो पानी परेको र खोलामा आएको बाढीले ओलीलाई बगाएको आशङ्का गरिएको छ । तर घटनाको बारेमा थप विवरण भने आइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

बालेन समर्थकलाई धमाधम पक्राउ गर्दै प्रहरी

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।  

लोकप्रिय